एक टुक्रा जीवन: कुलचन्द्र गौतम

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-07-10 05:31:18

कुलचन्द्र गौतम, सहायक महासचिव/ संयुक्त राष्ट्रसंघ

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसंघको सेवा निवृत्त सहायक महासचिव हुनुहुन्छ । संयुक्त राष्ट्रसंघमा सबैभन्दा माथिल्लो ओहदामा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । गौतमको जन्म गुल्मी जिल्लाको अमरपुर गाउँमा २००६ साल मंसिर ६ गते भएको हो । उहाँका पिता ओमप्रसाद र माताको नाम हिमा गौतम हो । उहाँ पहिलो सन्तान हो । उहाँका ३ भाइ र ४ बहिनी छन् ।

गौतमले लामो समय संयुक्त राष्ट्र संघमा काम गर्नुभयो । सन् १९७३ बाट कम्बोडियामा युनिसेफको कार्यक्रम अधिकृतबाट गौतमको करियर शुरु भएको हो । त्यसपछि इन्डोनेसिया (१९७५—१९७९) कार्यक्रम अधिकृत, सन् १९७९ को अन्त्यतिर लाओसमा युनिसेफको कन्ट्री रिप्रिजेन्टेटिभ भएर ३ वर्ष जति काम गर्नुभयो । त्यो बेला उहाँको उमेर २७ वर्षको मात्र थियो ।

पश्चिम अमेरिका हैटीमा युनिसेफको कन्ट्री रिप्रिजेन्टेटिभ भएर ३ वर्ष काम गर्नुभयो । कामप्रतिको इमान्दारिताका कारण उहाँको वृत्ति विकास चाँडो हुँदै गयो । पछि उहाँ न्युयोर्कबाट ल्याटिन अमेरिका र क्यारेबियन मुलुक हेर्ने विभागको प्रमुख हुनुभयो । न्युयोर्कमा काम गर्दै जाँदा उहाँ युएनको कार्यक्रम निर्देशक हुनुभयो । केही समय काम गरेपछि उहाँले बैंककमा एसिया प्यासिफिकको क्षेत्रीय निर्देशक भएर काम गर्नुभयो ।

सन् २००० मा न्युयोर्क फर्किएपछि उहाँ संयुक्त राष्ट्र संघको सहायक महासचिव र युएनको डिप्युटी एक्ज्युकेटिभ डाइरेक्टर हुनुभयो । त्यही पदबाट सन् २००७ को डिसेम्भरतिर उहाँ सेवा निवृत्त हुनुभयो । आफ्नो रिटायर्ड जीवनपछि गौतम करिब ८ वर्षजति नेपाल बस्नुभयो । अहिले नातिनातिनीहरुको हेरचाहसँगै बैंककमा बस्नुहुन्छ । बेलाबेलामा नेपाल आइरहनुहुन्छ । गौतमले अहिले पनि धेरै सामाजिक संस्थाहरुमा रहेर काम गरिरहनुभएको छ ।

विश्वका धेरै देश पुगेका गौतमले विश्व चर्चित सम्मान पाउनुभएको छ । संयुक्त राष्ट्र संघको सहायक महासचिव भएपछि उहाँका दुवै मिर्गौला विफल भए ।

सन् २००५ मा न्युयोर्कमा गौतमको मिर्गौला प्रत्यारोण गरिएको हो । उहाँकी बहिनी रमा भूषालले आफ्नो दाइका लागि मिर्गौला दान गर्नुभएको थियो ।

जनस्वास्थ्य सरोकारसँग कुल चन्द्र गौतमले गर्नुभएको कुराको सार संक्षेप उहाँको आफ्नै भाषामा यहाँ प्रस्तुत गरेका छौं ।
म अहिले ७१ वर्षको भएँ । मेरो मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष भयो । सक्रिय जीवन बिताइरहेको छु । औषधि र खानपानको सन्तुलन मिलाएर राख्न सकेको अवस्थामा मिर्गौला प्रत्यारोपण गरेका मानिस लामो समय बाँच्न सक्छन् । औषधि मिलाउन नसकेको अवस्थामा धेरैको चाँडै ज्यान गएको पनि देखेको छु । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले इम्युनोसप्रेसन औषधि नियमित र सन्तुलित रुपमा सेवन गर्नुपर्छ र आफूले सेवन गरिरहेको औषधिको मात्रा मापनका लागि बेलाबेलामा ट्याक्रोलिमस टेष्ट गरिरहनुपर्छ ।
आरोग्य प्रतिष्ठानमा सम्मिलित हुनुको एउटा कारण मेरो मिर्गौला प्रत्यारोपण पनि हो ।
नेपालमा २००८ बाट मिर्गौला प्रत्यारोपण शुरु भइसकेको भएपनि अंगदान गर्ने व्यक्ति र अंग लिने व्यक्तिको मिर्गौला म्याच गर्छ कि गर्दैन भनेर हेर्न गरिने रगत जाँच ‘एचएलए टेष्ट’ गर्न भारत पठाउनुपर्दथ्यो । कतिपय अवस्थामा भारतमा एचएलए टेष्ट गर्न लामो समय लाग्ने र विश्वसनीय रिपोर्ट नआउने कारणले धेरैलाई समस्या पारेको थियो ।

