Logo
|
Saturday 20th April 2024
Logo

epaper

के तपाईं निद्रामा घुर्नुहुन्छ ? घुर्ने बानीले के के समस्या ल्याउँछ ? बच्ने उपाय अपनाउनुस्



 

 डा. राजु पंगेनी, सिनियर कन्सल्टेन्ट पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन /ह्याम्स, हस्पिटल

के तपाईंको निद्रामा घुर्ने बानी छ ? कतिपय व्यक्ति सुतेको बेला श्वास रोकिएर उकुसमुकुस भएर पटक पटक ब्युँझने गर्छन् । रातको समयमा राम्रोसँग निद्रा नपर्ने भएकाले दिउँसो ढुसु ढुसु निदाएको पनि पाइन्छ । कति व्यक्ति निद्रामा हातखुट्टा चलाएर छटपटिन्छन् । घुर्ने बानीलगायतका यस्ता समस्याले तपाईसँग सुतेका व्यक्तिलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ भने स्वयं घुर्नु स्वास्थ्यको दृष्टिकोणबाट पनि त्यतिनै हानिकारक छ । के के छन् त समस्या ? किन तुरुन्त सम्बन्धित चिकित्सकको सल्लाह लिन जरुरी छ । आउनुस् यसबारे जानौं ।
के हो घुर्ने समस्या ?
श्वासप्रश्वास नलीमा समस्या हुने धेरै व्यक्ति घुर्ने गर्छन् । श्वासप्रश्वासमा आउने समस्यालाई चिकित्सकीय भाषामा स्लिप एप्निया भनिन्छ । यो एक प्रकारको निद्रा सम्बन्धि रोग हो । साधारण घुराई र स्लीप एप्नियाबाट हुने घुराईमा भिन्नता हुन्छ । मोटो व्यक्ति र सामान्य व्यक्तिको घुराई साधारण प्रकारको हुन्छ । यस्ता व्यक्तिलाई श्वास रोकिने र अक्सिजनको मात्रा कम भएको हुँदैन । तर स्लिप एप्निया भएको व्यक्तिमा भने श्वास रोकिने र अक्सिजनको मात्रा कम हुने समस्या हुन्छ ।
यस्ता व्यक्ति निदाएको बेला गर्धनभित्रको श्वासनली साँघुरो भई केहि समयका लागि बन्द हुन्छ । त्यसपछि शरीरमा अक्सिजनको मात्रा विस्तारै घट्न थाल्छ । मुटुको चाल र प्रेसर बढ्छ । यस्ता व्यक्तिको केहि समयपछि निद्रा खुल्छ र विस्तारै श्वासप्रश्वास आफैँ सुचारु हुन्छ ।
स्लिप एप्नियाको समस्या भएका व्यक्तिले हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने गर्छन् । घुर्ने, श्वास रोकिने, ब्यँुझिने, श्वास खुल्ने र फेरि घुर्ने क्रम रातभर चलिरहन्छ । यसले पर्याप्त निद्रा पुग्दैन ।
प्रायः निन्द्रामा हुने यस्ता घटनाको त्यति सम्झना आउँदैन । तर सँगै सुत्ने व्यक्तिलाई बढी थाहा हुन्छ । यस प्रकारको समस्या स्वास्थ्यका लागि घातक पनि हुनसक्छ । यस्ता व्यक्तिको अल्पकालीन मुटुको चालमा गडबडी, हृदयघात हुनसक्ने जोखिम बढाउँछ । त्यसैले सम्बन्धित विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ ।

