Logo
|
Thursday 25th April 2024
Logo

epaper

डुबान क्षेत्रमा सर्पसँगै विषालु कीराको बिगबिगी



kira

कमला नदीको पूर्वी तटीय क्षेत्रको डुबानग्रस्त स्थानहरूमा अहिले विषालु कीराको प्रकोप बढ्न थालेको छ ।
गत असार २७ र २८ गते कमला नदीमा आएको बाढीले पूर्वी तटमा पर्ने सिरहा नगरपालिका–६ र १२ को बसबिट्टा तथा सारस्वरमा रहेको सिंचाईको कल्भर्ट भत्काएपछि सिरहाको सारश्वर, बेल्हा, गम्हरिया, कठ्खोल्वा लगायतका वस्तीहरू डुबानमा छन् । ती क्षेत्रहरूमा अहिले विभिन्न किसिमका विषालु कीराको प्रकोप बढ्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, डुबानग्रस्त क्षेत्रमा मात्रै मङ्गलबारसम्म विषालु सर्पको डसाईबाट दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सारस्वरकी ५ वर्षीया सन्ध्या कुमारी साह र कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर बस्ने २३ वर्षीय तिलक बराल रहेका छन् ।
लगातारको वर्षा र बाढीका कारण माथिल्लो भागबाट सर्प बगेर आउने तथा दुलोभित्र रहेका सर्प पनि जमिन बाहिर आउने भएकाले प्रकोप बढेको सिरहा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बताउनुभयो । जिल्ला अस्पतालमा मात्र बाढीयता ५० जनाभन्दा बढी सर्पदंशका बिरामी आएको बताइएको छ । बाढीपछि दैनिक छ देखि नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।
‘सर्पले डसेको भनेर आउने गरेका छन् तर सबैलाई विषालु सर्पले मात्र डसेको पाइदैन’, डा. यादवले भन्नुभयो–विषालु सर्पले डसेकाको उपचार गराउदै पठाएका छौ, सर्पले डसेर अबेर ल्याइएको बिरामीको मात्र मृत्यु भएको छ ।
जिल्ला अस्पतालका अतिरिक्त नेपाली सेनाको चोहर्वा र वन्दीपुरस्थित सर्पदंश उपचार केन्द्र, लहानस्थित राउस्मारक अस्पतालमा पनि बिरामी जाने गरेकाले संख्या अझै धेरै हुन सक्ने डा. यादवले जनाउनुभयो । वर्षा र बाढीको समय अझै बाँकी रहेको अवस्थामा बिरामीको संख्यामा पनि बढोत्तरी हुने भएकाले सर्पदंशको औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन विभागसँग माग गरिएको उहाँले जानकारी दिनुुभयो ।
सर्पको अतिरिक्त बाढीपीडितलाई विच्छु, खजुरी तथा अन्य विषालु कीराले समेत पिरोलेको छ । बाढीले घरगोठ डुबाएपछि खान, बस्न र सुत्नेसम्मको जोहो गर्न नसकिरहेका बेला विषालु कीराले दुःख दिन थालेकोले थप समस्या भएको सिरहा बसबिट्टाका मञ्चित महराले दुखेसो पोख्नुभयो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले भने डुबानग्रस्त क्षेत्रमा संभावित बाढीको साथै जमिनमा घस्रिएर हिड्ने विषालु कीरादेखि बाढीपीडितलाई सतर्क रहन पटक पटक माइकिङ्ग गराइसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्