Logo
|
Thursday 25th April 2024
Logo

epaper

जडीबुटीमा आत्मनिर्भर बनाउन हर्बल फार्म



जिल्लालाई जडीबुटीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अर्गानिक हर्बल फार्म सञ्चालन गरिएको छ । गोरखा नगरपालिका– १४ गोर्बुङमा सञ्चालित उक्त फार्ममा ८० देखि ९० प्रजातिका जडीबुटी खेती गरिएको सञ्चालक वनस्पतिविज्ञ डा. खेमराज भट्टराईले जानकारी दिए ।

हाल फार्ममा अगारउड, शीतलचिनी, चिया सिड, अमला, अशोक, मोरिङ्गा, दालचिनी, तेजपत्ता, कोइराला, निम, घिउकुमारीलगायतका जडीबुटी खेती गरिएको छ । संसारमै महँगो मानिने अगारउडको १ हजार बिरुवा पनि रोपिएको उनले बताए । अगारउड बास्नादार हुने भएकाले कोठामा सजाउने काठ तथा पफ्र्युमका सामग्री बनाउन प्रयोग हुने
उनले बताए ।

फार्ममा मुख्य बिरुवाका रूपमा शीतलचिनी, अमला, क्यान्सर किलर, चियासिड र तुलसी रोपिएका छन् । शीतलचिनी दूधभन्दा ४ गुणा बढी पोषिलो वनस्पति रहेको भट्टराईको दाबी छ । पाँच रोपनी क्षेत्रफलमा शीतलचिनी खेती गरिएको उनले बताए ।
त्यस्तै करिब ४० रोपनी क्षेत्रफलमा ठूलो जातको अमला रोपिएको छ । फार्मका लागि अधिकांश बिरुवा भारतको कलकता र लखनउबाट ल्याइएको उनले बताए । जडीबुटी खेतीका लागि आवश्यक पानी ठूलो खोलाबाट लिफ्ट गरेर ल्याइएको छ । व्यावसायिक रूपमा जडीबुटी खेती गर्ने योजनाका साथ काम सुरु गरिएको फार्ममा अहिले स्थानीयले रोजगारीसमेत पाएका छन् ।

नेपालमा जडीबुटीको बिउबिजन बेच्ने, सल्लाह दिने, रोप्ने ठाउँका बारेमा जानकारी दिने निकायको अभाव रहेको भट्टराईको गुनासो छ । वनस्पतिबाट नै आर्थिक समृद्घिको सम्भावना रहे पनि कृषकले जडीबुटीको पहिचान गर्न नसकेको र सरकारले त्यसअनुसार नीति तथा कार्यक्रम ल्याउन नसकेको उनले बताए ।

हाल सय रोपनी क्षेत्रफलमा फार्म सञ्चालन गरिएको भन्दै उनले चार सय रोपनी क्षेत्रफलमा जडीबुटी खेती विस्तार गर्ने योजना रहेको बताए । लेकमा सीमित जडीबुटी हुने तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनोट गरिएको उनले बताए । ५ लाख लगानीबाट जडीबुटी खेती सुरु गरेका उनले हालसम्म ४ करोड रुपैयाँ लगानी गरिसकेका छन् । फार्म सञ्चालनका लागि जमिन खरिद गर्न मात्रै डेढ करोड खर्च भएको
उनले बताए ।

फार्मबाट उत्पादित जडीबुटी गोरखा हरमटारीस्थित आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरिएको छ । ०४० सालमा स्थापना भएको गोरखा आयुर्वेदिक कम्पनी प्रालि जिल्लाकै एक मात्र आयुर्वेदिक कम्पनी हो । ‘कम्पनीले अधिकांश जडीबुटी भारतबाट आयात गर्ने गरेको छ,’ उनले भने, ‘हाम्रो उद्देश्य भारतबाट हुने जडीबुटी आयात घटाउनु हो ।’ उनले जडीबुटी विदेश निर्यात गर्ने योजनासमेत
बनाएका छन् ।

०७४ वैशाखबाट सुरु गरिएको फार्मबाट जडीबुटी बिक्री पनि हुन थालेको छ । फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक १ करोड आम्दानी हुने उनले अपेक्षा गरेका छन् । वन मन्त्रालयको सहसचिव पदबाट राजीनामा दिएर क्यानडा पुगेका भट्टराई स्वदेश फर्केर जडीबुटी उत्पादनमा लागेका हुन् । फार्म सञ्चालनका लागि उनलाई मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरि सुवेदीले साथ दिएका छन् । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्