न्युयोर्कको मेरो मिर्गौला प्रत्यारोपण गर्ने सर्जनले भारतमा गरिएको एचएलए टेष्ट मान्य नहुने बताएपछि २४ घण्टाभित्र न्युयोर्कको ल्याबमा बहिनीको रगत पुर्याउन मैले निकै कष्ट झेल्नुपरेको थियो । मेरो र बहिनीको अंग म्याच हुने भएपछि बहिनीलाई न्युयोर्क झिकाएर मैले मिर्गौला प्रत्यारोपण गरेको थिएँ । एचएलए टेष्ट चिठ्ठा जस्तै हुन्छ । अंगदान गर्ने व्यक्ति र अंग लिने व्यक्तिको मिर्गौला म्याच गर्न पनि सक्छ नगर्न पनि सक्छ । यसबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिले धेरै दुःख पाइरहेका थिए ।

संयुक्त राष्ट्र संघको सहायक महासचिवबाट निवृत्त पाइसकेपछि सन् २००८ को अन्त्यतिर नेपाल आएको थिएँ । डा. पुकार चन्द्र श्रेष्ठले बीर अस्पतालमा २००८ को डिसेम्बर १२ मा मिर्गौला प्रत्यारोपण शुरु गरिसक्नुभएको थियो । नेपाल फर्किएपछि चर्चित नेपाली गायिका आनी छोइङ डोल्मासँग भेट भयो । उहाँको आमा मिर्गौला फेल भएर बितेकाले नेपालमा केही गर्न चाहनुहुन्थ्यो । मैले पनि मिर्गौला प्रत्यारोपण गरेकाले नेपालमा केही गर्न चाहन्थेँ । त्यसपछि डा. पुकारसँग सल्लाह गर्यौं । उहाँको सहकार्यमा नेपालमा आरोग्य प्रतिष्ठान नामको संस्था स्थापना गर्ने निर्णय भयो । यो प्रतिष्ठानमा चर्चित मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि आवद्ध हुनुभयो ।

शुरुमा प्रतिष्ठानमा करिब एक करोड ५० लाख जति खर्च गरेर एचएलए ल्याब सञ्चालनमा ल्यायौं । धेरै काम नआउने र नाफा नहुने भएकाले निजी र सरकारी दुवैले नेपालमा एचएलए ल्याब स्थापना गर्न चासो दिएका थिएनन् । तर हामीले भारतमा ६५ हजार भा.रु. पर्ने एचएलए टेष्ट ३५ हजार रुपियाँमा नेपालमै उपलब्ध गराउन सफल भयौं । भारतमा आउने जाने र त्यहाँ बस्ने खर्च सबै जोड्दा एउटा एचएलए टेष्टका लागि १ लाख रुपियाँ लाग्ने गर्दछ ।
मिर्गौला प्रत्यारोपण गरिसकेपछि पनि ढुक्क हुँदैन । इम्युनोसप्रेसनलगायतका महँगा औषधि सेवन गर्नुपर्छ ।

शरीरमा औषधिको मात्रा मात्रा घटबढ हुन हुँदैन । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शरीरमा औषधिको तह हेर्ने परीक्षणलाई ट्याक्रोलिमस टेष्ट भनिन्छ । मिर्गौला प्रत्यारोपण गरेको शुरुका दिनहरुमा हरेक हप्ता, त्यसपछि १५ दिन र त्यसपछि ३ महिना र स्टेबल भएपछि ६ महिनामा एकपटक ट्याक्रोलिमस टेष्ट गराइरहनुपर्छ । शरीरमा औषधिको मात्रा सन्तुलन नभएमा मानिसको ज्यान पनि जानसक्छ । ट्याक्रोलिमस टेष्टपछि औषधिलाई पुनः सन्तुलन गर्नुपर्छ । म नेपाल आएको बेला ट्योक्रोलिमस टेष्ट गर्न भारत पठाएको थिएँ । टेष्ट भरपर्दो आएन । मिर्गौला प्रत्यारोपण गरेका न्युयोर्कका डाक्टरले भारतमा गरेको ट्याक्रोलिमस् परीक्षण विश्वसनीय र भरपर्दो नभएको बताए । त्यसपछि हामीले आरोग्य प्रतिष्ठानमा ट्याक्रोलिमस टेष्टको पनि सुविधा उपलब्ध गरायौं ।