गम्भिर असर
स्लीप एप्निया भएका व्यक्तिलाई हृदयघात, मुटुको चाल गडबडी, प्यारालाइसिस, मानसिक समस्या, थकान, सडक दुर्घटना, उच्चरक्तचाप, मधुमेह, यौन समस्या हुनसक्छ । घुराईले पारिवारिक तथा पेशागत समस्या समेत ल्याउनसक्छ । धेरै आलस्य हुने र निन्द्रा लागिरहने कारण मोटोपना बढ्नसक्छ ।
डायग्नोसिस
स्लीप एप्निया जाँच गर्न पोलिसोम्नोग्राफी गर्नुपर्छ । यो निद्रा सम्बन्धि जाँच गर्ने पद्धति हो । यो जाँच गर्न एक रात अस्पतालको बेडमा भर्ना हुनुपर्छ । पोलिसोम्नोग्राफी जाँचबाट निदाएको बेला घुर्ने, श्वास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवं अन्य निन्द्रा सम्बन्धि रोगहरु किटान गर्न सहयोग मिल्छ ।
यो समस्या पहिचानका लागि शरीरमा विभिन्न सेन्सर टाँसिन्छन् । यो सेन्सरले निन्द्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, श्वासको गति र मुटुको चालको निगरानी गर्छ । भिडियोको माध्यमबाट निन्द्राका गतिविधिहरु परीक्षण गरिन्छ । कहिलेकाँही आवश्यकता अनुसार घरमा गएर पनि यो जाँच लिन सकिन्छ ।
पोलिसोम्नोग्राफी जाँच गर्दा ध्यान पुर्याउनु पर्ने ७ कुरा
१) समयमा अस्पताल पुगेर रिसेप्सनमा जानकारी गराउनुपर्छ ।
२) कपालमा कुनै किसिमको तेल, जेल, स्प्रे प्रयोग गर्नुहुँदैन । दाह्री काटेर आएमा सेन्सरहरु टाँस्न सजिलो हुन्छ ।
३) खुकुलो कपडा लगाउनुपर्छ ।
४) एकजना साथी लिएर आउनुपर्छ ।
५) जाँच गर्ने दिन दिउँसो सकेसम्म सुत्न हुँदैन र कफी, चिया, कोक, रक्सी जस्ता पेय पदार्थ नपिउनु नै राम्रो हुन्छ ।
६) आवश्यकता अनुसार मधुमेह र उच्चरक्तचापको औषधि सेवन गर्न सकिन्छ ।
७) रातको समयमा निदाउन सहज हुने शान्त वातावरण हुनुपर्छ । मोबाइल, रेडियो, ल्यापटप आदिको प्रयोग गर्न हुँदैन । कुनै समस्या आइपरे कोठा बाहिर रहेका टेक्निसियन, सिस्टर, ड्युटी डाक्टर अथवा रिसेप्सनलाई खबर गरिहाल्नुपर्छ ।
उपचार
स्लीप एप्निया समाधानका लागि कन्टिन्यू पोजेटिभ एयरवे प्रेसर (सिप्याप) प्रविधि प्रयोग गरिन्छ । श्वासनली बन्द हुन नदिन सुत्ने बेला नाक, मुख छोप्ने मास्क प्रयोग गर्नुपर्छ । यो मास्क सिप्याप मेसिनसँग जोडिएको हुन्छ । मेसिनले मास्कको माध्यमबाट श्वास नलीमा चाप पैदा गरी नशा बन्द हुन दिँदैन । यसले अक्सिजनको मात्रा घटबढ हुनबाट पनि जोगाउँछ जसले गहिरो निन्द्रा पर्छ ।
यसका साथै शारीरिक तौल कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक, कान, घाँटी सम्बन्धि समस्या भएमा उपचार गर्ने, जाँड रक्सी सेवन नगर्ने र निद्रा लाग्ने अन्य औषधि प्रयोग गर्नहुँदैन । साधारण स्लीप एप्निया (माइल्ड टु मोडरेट अव्जर्भेटिभ स्लीप एप्निया) हुनेलाई मुखमा लगाउने यन्त्रहरु (ओरल एप्लाइन्सेस) तथा कहिलेकाँही घाँटीको शल्यक्रिया (उपर एयर वे सर्जरी) ले पनि फाइदा गर्नसक्छ । निन्द्राको जाँच गरिसकेपछि रोगको अवस्था हेरी चिकित्सकले परामर्श उपलब्ध गराउँछन् ।

प्रतिक्रिया दिनुहोस्