Logo
|
Thursday 18th April 2024
Logo

epaper

नाम मात्रैको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’



प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले सुरु गरेको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्योलमा परेको छ। प्रदेश ३ अन्तर्गतका ५ वटा जिल्ला अस्पतालबाट प्रदान गरिने सेवा धादिङबाट सुरु गर्दै उनले भनेका थिए, ‘अब रोग बोकेर बसिरहने दिन गए, मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमले जनताको सम्पूर्ण शरीर चेकजाँच गरेर रोग पत्ता लगाइदिन्छ र उपचार गर्न सहयोग गर्छ।’ कार्यक्रमअन्तर्गत सेवा क्षेत्रभित्रका वडाध्यक्षले सिफारिस गरिदिएका स्थानीयको होलबडी चेकजाँच गर्ने बताइएको थियो।

मन्त्री जम्कट्टेलले यसो भनेको १ महिना पुग्न लागेको छ, ८ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण पनि गराइसकेका छन्। तर, जिल्ला अस्पताल धादिङमा टाँसिएको एउटा सूचनाले भने मन्त्री जम्कट्टेलको भनाइलाई नै गिज्याइरहेको छ। चेकजाँच गर्ने कोठाको ढोकैमा टाँसिएको छ, ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत प्याकेजमा उपलब्ध हुने स्वास्थ्य परीक्षणमध्ये भिडियो एक्स रे सेवा विशेषज्ञ चिकित्सक ९रेडियोलोजिस्ट० नभएकाले उक्त सेवा यहाँबाट उपलब्ध गराउन नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसबाट सेवाग्राही महानुभावलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।’

प्रदेश ३ सरकारले ल्याएको उक्त योजनाको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको थियो। तर, शरीरमा भएको रोग पत्ता लगाउने विधिमध्ये एउटा भिडियो एक्स रे नै नभएपछि मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमको औचित्यमाथि प्रश्न उठेको छ।

धादिङ जिल्ला अस्पतालमा भिडियो एक्सरे गराउने विशेषज्ञ चिकित्सकको (रेडियोलोजिस्ट) दरबन्दी नै छैन। मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम अवधिभरका लागि मात्रै भने पनि रेडियोलोजिस्ट पठाउने बताएको प्रदेश ३ अन्तर्गत सामाजिक विकास मन्त्रालयले कार्यक्रम आधा भइसक्दासमेत चिकित्सक पठाएको छैन।

जिल्ला अस्पताल धादिङका सञ्चालक समितिका अध्यक्ष महेन्द्र धमलाले भने, ‘प्याकेजमा गरिने परीक्षणमा भिडियो एक्स रे पनि लेखिएको छ तर हामीकहाँ गर्भवतीको भन्दा भिडियो एक्सरे गर्नेबाहेक विशेषज्ञ रेडियोलोजिस्ट छैन। सेवाग्राहीले खै त भिडियो एक्सरे सेवा भनेर सोधेको सोध्यै गरेकाले सूचना टाँसिएको हो।’ अरू सबै चेकजाँच नियमित रूपमा भइरहे पनि पटक–पटक मन्त्रालय र सम्बन्धित निकायमा चिकित्सक नभएको जानकारी गराउँदासमेत रेडियोलोजिस्ट नपठाएको धमलाले बताए।

धादिङ, मकवानपुर, भक्तपुर, सिन्धपाल्चोक र सिन्धुलीका जिल्ला अस्पतालका स्थानीय तहमा परीक्षणका रूपमा यो कार्यक्रम लागू गरिएको छ। आगामी वर्षदेखि ३ प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागू गर्ने बताए पनि पहिलो चरणमै कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको हो।

एक सेवाग्राहीले भने, ‘सबै परीक्षण हुन्छ भनेर प्रचारप्रसार गर्ने अनि यहाँ आउँदा भिडियो एक्सरेचाहिँ छैन भनेर टाँसिएको सूचना देखाउने पो रहेछ। दिन नसक्ने सेवा किन दिन्छु भनेर लोभ्याउनु ? ’ अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्