जीवनमा सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ । आफू र आफ्नो परिवारको हेरचाह गर्ने काम जनावरले पनि गर्छ । आफ्नो आधारभूत आवश्यकता पूर्ति त हुनुपर्छ । तर मानव भइसकेपछि ‘समाजको सेवा गर्नुपर्छ’ भन्ने मेरो मान्यता छ । मैले १९७३ मा युनिसेफमा काम शुरु गर्दा विश्वमा पाँच बर्ष मुनिका दैनिक ४४ हजार बालबालिकाको ज्यान जाने गर्दथ्यो । यो अनुपातमा प्रति वर्ष १ करोड ६० लाख पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुन्थ्यो । यसरी धेरै बालबालिका मर्नुको पछाडि शुद्ध पिउने पानीको अभाव, डायरीया, कुपोषण, इम्युनाइजेसन भ्याक्सिनेसनको अभाव थियो । यसलाई सामान्य तरिकाबाट न्युनिकरण गर्न सकिन्छ भन्ने मान्यतास्वरुप युनिसेफले विश्वव्यापी रुपमा चाइल्ड सभाईभल रिभोलुसन ल्याएको थियो । त्यसमा मैले पनि सहभागिता हुने मौका पाएको थिएँ ।
अहिले नेपाललगायत विश्वमा बालबालिकाको मृत्युदर ह्वात्तै घटेर आयो । युएनको मिलिनियम एण्ड डेभलप्मेन्ट गोलमा पनि यसैलाई महत्व दिइएको थियो । बालबच्चाको ज्यान बचाउन, उनीहरुलाई रोगबाट मुक्ति गराउन, कुपोषण घटाउन र शैक्षिक क्षेत्रको विकास लागि जीवनभर काम गरेँ । अहिले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा छु । विगतको तुलनामा अहिले सरुवा रोग घटेर गयो । तर नसर्ने रोगको प्रभाव ठूलो छ । धनि देशहरुमा ७० प्रतिशत बिरामी नसर्ने रोगका कारण हस्पिटल भर्ना गरिएको देखिएको छ । नसर्ने रोगमा विशेष ध्यान दिनुपर्ने अहिलेको आवश्यकता छ ।

कुलचन्द्रको आँखाको डा. पुकारः

असम्भवलाई सम्भव बनाउने एक अभियन्ता
आरोग्य प्रतिष्ठानको मुख्य एजेन्डा नै एचएलए ल्याबको स्थापना, ट्याक्रोलिमस टेष्टको सुविधा र आफन्तले मिर्गौला दान नदिएको अवस्थामा मुलुकमा मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानको ऐन बनाएर काम अघि बढाउने थियो । डा. पुकारले देशका सम्बन्धित बुद्धिजिवीहरुसँगको छलफल र ठूलो मिहिनेत गरेर असम्भव कामलाई सम्भव गराउनुभयो । डा. पुकारको नेतृत्वमा कमिटी बनेको थियो । त्यसमा म पनि सदस्य थिएँ । यसमा तत्कालीन स्वास्थ्य सचिव डा.प्रबिण मिश्रले धेरै सहयोग गर्नुभएको थियो । मुलुकमा प्रत्यारोपणजस्तो सोफोस्टिगेटेड काम हुने तर ल्याब जस्तो सिम्पल काम नहुने विडम्बना थियो ।
मस्तिष्क मृत्युपश्चात् अंगदान गर्ने कानुन नेपालमा बन्यो । यसमा डाक्टर पुकार चन्द्र श्रेष्ठको ठूलो योगदान छ ।
डा. पुकारले बेलायतको त्यस्तो राम्रो जागिर छोडेर नेपालीहरुको मायाले स्वदेश आउनुभयो । बेलायतमा उहाँ धेरै राम्रो गरिरहेको डाक्टर हुनुहुन्थ्यो । उहाँको करियर बेलायतमा राम्रो हुन्थ्यो । तर उहाँ नेपालमा केही गर्ने इच्छा बोकेर आएको र सोही अनुसार काम गरेको देखेको छु ।
सरकारी तहबाट स्वदेशमा सफल मिर्गौला प्रत्यारोपणको अभियान शुरु गर्नुभएका डा.पुकारको अभियानलाई मैले निकै सकारात्मक रुपमा हेरेको छु । नेपालमा राम्रो सुविधा हुँदा हुँदै पनि कमिसनको प्रलोभनमा कसैकसैले एचएलए टेष्ट र मिर्गौला प्रत्यारोपणका लागि बिरामीहरुलाई भारत पठाउने गरेको सुनेको छु । यो राम्रो होइन ।
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हुने गरेको प्रत्यारोपण सेवा वल्र्ड क्लासको छ । यहाँको सफलता दर ९९ प्रतिशत छ । अमेरिकामा पनि यति नै हो । यहाँ सस्तो र क्वालिटीको सेवा उपलब्ध छ ।
डाक्टर पुकार जेन्टल हुनुहुन्छ । उहाँ अति मिहिनेति डाक्टर हो । बिहानदेखि बेलुकासम्म खटेर काम गर्नुहुन्छ । कडा परिश्रमी र डेडिकेडेड हुनुहुन्छ । डाक्टर पुकारलाई सरकारी तलब भन्दा १० दोब्बर तलब दिने निजी स्वास्थ्य संस्थाबाट प्रस्ताव पनि आएको थियो । तर उहाँ निजीको आकर्षक तलबको प्रलोभनमा नपरी सरकारीस्तरबाट सेवा गरिरहनुभएको छ । पहुँच बिहीन विपन्न र गरिब जनताको उपचार सेवाका लागि योनिकै सुखद क्षण हो ।

    Comment Here!