Logo
|
Tuesday 16th April 2024
Logo

epaper

मेडिकल कलेजहरूमा धेरै बेथिति भेटिएपछि अनुसन्धान गर्न समय थप



मेडिकल कलेजको बेथितिमाथि अध्ययन गर्न ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिलाई थप एक महिनाको समय उपलब्ध गराइएको छ । मंगलबार बसेको समिति बैठकमा उपसमिति संयोजक सुरेशकुमार राईले अध्ययनका लागि थप एक महिना माग गरेका थिए । समितिका सदस्यहरूको सहमतिमा सभापति जयपुरी घर्तीले एक महिना समय थपिएको जानकारी गराएकी थिइन् । मेडिकल कलेजमा अनियमिततालाई छानबिन गर्न गत चैतमा शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर अध्ययन थालेको थियो । ‘हामीले धेरै विषयमा खोजी गरिसक्यौँ । बेथिति थुप्रै देखिएका छन् । अब एक महिना समय उपलब्ध गराइदिए राम्रो प्रतिवेदन तयार हुन्थ्यो,’ उपसमिति संयोजक राईले भने ।

 २० मेडिकल कलेजसँग छलफल
उपसमितिले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई विशेष निगरानी गरिरहेको छ । २२ वटा मेडिकल कलेजमध्ये उपसमितिले २० वटा मेडिकल कलेजसँग छलफल गरिरहेको छ । केही मेडिकल कलेज सञ्चालकलाई समिति बैठकमै बोलाएर स्पष्टीकरण सोधिएको थियो । समितिको अध्ययनका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र स्कुल अफ मेडिकल साइन्स धुलिखेलसँग भने समितिको सम्पर्क भएको छैन ।

 ऐनविपरीत शुल्क लिने कलेजसँग स्पष्टीकरण लिनुपर्ने माग
चिकित्सा शिक्षा ऐनविपरीत अहिले पनि केही कलेजले मनपरी शुल्क लिएको भन्दै समिति सदस्य खगराज अधिकारीले त्यस्ता कलेजसँग स्पष्टीकरण लिनुपर्ने धारणा राखेका थिए । ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ऐनविपरीत गएर विद्यार्थी भर्ना लिइरहेको छ, समितिले कलेज र सम्बन्धित निकायसँग जाँचबुझ गर्नुपर्छ,’ उनले भने । अध्ययनका क्रममा मेडिकल कलेजले विद्यार्थीलाई विभेद गरेको भेटिएकाले यस सम्बन्धमा गहिरिएर अध्ययन गर्नुपर्ने अधिकारीको भनाइ थियो । विद्यार्थीलाई ‘प्राक्टिल’ जाँचमा ‘जिरो’ नम्बर दिएर फेल गराएकोबारे उनले चिन्ता व्यक्त गरेका थिए । ‘त्यसरी पढाएर के काम भयो त ? त्यहाँ त विद्यार्थीप्रति प्रतिशोध साँधिएको हुन सक्छ,’ उनले भने ।

 एमबिबिएसका लागि काठमाडौंमा साढे ३८ लाख र बाहिर ४२ लाख ४५ हजार

२८ असोज ०७५ को मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको थियो । २२ जेठमा शिक्षा तथा स्वास्थ्य समितिले केयू सम्बन्धनप्राप्त मेडिकल कलेजका सञ्चालकहरूसँग शुल्कलगायत विषयमा छलफल गरेको थियो । सञ्चालकहरूले विद्यार्थीबाट ४९ लाख ५० हजारसम्म शुल्क असुलेको बताएका थिए । आफूहरूले केयूले तोकेबमोजिम नै लिइरहेको सञ्चालकहरूको दाबी थियो । केयूले तोकेअनुसार नै रकम लिएको भन्दै आफूहरूलाई शंका नगर्न उनीहरूले समिति सदस्यलाई आग्रह गरेका थिए ।

कलेजले नेपाली र विदेशी विद्यार्थीलाई भेदभाव गरेको उजुरी आएकाले यस सम्बन्धमा सत्यतथ्य बुझ्नुपर्ने समिति सदस्यहरूको भनाइ थियो । विदेशी विद्यार्थीबाट राम्रो पैसा आउने भएकाले उनीहरूलाई माया गरेको र नेपालीलाई पराईजस्तो व्यवहार गरिएको भन्दै यसमाथि छानबिन गर्न समिति सदस्य अधिकारीको माग थियो । अध्ययनका क्रममा कलेजले अनियमित रूपमा शुल्क असुलेको र विद्यार्थीलाई मानसिक रूपमा प्रताडित गरेको समिति संयोजक राईले बताए । ‘कलेजमा समस्या थुप्रै छ । हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने । सांसदहरू मनकुमारी जिसी, अञ्जना विशंखे, मानबहादुर विश्वकर्मालगायतले मेडिकल कलेजमाथि समितिले मिहीन ढंगले अध्ययन गर्नुपर्ने बताएका थिए ।

मनपरी शुल्कलिएको भन्दै नेता भट्टराई आक्रोशित

कलेजले मनपरी शुल्क लिएको भन्दै बैठकमा समिति सदस्य योगेश भट्टराई आक्रोशित बने । गलत ढंगले अभिभावकमाथि शुल्क थोपर्नेलाई कारबाहीको भागिदार बनाउनुपर्नेमा उनको जोड थियो । ‘रसिद, भर्पाइ नदिई पैसा लिने गरेको भेटिएको छ । यस्तो पैसा कलेजको नाममा आउने होइन, व्यक्तिको खातामा जाने गरेको देखिएको छ । यसरी अघि बढ्ने हो भने हाम्रो मेडिकल शिक्षा धनाढ्यहरूको हातमा जान्छ,’ उनले भने । गलत ढंगले अभिभावकहरूमाथि आर्थिक भार थोपरिएकोमा भट्टराईको असन्तुष्टि थियो । ‘कलेजको अवस्था हेर्दा यस्तो लाग्छ, कुनै–कुनै कलेजको त सम्बन्ध नै खारेज गर्नसमेत समितिले निर्देशन दिनुपर्ने स्थिति आउन सक्छ,’ उनले भने । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्