स्वास्थ्यबारे सामान्य ख्याल पनि गर्दैन यार्सागुम्बा टिप्न जानेहरू

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-06-13 07:29:30

बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न डोल्पाको सागर पाटन पुगेको पहिलो दिनमै नलगाड नगरपालिका ६, जाजरकोटका सबिन विश्वकर्माको लेक लागेर मृत्यु भयो।

पैसा कमाएर वर्षभरिको गर्जो टार्ने योजनासहित उनी आफ्ना दाइसँगै पाटन पुगेका थिए।

“दिनभरि यार्सा टिपेर बस्ने ठाउँमा फर्केपछि टाउको दुख्यो भन्दा भन्दै जेठ १७ गते राति भाइको मृत्यु भयो,” प्रेम विश्वकर्माले भने, “बचाउन धेरै प्रयास गरे पनि सकिएन। लास पाटनमै गाडेर घर फर्किएँ।”

सबिनसहित यो मौसममा यार्सा टिप्न उच्च हिमाली क्षेत्रमा पुगेका नौ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

लापरबाही

यार्सा पाइने ठाउँमा लेक लाग्छ भन्ने थाहा भए पनि तयारी केही नभएकोले भाइलाई गुमाउनु परेको प्रेमले बताए।

“लेक लाग्दा खाने भनेर घरबाट लसुन, टिमुर, खुर्सानी र मह लगेका थियौँ त्यसले पनि काम गरेन,” प्रेमले भने।

यार्सा टिप्दा लेक लागेर बिरामी भई घर फर्किएका प्रवेश बानियाँले पाटनमा लेक लाग्छ भन्ने थाहा हुँदाहुदै पनि अधिकांश मानिस त्यत्तिकै जाने जाने गरेको बताए।

“पाटन चढ्दै जाँदा एकाएक दम बढ्यो। त्यसपछि असहज महसुस हुने बित्तिकै फर्किएर बाँचे, उनले भने, “यार्सा पाइने पाटनमा बोटबिरुवा हुँदैनन्। कतिपय ठाउँमा त हिउँ पन्छाउँदै यार्सा टिप्नुपर्छ। बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ।”

यार्सा खोज्दा प्रतिस्पर्धा हुने भएकोले स्वास्थ्यबारे खासै ध्यान नदिने गरेको यार्सा टिप्न तीन पटक डोल्पाका पाटन पुगेकी लक्ष्मी खड्का बताउँछिन्।

जाजरकोट यार्सा सङ्कलक महिला

उनी भन्छिन्, “हेलचेक्र्याइँले गर्दा ज्यान गएको देखेकी छु। त्यसैले लापरबाही गर्नु हुँदैन।”

यार्सा टिप्न जानेले लेक लाग्नबाट जोगिन घरेलु औषधिको रूपमा खुर्सानी, टिमुर, मह, चिनी र लसुन लिएर गएका हुन्छन्।

“दम बढ्न थालेपछि त्यही लसुन औषधिको रूपमा खान्छन्। योबाहेक उनीहरुसँग अरू औषधी हुँदैन। बिरामी भइहाले डोल्पाको दुनैसम्म पुर्‍याउन धेरैजसो पाटनबाट हिँडेर तीनचार दिन लाग्छ,” लक्ष्मीले भनिन्।

पाटनमै उपचारको व्यवस्था नहुँदा उपचारको लागि स्वास्थ्य चौकी भएका ठाउँमा ल्याउँदै गर्दा बिरामीको बीच बाटोमै मृत्यु हुने गरेको आफन्तले जनाएका छन्।

डाक्टरको सल्लाह

पूर्वतयारी र सावधानीबिना नै पाटन जाने भएकोले उनीहरू बिरामी पर्ने र कतिपयले त ज्यानै पनि गुमाउने गरेका छन्।

यार्सा समुद्री सतहबाट ३,६५० हजार मिटरको उचाइमा पाइन्छ। पाटनमा जतिमाथि गयो त्यति नै अक्सिजन कम हुँदै जान्छ।

