Logo
|
Friday 29th March 2024
Logo

epaper

त्रि.बि.शिक्षण अस्पताल ३७ वर्षमाः प्रगतिको प्रतिवेदन ठीक, वेडको अभावले बिरामी फर्कनुपर्ने बाद्यता बेठिक



त्रि.बि.शिक्षण अस्पताल ३७ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पताल मित्र राष्ट्र जापान सरकारको सहयोगमा बि.सं.२०४० सालमा स्थापना भएको थियो । यसैगरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले पनि ४७ वर्ष पूरा गरेको छ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा तीर्थ खनीयाको प्रमुख आतिथ्यमा भएको सो बार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेति, आईओएमका डिन प्रा.डा. जगदीश अग्रवाललगायत अस्पतालका सयौं कर्मचारीको उपस्थिति रहेको थियो ।

३०१ वेड क्षमताबाट शुरु भएको अस्पताल हाल करिब ७०० वेड क्षमतामा सञ्चालन भइरहेको छ । त्रि.बि.शिक्षण अस्पतालले नेपालमा स्वास्थ्य शिक्षा र स्वास्थ्यपोचार सेवाको क्षेत्रमा आधारभूत एवं अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । उपचार सेवा एवं चिकित्सा शिक्षा अध्ययन अध्यापनको प्रमुख जिम्मेवारी बोकेको अस्पताल नेपाली जनताको भरोसा र विश्वासको केन्द्र बनेको छ । यद्यपी अस्पतालमा नियमित उपचार गराउन आउने बिरामीहरुको संख्या पनि बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४/२०७५ मा उपचार गराउन आउने बिरामीको संख्या (बहिरंंग तर्फ) ५ लाख ८ हजार ५ लाख ८ हजार ३ सय ३१ रहेकोमा आर्थिक वर्ष २०७५/२०७६ मा ५ लाख २५ हजार ५ सय ११ पुगेको छ ।
यसैगरी अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीहरुको संख्या बार्षिक २५ हजार १२ बाट बढेर आर्थिक वर्ष २०७५/०७६ मा २५ हजार ८ सय ४५ पुगेको छ ।
इमर्जेन्सी सेवाका लागि गत वर्षको तुलनामा ४८ हजार ८ सय ५७ बाट बढेर आर्थिक वर्ष २०७५/०७६ मा ५० हजार ३ स य ६९ पुगेको छ । यसैगरी अस्पतालको फार्मेसीबाट गत आर्थिक वर्षको तुलनामा यस वर्ष बिक्रीमा बृद्धि भएर १९ करोड ७६ लाख ११ हजार रुपियाँ पुगेको छ जबकि गत आर्थिक वर्षमा १४ करोड ३० लाख ७५ हजार रुपियाँको मात्र औषधि बिक्री भएको थियो ।

तर अस्पतालमा पुग्ने सबै बिरामीले उपचार सेवा पाउन सकेका छैनन् । त्रि.बि.शिक्षण अस्पतालको आकस्मिक कक्षमा मात्र दैनिक डेढ सय बिरामी दैनिक आउने गरेका छन् । आकस्मिकमा शैया नपाएर एउटै बेडमा दुई जना राखेर पनि उपचार गर्नुपर्ने बाद्यता छ । कतिपयलाई ट्रलीमा सुताएर उपचार गर्नुपर्छ । यो चाहिने भन्दा धेरै चाप हो । अहिले त्रि.बि.शिक्षण अस्पतालको इमर्जेन्सी विभागमा करिब ७० वेड रहेको छ । अस्पताल आएका सबै बिरामी भर्ना गर्न सकिँदैन किनभने अस्पतालमा सिमिति वेड छन् । बिरामीको चाप अनुसार वेडको सुविधा छैन । अस्पताल आइसकेपछि बाहिर जान अधिकांश बिरामीहरुलाई सहज पनि छैन ।

पहुँचबाहिर बिरामी
त्रि.बि.शिक्षण अस्पतालमा जम्मा सात सय वेड रहेको छ । ओपिडी बिरामी दैनिक २ हजारको हाराहारीमा हुने गरेको छ । त्यसबाहेक करिब ५ सयले इक्सटेन्डेड हेल्थ सर्भिस (इएचएस) मा ओपिडि सेवा लिने गर्छन् । करिब दैनिक १ सय जना डिस्चार्ज र १ सय बिरामीको भर्ना हुने गर्छ । अस्पताल आएका कतिपय बिरामीहरु क्षमताको पहुँचभन्दा बाहिर छन् ।

