Logo
|
Thursday 28th March 2024
Logo

epaper

सात वर्षमा ६ सयको मिर्गौला प्रत्यारोपण



 

भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सात वर्षमा ६ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेको छ । ०६९ मा स्थापना भएको केन्द्रले अहिलेसम्म ९९ प्रतिशत सफलतासहित ६ सय १६ जनाको मिर्गौला प्रत्यारोपण गरेको हो । केन्द्रले नेपालमै पहिलोपटक ४ जनाको कलेजो प्रत्यारोपणसँगै ६ जना मस्तिष्क मृत्यु भएकाबाट आएको मिर्गौलासमेत प्रत्यारोपण गरेको प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।

केन्द्रले पछिल्ला चार सय मिर्गौला प्रत्यारोपणमा शतप्रतिशत सफलता हासिल भएको जनाएको छ । केन्द्रबाट दैनिक सयको हाराहारीमा डायलायसिस सेवा लिने गरेका छन् । चालू आर्थिक वर्षमा मात्रै एक सय ४९ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको पोखरेलले बताए । केन्द्रले ११ वैशाख ०६९ बाट सेवा सुरु गरेको थियो । पोखरेलका अनुसार केन्द्रले सेवा सुरु गरेको वर्ष १३ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो । दोस्रो वर्ष २७, तेस्रो वर्ष ४१, चौथो वर्ष एक सय एक, पाँचौँ वर्ष एक सय ३२, छैठौँ वर्ष एक सय ५३ र सातौँ वर्षको वैशाखसम्म एक सय ४९ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

सात वर्षको अवधिमा केन्द्रबाट एक लाख ४० हजार नौ सय ७५ ले डायलायसिस सेवा लिएका छन् । एक लाख १२ हजार नौ सय ५० जनाले निःशुल्क डायलायसिस सेवा लिएका छन् । चालू आर्थिक वर्षको वैशाखसम्म केन्द्रको बहिरङ सेवाबाट २४ हजार नौ सय २८ जना लाभान्वितभएका छन् । केन्द्रले एक सय ९१ जनाको मुख्य शल्यक्रिया र ६ सय १७ जनाको सामान्य शल्यक्रिया गरेको पोखरेलले बताए । यो वर्ष एकजनाको मात्रै मुटु प्रत्यारोपण भएको छ । केन्द्रबाट ९६ हजार एक सय ७० ले ल्याब, आठ सय ८४  ले इको, एक हजार चार सय ३८ ले इसिजी, ६३ ले सिटिस्क्यान, दुई हजार तीन सय ८२ ले एक्स–रे र चार सय ९१ ले फिजियो सेवा लिएका छन् ।

केन्द्रमा मिर्गौला प्रत्यारोपण र डायलायसिसका लागि बिरामीको चाप रहेको छ । मिर्गौला प्रत्यारोपण र डायलायसिसका लागि महिनौँसम्म पालो पर्खिनुपर्ने अवस्था रहेको पोखरेलले बताए । उनले भने, ‘मासिक करिब १५ देखि २० जनाको मिर्गौला प्रत्यारोपण हुन्छ, अरू ४०–५० जना त सधैँ पालो पर्खिरहेका हुन्छन् ।’ चिकित्सकले पालो निर्धारण गरी मिति निर्धारण गरेर शल्यक्रिया गर्ने गरेका छन् ।

केन्द्रले हाल मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवासँगैँ युरोलोजी, पेट तथा कलेजो रोगसम्बन्धी सेवा र मुटु तथा फोक्सो रोगका बिरामीहरूको उपचार गर्दै आएको छ । नेफ्रोलोजी सेवा, स्त्रीरोग, प्याथोलोजी, रेडियोलोजी, मनोचिकित्सा, दन्तरोग, अंगदान, नाक, कान र घाँटीसम्बन्धी परामर्श र २४ सैँ घन्टा फार्मेसी सेवा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्