Logo
|
Friday 19th April 2024
Logo

epaper

हेपाटाइटिसबाट प्रत्येक वर्ष १० लाखको मृत्यु:विश्व स्वास्थ्य संगठन



सन्दर्भ: अन्तर्राष्ट्रिय हेपाटाइटिस दिवस

मानव शरीरमा कलेजो एक महत्वपूर्ण अङ्ग हो । ‘हेपा’ अर्थात कलेजो र ‘टाइटिस’ अर्थात सुजन (सुन्निने) । कलेजो सुन्निएको अवस्थानै हेपाटाइटिस हो । विभिन्न किसिमका जीवाणुको संक्रमण, औषधिको प्रयोग लगायतका कारणले हेपाटाइटिस संक्रमण हुन सक्छ । बिरामीको समयमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुन सक्ने चिकित्सकहरु बताउछन् ।

हेपाटाइटिस ए, बी, सी, डी र ई हेपाटाइटिस संक्रमण गराउने जीवाणुहरु हुन् । जीवाणुको संक्रमणले गर्दा हुने हेपाटाइटिसलाई भाइरल हेपाटाइटिस भनिन्छ । विश्व स्वास्थ्य संगठनका तथ्याङ्क अनुसार संसारमा १४ लाख व्यक्ति प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ बाट संक्रमित हुन्छन् । २ करोड भन्दा बढि हेपाटाइटिस ‘बी’ को शिकार भएका छन् । हेपाटाइटिस ‘सी’ ले भने १५ करोडलाई आक्रमण गरिसकेको संगठनले जनाएको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट हुने गरेको छ ।

गर्मी मौसममा हेपाटइटिस ए र ई बढि
हेपाटइटिस ए र ई अल्पकालिन हेपाटइटिस हुन् । यसले एक देखि तिन महिनासम्म कलेजोको सुजन गराउँन सक्छ । त्यसपछि आफै हराएर जान्छ । अल्का अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डाक्टर अनन्त श्रेष्ठका अनुसार दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गर्न सक्छ । डा. श्रेष्ठ भन्नुहुन्छ —‘हेपाटाइटिस ए र ई विशेषगरी गर्मी मौसममा बढी देखिन्छ । यसलाई जन्डिस पनि भनिन्छ ।’ ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् । शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरेको २–४ हप्तामा र हेपाटाइटिस ई विषाणु प्रवेश गरेको २–८ हप्तामा जन्डिसलगायतका लक्षण तथा चिह्नहरु देखिने उहाँको भनाइ छ । सरसफाइ राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ ।

प्रारम्भिक लक्षण
पहिलो अवस्था (१ देखि २ हप्ता) 
–खानामा रुचि घट्दै जाने ।
–वाकवाकी लाग्न थाल्ने ।
–ज्वरो आउनु, दिसा तारन्तार हुने ।
–पेटको दायाँ कोखा दुख्ने ।
दोस्रो अवस्थाः
पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ ।यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेंलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेंलोपना बढ्दै जान्छ ।
तेस्रो अवस्थाः
दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सञ्चो भएको महसुस गर्छन् ।

बच्न के गर्ने ?
–बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ ।
–बिरामीले सक्दो आराम आराम गर्नुपर्छ ।
–जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिको प्रयोग गर्नुहुँदैन ।
–व्यक्तिगत शुद्धता र सरसफाइ विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ ।
–पानी उमालेर र शुद्धिकरण गरेरमात्र पिउनुपर्छ ।
–राम्ररी पकाएको खानेकुरा खानुपर्दछ ।
–बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ ।
–दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ ।
–घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ ।

के हो सक्रिय हेपाटाइटिस बी ?
हेपाटाइटिस बि दीर्घकालीन हेपाटाइटिस हो । हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । डाक्टर श्रेष्ठका अनुसार संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अङ्गग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मँदा, लागूऔषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । शरीरमा जीवाणु प्रवेश गरेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण तथा चिह्नहरु देखाउन थाल्दछ । हेपाटाइटिस बी संक्रमण निको हुँदैन । एकचोटी लागे पछि जीवनभर त्यसको जीवाणु शरीरमा रहिरहन्छ । डा. श्रेष्ठ भन्नुहुन्छ —‘हेपाटाइटिस बी सक्रिय र निस्क्रिय गरि दुइ किसिमका हुन्छन । सक्रिय हेपाटाइटिस भएको बिरामीको कलेजो बिग्रिदै जाने भएकाले कलेजोको क्यान्सर र सिरोसिस हुन सक्छ । ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण सक्रिय हेपाटाइटिस बी का कारण हुने गरेको छ । यदि कसैको शरीरमा हेपाटाइटिस बी निस्क्रिय छ भने जीवाणु कलेजोमा भएपनि कलेजोलाई हानी पु¥याउदैँन ।’ हेपाटाइटिस बी लाग्यो भन्दैमा कलेजोको क्यान्सर र सिरोसिस भएर मृत्यु नै हुन्छ भन्ने होइन तर सक्रिय छ कि निस्क्रिय छ भन्ने पहिचान गर्नुपर्छ ।

