Logo
|
Friday 19th April 2024
Logo

epaper

योग्यताका आधारमा डाक्टरको परामर्श शुल्क बढ्दै



सरकारले चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गर्ने भएको छ । मुद्रास्फीति र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा ५ वर्षपछि शुल्क पुनरावलोकन गर्ने तयारीमा लागेको हो ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको शुल्क पुनरावलोकन सिफारिस कार्यदलको बैठकले चिकित्सकहरुको योग्यता र अनुभवका आधारमा शुल्क बढाउने प्रस्ताव गरेको हो ।
मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा चिकित्सक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन), नेपाल मेडिकल काउन्सिल सहितको समितिको बैठकले शुल्क बढाउने प्रक्रिया अघि बढाएका हुन् ।

कस्ले जाँच्दा कति?
-एमबीबीएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको ३३५
रुपैयाँ
-एमबीबीएस गरेर ५ वर्षको अनुभवपछि ३९० रुपैयाँ
-एमबीबीएस गरेर फेलोसीप गरेको चिकित्सक ५३५ रुपैयाँ
-५ वर्षभन्दा कम अनुभव भएको एमडी (विशेषज्ञ) पास चिकित्सक ५९० रुपैयाँ
-एमडी गरी ५ वर्षभन्दा बढी अनुभव भएको चिकित्सकले ६३५ रुपैयाँ

छलफलमा देवकोटासहित, संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, अफिनका अध्यक्ष वसन्त चौधरी, नेपाल मेडिकल काउन्सिका कार्यवहाक अध्यक्ष डा. नारायण विक्रम थापालगायतको उपस्थिति थियो । ०७१ सालमा खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा संघको माग अनुसार शुल्क निर्धारण भएको थियो । त्यसबेला एमबीबीएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको २५० रुपैयाँ, ५ वर्ष अनुभव भएपछि ३०० रुपैयाँ, एमबीबीएसपछि फेलोसिप गरेकाले ४०० रुपैयाँ, विशेषज्ञ चिकित्सकलाई ४५० रुपेयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञले ४७५ रुपैयाँ परामर्श शुल्क लिन पाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्