Logo
|
Thursday 28th March 2024
Logo

epaper

पूर्वमा डेंगुको संक्रमण 



पूर्वी नेपालका जिल्लामा डेंगुको संक्रमण तीव्र भएको छ । सुनसरीको धरानमा महामारीकै रुप लिएको डेंगु मोरङपछि झापामा पनि भेटिएको हो ।

पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार भद्रपुरस्थित मेची अस्पतालमा एक, बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा तीन, बिर्तासिटी अस्पतालमा दुई र दमक अस्पतालमा डेंगु संक्रमित दुईजना बिरामी उपचाररत छन् ।

स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलप्रसाद पौडेलका अनुसार झापामा डेंगु रोकथामबारे कुनै कार्यक्रम अघि बढाइएको छैन । ‘रोकथामका उपाय नअपनाए यसले महामारीकै रुप लिन सक्छ,’ उनले भने, ‘यस विषयमा झापाका कुनै पनि स्थानीय तह संवेदनशील भएको पाइँदैन ।’ आधारभूत स्वास्थ्य सेवाअन्तर्गत महामारी व्यवस्थापन गर्ने काम स्थानीय तहको भएको पौडेल बताउँछन् । उनले स्वास्थ्य कार्यालयसँग बजेट नभएको प्रतिक्रिया दिए । स्थानीय तहले नसके प्रदेश सरकारले अग्रसरता देखाउनुपर्ने भन्दै अविलम्ब नियन्त्रणको विकल्प नभएको उनले बताए ।

डेंगु नियन्त्रणका लागि एक नम्बर प्रदेश सरकारले सचेततापूर्वक आफ्नो क्रियाकलाप सुरु गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जिल्ला प्रशासनमा आकस्मिक बैठक
डेंगु नियन्त्रणको विषयमा जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार आकस्मिक बैठक बसेको छ । प्रमख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहहरुले आफ्नो क्षमताले भ्याएसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य फोकल पर्सन खगेन्द्र दंगालले जानकारी दिए । बैठकमा स्थानीय तहका स्वास्थ्यका फोकल पर्सनहरुको सहभागिता थियो । ‘लार्भा खोज र नष्ट गर भन्ने अभियान हामी आइतबारबाट चलाउँछौँ,’ बिर्तामोड नगरपालिकाका स्वास्थ्य फोकल पर्सन दंगालले भने ।

गत वर्ष पाँच सय ३५ संक्रमित
गत वर्ष पनि झापामा डेंगुको संक्रमण तीव्र भएको थियो । गत वर्ष पाँच सय ३५ जना संक्रमित भएको फोकल पर्सन पौडेल बताउँछन् । तीमध्ये झण्डै ४ सय जना बिरामी बिर्तामोड नगरपालिका आसपासका थिए । गत वर्ष उपचारका क्रममा दुई जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष ०७३/७४ मा मुलुकका ४६ जिल्लामा डेंगुका बिरामी देखिएका थिए । विगत केही दशकयता विश्वभर नै डेंगुको संक्रमण बढ्दै गइरहेका बेला बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणले बढेको पाइन्छ । विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्