Logo
|
Friday 29th March 2024
Logo

epaper

व्यवस्थित गर्नैपर्छ



डा. प्रविण मिश्र/ पूर्व स्वास्थ्य सचिव

बि.सं.२०६५ सालतिर वीर अस्पतालको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयले मलाई निमित्त डाइरेक्टरको जिम्मेवारी दिएको थियो । करिब ३–४ महिनाजति निमित्त डाइरेक्टरका रुपमा काम गरेँ र समस्या समाधान गरेँ ।
त्यो बेला बेलायतबाट नेपाल आएको बेला डाक्टर पुकार चन्द्र श्रेष्ठसँग भेट भयो । उहाँ बीर अस्पतालमा पहिला पनि काम गर्नुहुन्थ्यो । उहाँ जस्ता दक्ष व्यक्तिलाई नेपालमा रोक्नुपर्छ भन्ने ठानेँ र नेपालमा मिर्गौला प्रत्यारोपण शुरु गर्न आग्रह गरेँ । उहाँ राजी हुनुभयो । डा. पुरकार उहाँको टिमबाट वीर अस्पतालमा २००८ डिसेम्भर १२ मा पहिलोपटक मिर्गौला प्रत्यारोपण भयो । त्यति बेला म बीर अस्पतालको डाइरेक्टर भइसकेको थिएँ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत जुटाउन डाक्टर पुकारलाई मद्धत गरेँ । उहाँले सफल प्रत्यारोपण गर्दै जानुभयो ।

तर बीर अस्पतालको सर्जरी विभाग निकै साँघुरो भएका कारण सोचे अनुसारको मिर्गौला प्रत्यारोपण हुन सकेको थिएन । सक्नेहरु विदेश जान्थे । नसक्नेहरु स्वदेशमा मर्नुको विकल्प थिएन । मिर्गौला प्रत्यारोपणका लागि करोडौं रुपियाँ विदेशिरहेको थियो । वीर अस्पतालको डाइरेक्टरबाट म स्वास्थ्य मन्त्रालयको सचिव भएपछि मुलुकमा छुट्टै मिर्गौला प्रत्यारोपण गर्ने केन्द्र खेल्नुपर्छ भन्ने लाग्यो । डाक्टर पुकारको साथ र सहयोग भएपछि हामीले छुट्टै मानव अंग प्रत्यारोपणलाई प्रभावकारी अघि बढाउन सकिने र प्रत्यारोणका लागि विदेशीने ठूलो धनराशी रोक्न सकिने महसुस भयो ।

यसका लागि मन्त्रीहरु पनि आश्वस्त हुनुभयो । त्यसपछि भक्तपुर जिल्ला अस्पतालमा बनेको एउटा खाली भवनबाट काम गर्न योजना बनाइयो र काम शुरु भयो । यसको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी डाक्टर पुकारलाई सुम्पियो । अहिले यो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नाममा परिचित छ । अहिले पनि डा. पुकारले निकै उत्साहित भएर काम गरिरहनुभएको छ ।
मुलुकमा मानव अंग प्रत्यारोपणका क्षेत्रमा डाक्टर पुकारले निकै मिहिनेत गर्नुभएको छ । उहाँले गरेजति अरु कसैले पनि गर्न सक्दैन । प्रत्यारोपणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधि भित्र्याउने काम उहाँको सक्रियतामा भयो । मैले पनि सक्दो सहयोग गरेँ । डाक्टर पुकारको चाहना र देशभक्तिको भावले आज केन्द्रबाट ६ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण, ४ जनाको कलेजो प्रत्ययारोपण भइसकेको छ । यति मात्र नभई डाक्टर पुकारको सक्रियतामा मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानलेसमेत कानुनी रुप धारण गर्यो । अब मस्तिष्क मृत्यु भएका कुनै पनि व्यक्तिको मिर्गौला, कलेजो, फोक्सो, मुटु, प्याँक्रियाज, सानो आन्द्रा, छाला प्रयोग गरेर ८ जनाको ज्यान जोगाउन सकिन्छ ।

डाक्टर पुकारमा सर्जनमा हुनुपर्ने पूर्ण ज्ञान र सीप छ । बिरामीलाई गर्ने व्यवहार राम्रो छ । उहाँ इमान्दार, लगनशील र मेहनती सर्जनका रुपमा देखिनुभएको छ । त्यसैले छोटो समयमा केन्द्र माथि आउन सफल भएको हो ।
मिर्गौला विफल भएका व्यक्तिलाई डायलाईसिस गर्न टाढाबाट राजधानीसम्म आउन सम्भव थिएन । म स्वास्थ्य सचिव भएको बेला हरेक अञ्चल अस्पतालमा डायलाइसिस सेन्टर खोल्न डाक्टर पुकारलाई जिम्मवारी दिएको थिएँ । अहिले लगभग सबै अञ्चल अस्पतालमा डायलाइसिस सेवा उपलब्ध छन् । मस्तिष्क मृत्यु पश्चात् गरिने अंगदानसम्बन्धि कानुन निर्माणको प्रक्रिया र प्रत्यारोपण ऐन परिमार्जन गर्ने थालनी मेरो पालामा शुरु भएको थियो ।
मानिसको जीवनको सवालमा गर्ने कुनै पनि निर्णय गर्न ढिला गर्नुहुँदैन । केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण श्रोत साधानको पूर्तिका लागि मैलै कहिल्यै पनि ढिलासुस्ती गरिनँ । तुरुन्त निर्णय लिएर फाइल अघि बढाउथेँ । देशको एजेन्डा नै मेरो एजेन्डा जस्तो लाग्थ्यो ।

हाम्रो देशमा हरेक वर्ष तीन हजार व्यक्तिको मिर्गौला विफल हुने भएकाले उनीहरुमा मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । तर यो हुन सकिरहेको छैन । मुलुकमा मिर्गौला प्रत्यारोपण नभएपछि सकिनसकी आफ्नो जायजेथा सबै बेचेर उपचारका लागि विदेशिन्छन् । करोडौं पैसा बाहिरिन्छ । बिरामी र उसका परिवारले सास्ती पाउँछन् । त्यसैले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई व्यवस्थित गरे अघि बढाउन सकेको अवस्थामा मुलुकलाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्