Logo
|
Thursday 18th April 2024
Logo

epaper

बिरामीको मृत्युपछि विराटनगर अस्पतालमा प्रदर्शन



शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएपछि विराटनगरको विराट नर्सिङ होम तथा विराटनगर अस्पताल तनावग्रस्त भएको छ।चिकित्सको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बन्यो। अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ। सुनसरीको बर्जु गाउँपालिका-१ की ३५ वर्षीय सुलोचनादेवी कामतको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

तर, उपचारमा चिकित्सकको लापरबाही भएको र मृत्यु भइसक्दा पनि अस्पतालले पैसा असुल्न खोजेको भन्दै चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा बिरामीका परिवारसँग अनावश्यक रुपमा गरिएको असुली बन्द हुनुपर्ने माग गर्दै आफन्त र स्थानीय बासिन्दाले अस्पताल परिसरमा प्रदर्शन गरेका गरे।

अस्पतालको मुल गेट बन्द गरेर आन्दोलन गरिएपछि अन्य बिरामीलाई उपचारका लागि अस्पताल ल्याउन पनि अवरोध पुगेको थियो। मृतकका आफन्त सुरज कामतका अनुसार असार ३१ गते अस्पतालमा भर्ना गरिएकी कामतको उच्च रक्तचापको असरले टाउकोमा रगत जमेको भन्दै गत शुक्रबार डा. विवेक बैद्य नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो।

शल्यक्रिया र उपचारमा चिकित्सकले ध्यान नदिँदा बिरामीको मृत्यु भएको उनको आरोप छ। उनले सोमबार राति मुटुको शल्यक्रिया गर्नुपर्ने भन्दै अस्पतालले बिरामीको परिवारसँग पैसा असुलेको बताए।

रकम लिएको केही बेरमै चिकित्सकले उपचार सफल नभएको र हृदयघातका कारण मृत्यु भएको भनेर परिवारका सदस्यलाई जानकारी गराएको सुरजले बताए। उनले शव बुझ्न मंगलबार परिवारका सदस्य जाँदा अस्पतालले फेरि बिरामीको मृत्यु नभएको र श्वास चलिरहेकको भन्दै पैसा असुल्न खोजेपछि आन्दोलन गर्नु परेको बताए।

त्यससँगै अस्पतालले उपचारवापतको तिर्न बाँकी रहेको रकम नदिएसम्म शव जिम्मा नलगाउने भनेपछि आफन्त विरोधमा उत्रिएका हुन्।

यसैबीच अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता निस्कर्षमा पुगेपछि परिवारका सदस्य शव बुझ्न राजी भएका छन्। अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले ब्रेनह्याम्रेजका कारण बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले गराएको र उपचारमा कुनै लापरबाही नभएको बताए। ‘अरु अस्पतालबाट रेफर हुँदै आएका कारण बिरामीलाई यहाँ ल्याउन पनि ढिला भइसकेको थियो,’ उनले भने, ‘शल्यक्रियापछि बिरामीलाई जे पनि हुन सक्छ भनेर अगाडि नै परिवारसँग सहमति लिएर नै शल्यक्रिया गरिएका कारण चिकित्सकको लापरबाही भनेर दोष लगाउन मिल्दैन।’

उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था राम्रो नभए पछि मृत्यु पनि हुनसक्ने जानकारी शल्यक्रिया अघि नै परिवारलाई गराइएको थियो। विडानीले शल्यक्रिया गरिएकी महिलाको मंगलबार बिहान ९ बजे मृत्यु भएको र अन्य रकम असुल्ने कुनै मनसाय अस्पतालको नरहेको बताए।

मृतक पक्षसँग भएको वार्तामा अस्पतालले उपचार वापत तिर्न बाँकी रहेको ८० हजार रुपैयाँ छुट गरिदिने सहमति भएको उनको भनाइ छ। ‘उपचारको दुई लाख ४५ हजार रुपैयाँ तिर्नुपर्ने रहेछ,’ विनाडीले भने, ‘अस्पतालले ८० हजार छुट गरिदिएर मृतक परिवारले एक लाख ६५ हजार तिर्ने सहमति भयो।’ अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्