अक्सिजनको कमीले सास फेर्न कठिन हुने, टाउको दुख्ने, उल्टी हुनेजस्ता समस्या देखा पर्छन्।

जाजरकोट यार्सा सङ्कलन

डाक्टर अर्चना कार्की भन्छिन्, “सास फेर्न गाह्रो हुनेबित्तिकै जुन ठाउँमा हो त्यही ठाउँमा बस्नुपर्छ। तुरुन्तै तल फर्किनु हुँदैन। यस्तो बेला २४ देखि ४८ घण्टासम्म एकै ठाउँमा बस्नुपर्छ। त्यसपछि दुई-तीन घण्टा हिँड्दै अनि डेढ घण्टाजति आराम गर्दै तलतिर झर्नुपर्छ। आत्तिएर झर्न खोजे झन् जोखिम बढ्छ।”

यार्सा टिप्न जानु भन्दा तीन-चार महिना पहिलादेखि नै अग्लो पहाड चढ्ने अभ्यास गर्न र स्वास्थ्य चेकजाँच गराएर मात्र यार्सा टिप्न जान डा. कार्की सुझाव दिन्छिन्।

पाटन भरिभराउ

डोल्पा जिल्लाको कुनासा, कागमारा, जगदुल, फूलबारी, सागबारी, ग्यालबारा, सागर, नाउरे, छुताङ, धो, ताक्सी, सिसौल यार्सा पाइने मुख्य पाटनहरू हुन्।

यस्तै मुगुको चाल्ने, टाँके, ठूलोकोखी, छापाखोला, च्यार्कु, रिमार, नयाँ वन, झोपा लेक, इतिङ, रमानलगायतका पाटनमा पनि यार्सा पाइन्छ।

ज्यान हत्केलामा राखेर जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाका हजारौँ बासिन्दा यार्सा टिप्न डोल्पा र मुगुका पाटन पुगेका छन्।

तेह्र हजारभन्दा बढी मानिस अनुमति लिएर यार्सा सङ्कलनमा गएको डोल्पास्थित शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

उनीहरूबाट यार्सा सङ्कलन प्रवेशाज्ञा बापत झन्डै तीन करोड रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए।

सुरक्षाकर्मी पहिचान

यार्सा टिप्नेको सुरक्षाको लागि प्रहरी, सेना र निकुञ्जका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

पाटनहरूमा नागरिकको सुरक्षा गर्न तथा लुटपाट र चोरीडकैती नियन्त्रण गर्न, यार्सा सङ्कलनलाई व्यवस्थित बनाउन, वन्यजन्तुको चोरीसिकार रोक्न सुरक्षाकर्मी परिचालन गरिएको निकुञ्जले जनाएको छ।

यार्सा

सुरक्षाकर्मीले बिरामी परेका आठ जनालाई उद्धार र कतिपयलाई उपचार गरेका छन्। निकुञ्ज क्षेत्रमा झन्डै सय सैनिक र ६० जनाजति निकुञ्जका कर्मचारी खटाइएको छ।

पाटनमा जोखिम बढी हुने भएकाले १६ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई जान रोक लगाएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए।

सुरक्षा गर्ने स्थानबाट जान नदिइएपछि कतिपयले रातको समयमा बाटो छलेर गएका थिए।

राम्रो कमाइ

मानिसहरू यार्सागुम्बालाई ‘कीरा’ वा ‘च्याउ’ पनि भन्छन्। एक व्यक्तिले थोरैमा चार सयवटा यार्सा टिप्न सक्छ। पाटनमै एउटा यार्सा पाँच सयदेखि पन्ध्र सय रुपैयाँमा किनबेच हुन्छ।एक महिनामा एक जनाले पाँच लाख रुपैयाँ कमाउने बताइन्छ।

टिपेकै दिन यार्सा बिक्री हुन्छ। व्यापारीहरूले पहिले नै उनीहरूको रोएल्टी तिरिदिन्छन्। केही व्यापारीले यार्सा सङ्कलन गर्न गएका मानिसहरूलाई खाने र बस्ने व्यवस्था गरिदिन्छन्।बिबिसिनेपाली

    Comment Here!