प्रारम्भिक लक्षण
–वाकवाकी लाग्ने ।
–खाना मन नलाग्ने ।
–पेट दुख्ने ।
–उल्टी गर्ने ।
उपचार
हेपाटाइटिस बी को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बी बाट संक्रमित दीर्घरोगीहरुलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरु प्रयोग गरिन्छ । डा. श्रेष्ठ भन्नुहुन्छ —‘अल्पविकसित देशहरुमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ । जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । तर विकसित देशहरुमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ ।’ कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिने उहाँको भनाइ छ ।

हेपाटाइटिस सी
हेपाटाइटिस सी ले झन्डै–झन्डै हेपाटाइटिस बी को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग भएको छैन । तर यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अङ्ग प्रत्यारोपण र सुई मार्फत लागूऔषध प्रयोगबाट तथा जन्मिको क्रममा आमाबाट बच्चामा यो भाइरस सर्न सक्ने डा. श्रेष्ठ बताउनुहुन्छ ।
लक्षण
शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरु देखिन्छन् । करिब ८० प्रतिशतमा भने लक्षणहरु नै देखिँदैनन् ।
–ज्वरो आउने ।
–थकान महसुस हुने ।
–खान मन नलाग्ने ।
–वाकवाक लाग्ने ।
–उल्टी हुने ।
–पेट दुख्ने ।
–गाढा रङ्गको पिसाब हुने ।
–खैरो रङ्गको दिसा हुने ।
–जोर्नी दुख्ने र जन्डिस देखिने ।

उपचार
इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल औषधिको प्रयोग गरिन्छ । कलेजो रोग विशेषज्ञ डा. श्रेष्ठका भन्नुहुन्छ —‘नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरु सहजै र सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा विरामीमा प्रयोग गर्न सकिन्न ।’ हेपाटाइटिस सी को भ्याक्सिन छैन । आवश्यकता विना र असुरक्षित रुपमा सुई प्रयोग गर्नु हुँदैन । उहाँका अनुसार हेपाटाइटिस सी जन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागूऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने, एक्युपन्चर, नाक–कान छेंड्ने बेलामा विशेष ध्यान पुयाउनुपर्ने उहाँको भनाइ छ ।

गर्भवती महिलालाई उच्च जोखिम
हेपाटाइटिस ए र ई अल्पकालिन रोग भएता पनि कुनै केसमा अक्युट लिभर फेलिएर गराउन सक्छ । गर्भवती अवस्थामा हेपाटाइटिस ई भयो भने लिभर फेलिएर हुने खतरा उच्च हुन्छ । गर्ववति महिलामा हेपाटाइटिस ई ले कसैलाई जन्डिस र लिभर फेलिएर भएको अवस्थामा ५० प्रतिशत मानिसहरु मर्न सक्छन्।

संक्रमित आमाबाट बच्चालाई हेपाटाइटिस बी सर्न नदिन के गर्ने ?
गर्भवती महिलामा हेपाटाइटिस बी छ भने जन्मने बच्चालाईसंक्रमण हुने खतरा उच्च रहन्छ ।
निम्न तरिकाहरु अपनाउन सकिन्छ :
१. गर्भाअवस्थामा भाइरल लोड उच्च छ या छैन परिक्षण गर्नुपर्र्छ । शरीरमा जीवाणुको मात्रा धेरै छ भने बच्चामा सर्ने जोखिम उच्च हुन्छ । यदि भाइरल लोड बढि भएमा २८ देखि ३२ हप्ता सम्म हेपाटाइटिस बि विरुद्धको औषधि चलाउनस पर्छ ।
२. बच्चा जन्मिएको १२ घण्टा भित्र हेपाटाइटिस बि को खोप लगाइसक्नुपर्छ ।
३.हेपाटाइटिस बी को सुइसँगै इमिनोग्लोविन पनि दिन सकिन्छ । इमिनोग्लोविन एक किसिमको एन्टिवडि हो । यि तरिकाहरु अपनाउँदा आमाबाट बच्चालाई हेपाटाइटिस बी सर्ने सम्भावनालाई न्युनिकरण गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्