Logo
|
Saturday 20th April 2024
Logo

epaper

बर्खायामः सरुवा रोगबाट कसरी बच्ने ?



बर्खायाम सुरु भइसकेको छ । वर्षायामसँगै विभिन्न किसिमका पानीजन्य रोगको संक्रमण बढि हुने गरेको पाइन्छ । अस्पतालमा बिरामीहरुको चाप बढ्दो छ । वर्खायामलाई रोग सरुवारोग भित्र्याउने मौसम पनि भनिन्छ । खानेपानीको स्रोतमा ढल मिसिने, जताततै हिलो, फोहोर हुने, खानेकुरा चाडै सड्ने, गल्ने भएकाले रोगका जीवाणु चाँडै फैलिन सक्ने चिकित्सकहरुको भनाइ छ ।
बर्खायाममा टाइफाइड, झाडापखाला, हैँजा जस्ता पानीजन्य रोगको संक्रमण बढि देखिने गरेको छ । दुषित पिउने पानी र खानेकुरा खाँदा यस्ता रोगको संक्रमण हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउनुहुन्छ ।

वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुन

टाइफाइड
टाइफाइड दुषित पानी, खानेकुरा, संक्रमित व्यक्तिको दिसाबाट सर्ने सरुवा रोग हो । यो सालमोनेला टाइफी र सालमोनेला प्याराटाइफी जीवाणुको माध्यमबाट सर्छ । टाइफाइड नगराउने कीटाणुलाई नन् टाइफाइडल सालमोनेला भनिन्छ । डा. पुन भन्नुहुन्छ — ‘दूषित पिउने पानी, खाना खानुपूर्व राम्ररी हात नधुँने, स्वच्छता नअपनाउँने र जथाभावी खाना खानाले टाइफाइड हुने गरेको पाइन्छ ।’ डा. पुनका अनुसार टाइफाइड भएपछि असाध्यै ज्वरो आउँने र शरीरको सबै हिस्सामा पीडा हुन थाल्छ । टाइफाइड भएको तेस्रो हप्ता कट्दा पनि बिरामीले उपचार पाएन भने आन्द्रामा प्वाल परेर बिरामीको ज्यान समेत जान सक्ने उहाँको भनाइ छ ।
लक्षण
–ज्वारो आउने ।
–पेट दुख्ने ।
–वान्ता हुने ।
– विविरा जस्तो देखिने ।
– पखाला लाग्ने ।

उपचार
डाक्टरको सल्लाह अनुसार जीवाणु मार्ने एन्टिबायोटिक औषधि खानुपर्छ । प्रशस्त तरल पदार्थ पिउनुपर्छ । तोकिएकोे अवधिसम्म औषधि नबिराई सेवन गर्नुपर्छ ।

टाइफाइडबाट बच्ने उपायहरू
–प्रदुषित खानेकुरा नखाने ।
–उमालेको पानी पिउने ।
–ढलको उचित व्यवस्थापन गरी मिसावट कम गर्ने ।
–उच्च जोखिम भएको क्षेत्रमा जाँदा भ्याक्सिन लगाउने ।
–संक्रमण बाहिर फैलन नदिन उपचारमा संलग्न स्वास्थ्यकर्मीले विशेष ध्यान दिने ।

झाडापखाला
एक दिनमा तिन पटक वा सो भन्दा बढि पातलो दिसा जानुलाई झाडापखाला लागेको भन्ने बुझिन्छ । झाडापखाला दुषित पानी र खानेकुरा खाँदामा आँखाले देख्न नसक्ने सा–साना जीवाणुबाट लाग्छ । डा. पुनका अनुसार झाडापखाला लागेका बिरामीलाई जलवियोजन हुन सक्छ । जसले मल्टि अर्गान फेर्लियर गराउँछ । मिर्गौला लगायताका अन्य महत्वपुर्ण अंगलाई असर पु¥याउँन सक्छ । समयमा उपचार नपाए बिरामीको ज्यान समेत जानसक्छ ।
लक्षण
–दिनमा ३ पटक भन्दा बढी दिसा लाग्ने ।
–बान्ता हुने ।
–शरीरमा पानीको मात्रा कम हुँदै जाने ।
–आँखा गड्ने ।
–पिसाब थोरै हुने ।
–बिरामी शिथिल हुँदै जाने ।
–बच्चाले दुध चुस्न नसक्ने ।
–रुँदा आँसु नआउने ।
–पेट दुख्ने ।
–मांसपेशी बाँउडिने
झाडापखालाबाट बच्ने उपायहरु 
–साबुन पानीले मिचिमिचि हात धुने बानी बसाल्ने ।
–राम्ररी पाकेको खानेकुरा मात्र खाने ।
–पानी शुद्धिकरण गरेर पिउने ।
–ताजा खानेकुरा खाने ।
–खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।
–काँचै खाने तरकारी तथा फलफूल राम्रोसँग पखालेर मात्र खाने ।
–शौचालयमा मात्रै दिसापिसाब गर्ने ।
–फोहारमैलालाई उचित तरिकाले विसर्जन गर्ने ।
बच्ने उपाय ?
बर्खायाममा पिउने पानी र खानपानमा विशेष ध्यान पु¥याउनु पर्छ । पानीलाई उमालेर या अन्य शुद्धिकरण गरेरमात्र पिउनुपर्छ । डा. पुण भन्नुहुन्छ –‘बजारबाट किनेर ल्याएको जारको पानीलाई पनि राम्रोसँग शुद्धिकरण गरेर मात्र पिउनुपर्छ । पानीलाई उमालेर पिउनुपर्छ । पानी उमाल्दा खल्लो हुन्न भन्ने भ्रममा पर्नु हुदैँन । ’ बढि झोलिला पदार्थहरु सेवन गर्नुपर्छ । गर्मीमौसम भएकाले खानेकुरा चाँडै सड्ने गल्ने हुन्छ । बासी खानेकुरा खानुहुँदैँन । गाँजर, मुला तथा फलफुललाई राम्रोसँग पखालेर मात्र खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्