Logo
|
Tuesday 16th April 2024
Logo

epaper

अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित



garmi birami अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्र्मचारी र मजदुरसमेत प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार भैरहवाको तापक्रम यो वर्षकै धेरै ४३.३ डिग्री मापन गरिएको थियो । आइतबार ४१.७ र सोमबार सोही हाराहारीमै तापक्रम रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायु नजिकिएका कारण तापक्रम केही घटेको उहाँको भनाइ छ । देशका केही भू–भागमा छिटपुट वर्षा भए पनि यस क्षेत्रमा बुधबारदेखि मात्रै वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताउनुभयो ।

गर्मी बढेपछि रुपन्देहीका स्थानीय तहका निजी तथा सामुदायिक विद्यालय बन्द छन् । सिद्धार्थनगर, तिलोत्तमा, सैनामैनालगायतका नगरपालिकाले सूचना जारी गरी एक साताका लागि विद्यालय बन्द भएको जानकारी गराएका हुन् । बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय पनि चार दिनका लागि बन्द भएका छन् । उपसचिव मित्रमणि खनालले सूचना जारी गरी सोमबारदेखि चार दिनसम्मका लागि विद्यालय बन्द गरिएको जानकारी गराउनुभएको छ । गर्मीले विद्यालयमा बालबालिका बेहोस हुन थालेपछि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सामाजिक एकाइ प्रमुख दयासागर पन्थीका अनुसार अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, जलवियोजनलगायतका बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । बुटवलका निजी अस्पतालमा समेत बिरामीको भीड छ । गर्मी बढी भएका कारण पानीको मात्रा कम हुने समस्या भएकाले सजग रहन अस्पतालले अनुरोध गरेको छ । शरीरमा घमौरा आउने तथा विभिन्न छालाजन्य रोग लाग्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।

खानेपानी समस्या

रामपुर– पाल्पाको रामपुरमा गर्मी बढेसँगै खानेपानीको समस्या देखिन थालेको छ । जमीनमुनि ट्युववेल गाडेर मोटर तथा चापाकलबाट पानी निकालेर प्रयोग गर्दै आएका नागरिक पानी सुक्न थालेपछि हैरान भएका छन् । रामपुर नगरपालिका–५ का मायादेवी खनालले जमीनमुनिको पानी मोटरबाट तानेर प्रयोग गर्दै आएकामा केही दिनदेखिको खडेरीले समस्यामा पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो “निर्माण भइरहेको नयाँ घरमा पटान गर्न समेत समस्या भएको छ, पुरानो ढुङ्गेधाराबाट बोकेर कति साध्य हुने हो र रु” दैनिकरूपमा शौचालयमा प्रयोग गर्न, कपडा धुन, तरकारीमा सिञ्चित गर्न, गाईभैँसीलाई खुवाउन पनि समस्या देखिएको छ । पानीको समस्या भएरै बजारबाट उन्नतजातका पानी कम लाग्ने धानको बीउ राखेका कृषकलाईसमेत साँझ बिहान सिञ्चित गर्नसमेत समस्या भएको बताएका छन् ।

रामपुर नगरपालिका–५ कै इन्द्राकुमारी मल्लले पनि तीन परिवारले प्रयोग गर्दै आएको चापाकलबाट पानी निस्कन छाडेपछि विगत एक महीनादेखि पानीको समस्या भएको बताउनुभयो । पानीका कारण धेरैजसो महिलालाई बढी समस्या भएको देखिन्छ । खानेपानीको समस्या भएपछि दैनिकरूपमा समयमै गर्ने कामधन्दा तथा कार्यालय पुग्ने समयमा समेत ढिलाइ हुने गरेको धेरैको गुनासो छ ।

नगरपालिका क्षेत्रका विभिन्न खोला तथा खोल्सामा भएका मूल धारा पनि आकाशबाट पानी नपरेका कारण सानो भएका छन् । नगरपालिकाका विभिन्न स्थानमा भएका धेरैजसो ढुङ्गेधारामा बिहान र बेलुका अत्यधिक भीड लाग्ने गर्दछ । रामपुर क्षेत्रका केही भागमा रामपुर साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले उपलब्ध गराएको पानीले भने राहत दिएको यस क्षेत्रका नागरिकको भनाइ छ ।

