Logo
|
Friday 19th April 2024
Logo

epaper

एमबीबीएस प्रवेश परीक्षामा विवाद



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोक्न निर्देशन दिएका छन् ।

चिकित्सा शिक्षा आयोगका सहअध्यक्षसमेत रहेका उनले प्रतिष्ठानका उपकुलपतिले डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन् ।

प्रतिष्ठानले एमबीबीएस/बीडीएस प्रवेश परीक्षा साउन १८ गते र एमडीएस/एमडीएमएसको प्रवेश परीक्षा असार २२ गते तोकेर फारम वितरण गरिसकेको थियो । ‘विगतका वर्षमा जस्तै शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरी परीक्षाको निष्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरीयता कायम राखी काम कारबाही अगाडि बढाउन हुन निर्देशन दिएको छु,’ पोखरेलले पठाएको निर्देशनपत्रमा भनिएको छ ।

चिकित्सा शिक्षा आयोगमा उपकुलपतिले बदनियतपूर्वक डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेकाले तत्काल प्रवेश परीक्षासम्बन्धी कामस्थगन गरी छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्न माग उजुरी परेको थियो ।

आयोगका सहअध्यक्षका हैसियतले मन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई निर्देशन दिँदै पत्रमा भनेका छन्, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा चिकित्सा क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने व्यक्तिको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोग वा तोकेको संस्था वा निकायले सञ्चालन गर्नेसमेतको व्यवस्था छ ।’ आयोगले पठाएको निर्देशनपत्रबारे आफूलाई जानकारी नभएको प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले बताए । ‘मलाई आयोगले दिएको निर्देशनपत्रबारे केही जानकारी छैन,’ उनले भने, ‘पत्र पाएपछि मात्र आफ्नो धारणा राख्छु ।’

यसअघि उपकुलपतिकै क्षेत्राधिकारअनुसार परीक्षा समिति गठन भएर एमबीबीएस र बीडीएका प्रवेश परीक्षा सम्पन्न हुने गरेको उनले बताए । ‘यसअघिका कतिपय प्रवेश परीक्षामा धेरै विवाद आएकाले त्यसबाट पाठ सिक्दै यसपटक कसैले प्रश्नै गर्न नसक्ने गरी कडाइका साथ प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. गुरु खनाल र रजिस्ट्रार तुलबहादुर श्रेष्ठसँग उपकुलपति रौनियारको तालमेल नमिल्दा विवाद उत्पन्न भएको हो ।

उपकुलपति रौनियारले विदेशी विद्यार्थीलाई बढीभन्दा बढी आकर्षित गरेर प्रतिष्ठानको आर्थिकस्तर उकास्न चाहेको तर त्यसमा शिक्षाध्यक्ष खनालसँग तालमेल नमिल्दाआफ्नो अधिकार प्रयोग गरी डिन डा. सीभी झाको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेपछि विवाद सतहमा आएको हो ।

असन्तुष्ट शिक्षाध्यक्ष खनालले प्रतिष्ठानको शिक्षाध्यक्षले परीक्षा, पठनपाठन, विद्यार्थी भर्नाको क्षेत्र हेर्ने अधिकार नै विधानमा उल्लेख भएको दाबी गरे । ‘तर मलाई यसपटक हुन लागेको प्रवेश परीक्षाबारे कुनै जानकारीदिइएन,’ उनले भने, ‘मसँग समन्वय नै गर्नुभएन ।’  कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्