कसरी कम गर्ने चाप ?
देशका विभिन्न ठाउँमा सुविधासम्पन्न हस्पिटल बनाउनुपर्छ । ति ठाउँमा चिकित्सक जाने वातावरण बनाउनुपर्छ । ठाउँ अनुसार इन्टेन्सिभ दिनुपर्छ । अनि मात्र बिरामीको चाप न्यूनिकरण गर्न सकिने अस्पतालका निर्वमान कार्यकारी निर्देशक प्रा.डा.दिपक प्रकाश महरा बताउनुहुन्छ ।

समुदायमा स्वास्थ्य सेवद्दाको पहुँच
समुदायमा ९० प्रतिशत मानिसको बसोबास छ । तर स्वास्थ्य सेवा ९० प्रतिशत शहरी क्षेत्रमा मात्र केन्द्रित छन् । यद्यपी स्वास्थ्य सेवाको पहुँच र जनसंख्याको अनुपात उल्टो छ । त्यसैले समुदाय तहमा स्वास्थ्य सेवाको पहुँच बढाउन जरुरी भएको प्रा.डा. महराको भनाइ छ ।

कता छ सरकार ?
अहिले त्रि.बि.शिक्षण अस्पतालमा दरबन्दीको अभाव छ । यो अस्पताल त्रि.बि.शिक्षण अस्पताल शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित निकाय हो । यहाँ सम्पूर्ण सेवा उपलब्ध छ । त्रि.बि.शिक्षण अस्पतालको सेवाको स्तर विकासका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत नेपाल सरकारले जिम्मेवारी लिनुपर्छ । यो जनशक्ति उत्पादन गर्ने अस्पताल पनि भएकाले शिक्षामन्त्रालय, विश्वविद्यालय अन्तर्गत नेपाल सरकारले स्तरीय जनशक्ति उत्पादन गर्ने, रिसर्च र एकेडेमिकको गुणस्तर बढाउन जिम्मेवारी लिनुपर्छ ।

स्वास्थ्य र शिक्षाको जुहारीले पीडित
तर स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको जुहारीका कारण त्रि.वि.शिक्षण अस्पतालको स्तर विकास हुन सकेको छैन । शिक्षा मन्त्रालयले अस्पताल भएकाले यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिनुपर्ने बताउँछ । स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयअन्तर्गत भएकाले यसको जिम्मेवारी शिक्षा मन्त्रालयले लिनुपर्ने बताउँछ । यसले यो अस्पताल सा¥ह«ै पीडित छ ।

अस्पताल ठूलो भएर मात्र हुन्न
त्रि.बि.शिक्षण अस्पताल देशको ठूलो र उत्कृष्ठ अस्पताल हो । यो अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत नभएपनि मन्त्रालय अन्तर्गतका सबै अस्पतालको तुलनामा धेरैलाई सेवा दिने अस्पतालमा पर्छ । सम्पूर्ण विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिने सरकारको कार्यक्रम धान्न सक्ने यो पूर्ण अस्पताल हो । बीर अस्पतालमा पेडियाट्रिक विभाग, आँखा विभाग, प्रशुति विभाग छैन । अस्पताल ठूलो मात्र भएर हुँदैन । सेवा विभाग नभएपछि कसरी सेवा दिन सकिन्छ ?

सहयोगको अपेक्षा
दुर्गमका अधिकांश विपन्न नागरिकको पहुँच हुँदैन । यो अस्पताल गरिब जनताका लागि हो भन्ने सबैले बुझ्न जरुरी छ । अस्पताल सुव्यवस्थितका लागि सबै राजनीतिक नेताहरुले पहल र सहयोग गर्नुपर्छ । यसप्रति सरकार गम्भिर हुनुपर्छ र सम्बन्धित निकायलाई जिम्मेवारी सुम्पिनुपर्छ । यसबाट सफलता प्राप्त गर्न सकिन्छ । नीति तर्जुमा गरेर कार्यक्रम सफल बनाउन सरकारको सहयोग बिना सम्भव हुन सक्दैन । निजीलाई त सरकारको सहयोग जरुरत पर्छ भने सरकारीलाई सरकारकाले सुनिश्चितता गर्नुपर्ने प्रा.डा. महरा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्