रामपुर उपत्यकालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले विसं २०६७ मा योजना बनाएर करीब तीन वर्षदेखि रामपुरका विभिन्न वडामा संस्थाले खानेपानी सुविधा पु¥याइएको छ । गर्मीमा अवस्था हेरेर बिहान तीन घण्टा तथा बेलुका तीन घण्टा गरी दैनिक छ घण्टा पानी वितरण गरिँदै आएको संस्थाका अध्यक्ष कमलराज भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाका बेझाडमा चार÷चार लाख लिटरका दुई, आर्दशनगर डुम्रिगाउँमा दुई लाख लिटर तथा कार्कीडाँडामा डेढ लाख लिटरका ट्याङ्कीमा जम्मा गरेको पानी नगरपालिकाका करीब दुई हजार ७०० घरपरिवारलाई वितरण गरिएको छ । संस्थाले नगरपालिकाका वडा नं ४, ५, ६ र ७ का विभिन्न टोलमा खानेपानी सेवा दिएको छ । नगरपालिकाका बेझाड र किसानबारीमा पाँच बोरिङबाट पानी निकालिँदै आएको छ । संस्थाले उपलब्ध गराएको छोटो समय आउने पानीले यस क्षेत्रका नागरिकले प्यास मेटाएका छन् ।

बिरामी वृद्धि

लमजुङ– यहाँ दिनप्रतिदिन गर्मी बढेसँगै बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ । जिल्लाकै सबैभन्दा ठूलो अपस्पताल बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा गर्मीका बिरामीको सङ्ख्या वृद्धि भएको हो । मौसम परिवर्तन भएसँगै विषेशगरी ज्वरो, टाइफाइड, वान्ता, झाडापखाला, निमोनियाका बिरामी अस्पतालमा आउने गरेको जिल्ला सामुदायिक अस्पताल लमजुङले जनाएको छ ।

अस्पतालका अनुसार गर्मी शुरु भएपछि दैनिक ८०/९० बिरामी आउने गरे पनि केही हप्ताबाट गर्मी बढी हुन थालेपछि दैनिक ३५० बढी बिरामी भएर अस्पताल आउने गरेका छन् । बिरामीको सङ्ख्या अझै बढ्नसक्ने सामुदायिक अस्पतालका चिकित्सकले बताएका छन् । गर्मीका कारणले नै दैनिक अस्पतालमै ३५ देखि ४० को हाराहारीमा भर्ना गराएर उपचार गर्नुपरेको जिल्ला सामुदायिक अस्पतालका प्रमुख युवराज देवकोटाले बताउनुभयो । त्यस्तै ज्वरो, टाइफाइड, झाडापखालासँगै ग्यास्ट्रिकका बिरामी इमर्जेन्सीमा दैनिक ३० देखि ३५ सम्म आउने गरेको जिल्ला सामुदायिक अस्पतालका इमर्जेन्सी ओपिडी इन्चार्ज गणेश गुरुङले जानकारी दिनुभयो । गर्मी वृद्धि, धँुवाधुलो, दुषित हावापानी तथा प्रदूषणका कारण झाडापखाला, ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्ने गरेको चिकित्सक बताउँछन् ।

अस्पतालमा विशेषगरी बेँसीशहर, चिती, ढोडेनी, फलेनी, नाल्मा, घनपोखरा, खुदी गाउँशहर, बाझखेत, सुन्दरबजारलगायतका क्षेत्रबाट बिरामी पुग्ने गरेका छन् । अस्पताल पुग्ने बिरामीमध्ये महिला तथा बालबालिका बढी रहेको अस्पतालका प्रशासन तथा लेखा संयोजक हेमन्त श्रेष्ठले बताउनुभयो । अस्पतालले अहिले तीन विशेषज्ञ चिकित्सक, पाँच मेडिकल अफिसरबाट बिहान ९ बजेदेखि ४ बजेसम्म बिरामीको स्वास्थ जाँच गराउँदै आएको छ ।

त्यस्तै बेँसीशहर नगरपालिका–८ स्थित झिङ्गेखोलामा रहेको बेँसीशहर अस्पतालमा पनि पछिल्लो समय बिरामीको चाप बढेको छ । सो अस्पतालमा ज्वरो, झाडापखाला, टाइफाइडका बिरामी बढेको बेँसीशहर अस्पतालले जनाएको छ । दैनिक २० देखि ३० सम्म बिरामी आउने गरेको अस्पतालमा कार्यरत चिकित्सक बताउँछन् । यसबाहेक जिल्लामा सञ्चालित विभिन्न स्वास्थ्य संस्था र मेडिकलमा समेत गर्मीका बिरामीको सङ्ख्या वृद्वि भइरहेका छन् । गर्मीका बिरामी भएर अस्पताल पुग्नेमा बालबालिका र महिला बढी छन् । रासस

प्रतिक्रिया दिनुहोस्