Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अस्पतालमा तोडफोड



अस्पताल प्रशासन भन्छ, ‘अत्यधिक रक्तस्राव भएपछि रगत दिएर रिफर गर्ने तयारी भइरहँदा उनको ज्यान गएको हो’

शल्यक्रिया गरी बच्चा जन्माएको १४ दिनपछि सुत्केरीको मृत्यु भएपछि डडेलधुरा उपक्षेत्रीय अस्पतालमा शुक्रबार राति तोडफोड गरिएको छ । अस्पतालको बहिरंग सेवाका झ्याल ढोका तोडफोड भए । अस्पतालभित्र प्रवेश गरी एक हूल स्थानीयले चिकित्सकको खोजी गरे । समयमा प्रहरी पुगेकाले थप क्षति भने हुन पाएन ।

अमरगढी नगरपालिका ६, छचोडाकी २६ वर्षीया गीता ताम्राकारको अस्पतालमै मृत्यु भएपछि उनका आफन्त र गाउँले चिकित्सको लापरबाही भन्दै तोडफोडमै उत्रिए । अस्पतालमा तोडफोड मात्र होइन शुक्रबार दिनभरि डडेलधुरा सदरमुकाम तनावग्रस्त बन्यो ।

जिल्ला प्रशासन कार्यालयको पहलमा शनिबार अबेर मात्र सदरमुकामको जनजीवन सामान्य बनेको छ । बिहानैदेखि पहाडी जिल्लाबाट तराई जाने र तराईबाट आउने सयौं सवारीसाधन तथा हजारौं यात्रु दिनभर डडेलधुरामा अलपत्र परेका थिए ।

अस्पतालमै २ साताअघि शल्यक्रिया गरी बच्चा जन्माएकी ताम्राकारको अत्यधिक रक्तस्राव भएपछि शुक्रबार पुनः सोही अस्पताल पुर्‍याइएको थियो ।

चिकित्सकका अनुसार ताम्राकारको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पताल भर्ना भएको ९ दिनपछि ताम्राकारलाई डिस्चार्ज गरिएको थियो । डिस्चार्ज गरेको ५ दिनपछि पुनः अत्यधिक रक्तस्रावभएपछि उपचारका लागि अस्पताल पुर्‍याइएकी ताम्राकारलाई ८ पिन्ट रगत दिएर धनगढी रिफर गर्नुअघि मृत्यु भएको थियो ।

‘अत्यधिक रक्तस्राव भएपछि रगत दिएर रिफर गर्ने तयारी भइरहँदा उनको ज्यान गएको हो,’ अस्पताल प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘एम्बुलेन्समा धनगढी पठाउन सकिने अवस्था थिएन एयर एम्बुलेन्सका लागि सामाजिक विकास मन्त्रालयसँग कुरा भइरहँदा उनको ज्यान गएको हो ।’ रक्तस्राव रोकिने अवस्था नभएपछि अस्पतालले मृतक पतिलाई जानकारी दिएर एयर एम्बुलेन्स मगाउने प्रयास गरेको डा. कँडेल बताउँछन् ।

‘एयर एम्बुलेन्स प्रसूतिअघि मात्र मन्त्रालयले दिन सकिने जानकारी दिएपछि अस्पतालले व्यक्तिगत रूपमै पनि प्रयास गरेको थियो,’ उनले भने, ‘बिरामी ४ घण्टाको एम्बुलेन्स यात्रा गरी धनगढी पुग्न सक्ने अस्वस्था नभएको हेल्थ असिस्टेन्टसमेत रहेका उनका पतिलाई पनि जानकारी थियो ।’ सुत्केरी भएको १ महिनासम्म पनि पाठेघरमा हुन सक्ने इन्फेक्सनलाई ध्यानमा राखेर चिकित्सकले समय–समयमा जाँच गराउन अस्पताल आउन भनेका थिए । मृतकका पति धर्मराजलाई पनि उपचारका विषयमा अस्पतालले सबै जानकारी दिएको थियो ।

गीताको मृत्यु भएपछि शुक्रबार राति नै स्थानीय प्रशासनको पहलमा बाहिरी जिल्लाको चिकित्सक बोलाएर शव परीक्षण गर्ने, घटनाको अनुसन्धान गर्ने र क्षतिपूर्तिका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति भएपनि शनिबार बिहानैदेखि पीडित पक्षका आफन्त र गाउँले सदरमुकाममा आन्दोलित भएका थिए ।

दरबन्दीअनुसार चिकित्सक नभएको उपक्षेत्रीय अस्पतालमा पटक–पटक अस्पताल र चिकित्सकविरुद्ध हुने गतिविधिले थप चिकित्सक आउन मानेका छैनन् । दरबन्दीअनुसार तीन दर्जन बढी चिकित्सक अस्पतालमा छैनन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्