Logo
|
Friday 19th April 2024
Logo

epaper

विगतको सम्झना



डा. विश्वराज दलीलाई फादर अफ युरो सर्जरी पनि भनिन्छ । उहाँ नेपालको तेस्रो सर्जन हुनुहुन्छ । बीर अस्पतालमा पहिलो स्व. डा. अञ्जनी कुमार शर्मा, दोस्रोमा डा. दिनेश नाथ गंगोल र तेस्रोमा डा. विश्वराज दली हो । शुरुमा सर्जन भएपनि डा. दलीलाई नेपाल सरकारले युरोलोजी सर्जरीमा फेलोसिप लिन लन्डन पठाएको पठायो ।
डा. दली सन् १९६४ मा जनरल सर्जनका रुपमा काम गर्नुहुन्थ्यो । त्यो बेला हरेक विधाका डाक्टरले अर्थोपेडिकदेखि गाइनेकोलोजीको शल्यक्रिया गर्नुपर्दथ्यो । उहाँले सन् १९८३ मा लन्डनको इन्स्टिच्युट अफ युरोलोजीमा एक वर्ष युरोलोजी सर्जरीमा फेलोसिप गरेर सन् १९८४ मा नेपाल फर्केपछि बीर अस्पतालमा युरोलोजी युनिट शुरु गर्नुभयो ।
त्यो बेला सरकारले पैसा दिने सर्तमा आफैंले खर्च गरेर युरोलोजीको शल्यक्रिया गर्न सामान खरीद गरेर ल्याउनुभएको थियो । त्यो खर्च लिन उहाँलाई ३ वर्ष कुर्नुपरेको थियो । त्यो बेला बीर अस्पतालमा डा. द्धारिका मान मानन्धर हुनुहुन्थ्यो । युरोलोजीमा मात्र काम गर्न थालेँ । प्राइभेट प्राक्टिसतिर लागेँ ।

युरोलोजीमा शल्यक्रिया गर्दै आउनुभएका डा. दली अंग प्रत्यारोपण कमिटीका संस्थापक अध्यक्ष हुनुहुन्छ । शुरुमा आँखाको नानी प्रत्यारोपणका लागि सो कमिटी बनाइएको थियो । तर मृत व्यक्तिबाट लिने भएकाले समस्या थिएन । त्यो बेला धेरैको मिर्गौला विफल हुने गर्दथ्यो । तर पहिचान नहुने भएकाले धेरैको ज्यान गइरहेको थियो । कतिपयले लुकी छिपि रकम लिएर भारतमा लगेर मिर्गौला बेच्थे । मिर्गौला प्रत्यारोपण सजिलै गर्न सकिने भएकाले कमिटीमार्फत मुलुकमा मिर्गौला प्रत्यारोपण गर्ने प्रस्ताव ल्याइयो । सन् २००४ तिर बीर अस्पतालमा डा.अर्जुन देव भट्ट, डा.विश्वराज जोशी, डा. अशोक समशेर जवरालगायतका व्यक्तिको प्रयासमा मिर्गौला प्रत्यारोपण शुरु भयो । तर त्यसले सफलता हाँसिल गर्न सकेन ।

सन् २००६ मा डा. विश्वराज दली चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति भएको बेला वेलायत पलायन भएका डा. बद्रीमान श्रेष्ठ र डा. पुकारलाई मुलुकमा ल्याएर मिर्गौला प्रत्यारोपण गर्ने कुरा अघि बढाइयो । बद्रीमान श्रेष्ठले चाहनुभएन । तर डा. पुकार चन्द्र श्रेष्ठ बेलायतको राम्रो सरकारी छाडेर मुलुकमा मिर्गौला प्रत्यारोपण अभियान शुरु गर्न निकै हौसिनुभयो । मुलुकमा मिर्गौला प्रत्यारोपणलाई सफल बनाउने उहाँले तीब्र इच्छा र चाहना व्यक्त गर्नुभयो । शुरुमा डा. पुकारले बीर अस्पतालमा काम गर्नुभएको र करिब ८ वर्षजति बितिसकेकाले उहाँलाई जागिरमा प्रवेश नदिने ठूलो खेल भएको थियो । डा. पुकारजस्ता व्यक्तिलाई नेपाल ल्याउनुपर्छ र उहाँको जागिर यथावत कायम राख्नुपर्छ भनेर उपकुलपतिको नाताले डा.दलीले यो प्रस्ताव स्वास्थ्य मन्त्रालयमा लैजानुभयो । मन्त्रालयले पनि सहजै स्वीकार गर्यो ।
डा. पुकार जस्ता धेरै दक्ष चिकित्सकहरु विदेशीएका कारण मुलुकका चिकित्सकहरुको ‘ब्रेन ड्रेन’ धेरै भएको थियो । उनीहरुलाई मुलुकभित्र फिर्ता ल्याएर ‘ब्रेन गेन’ गर्नुपर्ने माहोल बनिरहेको थियो । डा. पुकार पनि मुलुकमा मिर्गौला प्रत्यारोपणलाई सहज गराउने अभियानमा लाग्नुभएको थियो । डा. दली भन्नुहुन्छ—‘डा. पुकारलाई मिर्गौला प्रत्यारोण गर्ने बीर अस्पतालको भवन पनि देखाएँ । उहाँले सहजै स्वीकार्नुभयो ।’ ‘म न्याम्समा भाइस चान्सलर भएकाले डा. पुकारजस्ता व्यक्तिलाई नेपालमा राख्न प्रोत्साहन दिनुपर्छ र वीर अस्पतालको सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेँ ।’—यो स्वीकृत भयो—डा. दलीले भन्नुहुन्छ—‘नभन्दै उहाँको जागिरले पनि निरन्तरता पायो र मुलुकमा बस्न डा. पुकार सुरक्षित हुनुभयो ।’
बेलायतमा प्रत्यारोपण गर्ने राम्रो सरकारी अस्पतालको जागिर छोडेर आउनुपर्ने भएकाले उहाँ नेपाल नबस्नुहोला भन्ने ठूलो डर थियो । उहाँकी पत्नी नविना श्रेष्ठको पनि बेलायतमा युएनको राम्रो जागिर थियो । तर डा. पुकारले मुलुकमा बसेर मिर्गौला प्रत्यारोपण सेवा दिने प्रतिवद्धता जनाउनुभयो र सन् २००८ को डिसेम्बर १२ तारेखमा बीर अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण शुरु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्