Logo
|
Friday 29th March 2024
Logo

epaper

सर्पदंश उत्कर्षको बेला अस्पताल बन्द



उपचारका क्रममा एक बालिकाको मृत्युपश्चात् मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि तीन दिनदेखि सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ। सर्पदंशको बिगबिगी हुने मौसममा जनकपुर र वीरगंजबीचमा एकमात्र सुविधा–सम्पन्न उपचार केन्द्र बन्द हुँदा सर्पदंशपीडित बिरामी उपचारका लागि ढाढा जानुपर्ने बाध्यता सिर्जना भएको छ। समयमा सपंदंशको उपचार नहुँदा बिरामीको मृत्यु हुने जोखिम उच्च बनेको छ।

हरिवन नगरपालिका–९, नयाँरोडका पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदाको उपचार हुँदाहुँदै मृत्यु भएपछि गत असार २३ गते सोमबार राति अस्पतालमा तोडफोड भएको थियो। साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्र ल्मा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्त एवं स्थानीयले अस्पतालको भेन्टिलेटर, आइसियुलगायतका उपकरणसहित भवनको झ्यालका सिसा फुटाइदिएका थिए। उपचारमा संलग्न स्वास्थ्यकर्मीले मादकपदार्थ सेवन गरेका कारण उपचारमा लापरबाही भएकाले बालिकाले ज्यान गुमाउनुपरेको आफन्त एवं स्थानीयको आरोप छ।

गत जेठमा जडान गरिएको आइसियु, भेन्टिलेटरलगायत उपकरण सञ्चालन गर्न नमिल्ने गरी तोडफोड भएपछि अस्पताल सञ्चालन गर्न नसकिएको व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए। ‘तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेको छ, निकै दुःख गरेर भेन्टिलेटर तथा आइसियु जडान गरिएको थियो,’ अध्यक्ष काफ्लेले भने, ‘अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मीमाथि समेत कुटपीट भएपछि उपचार सेवा बन्द गर्न बाध्य भएका छौं।’ सर्पले दुई ठाउँमा टोकेको र सानी बालिका भएकाले उपचारमा जति प्रयास गरे पनि बचाउन नसकिएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अध्यक्ष काफ्लेले बताए।

सर्पदंशको प्राथमिक उपचार हुँदै आइरहेको नवलपुर स्वास्थ्य चौकीमा गत जेठमा मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको पाँच लाख गरी ३५ लाख रुपैंया खर्च गरेर आइसियु एवं भेन्टिलेटर जडान गरिएको थियो। उपकरण अभावमा मंगलबार बिहानै मात्रै पाँच जना सर्पदंशका बिरामी फर्काउनुपरेको अस्पताल व्यवस्थापनले जनाएको छ। अस्पतालले मंगलबार बिहानै सूचना प्रकाशित गरी उपचार सेवा बन्द भएको जानकारी गराएको छ। अध्यक्ष काफ्लेले अस्पतालमा प्रभावकारी सुरक्षा व्यवस्था तथा क्षति भएका उपकरणको वैकल्पिक व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासमक्ष आग्रह गरेका छन्।

सर्पदंशबाट बालकको मृत्यु
यसैबीच जिल्लाको दक्षिण–पश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका–२, खैर्वाका शङ्कर साहका १० वर्षीय छोरा चन्दन साहको सर्पदंशबाट मृत्यु भएको छ। घरमा खेलिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि रौतहटको गौरतर्फ लैंजादै गर्दा चन्दनको बाटैमा मृत्यु भएको हो। महिना दिनयता जिल्लाका मलंगवा, कौडेना, हरिवन, घारीबथान र रामनगरमा सर्पले डसेर पाँच जनाको मृत्यु भइसकेको छ।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बालिकाको मृत्यु एवं अस्पतालमा तोडफोड भएको घटना छानबिन गर्न बिहीबार समिति गठन गरिएको छ। घटनाबारे सत्यतथ्य बुझी दोषीलाई कारवाही गर्न छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

लालबन्दी नगरपालिकामा भएको सर्वपक्षिय छलफलबाट पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। सदरमकाम मलंगवास्थित जिल्ला अस्पताल मलंगवाका डा। रूपेश यादवको संयोजकत्वमा गठित समितिमा इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दीपककुमार आचार्य, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, सर्पदंश उपचार केन्द्रका अध्यक्ष बोधराज काफ्ले र मृतक बालिकाको आफन्तका तर्फबाट ईश्वर कार्की सदस्य रहेका छन्। समितिले घटनाको छानबिन गरी एक साताभित्र प्रमुख जिल्ला अधिकारी राउतसमक्ष प्रतिवेदन बुझाउने र घटनामा दोषी देखिएकालाई कारबाही गर्ने निर्णय भएको छ।

छलफलमा प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खड्का, हरिवन नगरपालिका प्रमुख गणेशप्रसाद प्रसाई, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेना रणशेर गण पाँचकुमारी ब्यारेकका गणपति मीनराज तिवारी, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेल, सर्पदंश उपचार केन्द्रका अध्यक्ष बोधराज काफ्ले, मृतक बालिकाका आफन्तलगायतको उपस्थिति थियो। नागरीक न्युजबाट

प्रतिक्रिया दिनुहोस्