Logo
|
Friday 19th April 2024
Logo

epaper

‘एक विद्यालय एक नर्स’ कार्यक्रम: एक सय १९ विद्यालयमा नर्सिङ सेवा पु-याइँदै



गत वर्ष पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको भन्दै प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा सेवा विस्तार गर्ने भएको छ । गत वर्ष २० वटा विद्यालयमा नर्सको सेवा सुरु गरेको मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेशका १ सय १९ वटै स्थानीय तहका एक(एक विद्यालयमा कार्यक्रम लागू गर्ने भएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि बनाएर सामाजिक विकास मन्त्रालयले विद्यालय छनोट तथा नर्सको दरखास्त आह्वानको तयारी गरेको छ । मन्त्रालयले यो वर्षको कार्यक्रमका लागि ६ करोड ६५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । सामुदायिक विद्यालयका विद्यार्थीले विद्यालयमै सामान्य किसिमका स्वास्थ्य सेवा तथा स्वास्थ्यबारे ज्ञान दिने उद्देश्यले एक विद्यालय एक नर्स लागू गरिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

गत वर्ष पाइलट प्रोजेक्टको रूपमा सुरु गरिएको कार्यक्रम प्रभावकारी देखिएकाले चालू वर्षमा १ सय १९ वटा विद्यालयमा कार्यक्रम विस्तार गर्न लागिएको दुलालले जानकारी  दिनुभएको छ ।  एक विद्यालय एक नर्स कार्यक्रमबारे हेटौंडामा आयोजित स्थानीय तहसँग समन्वय तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री दुलालले क्रमशः प्रदेशभित्रका सबै सामुदायिक विद्यालयमा नर्स सेवा विस्तार गर्दै लैजाने बताउनुभयो ।

कुन कुन जिल्लामा लागु भयो ‘एक विद्यालय एक नर्स’ कार्यक्रम 
विद्यालयमा कुनै विद्यार्थी बिरामी भए वा चोटपटक लागेमा सरकारी नर्सले नै प्राथमिक उपचार गर्नेछन् । जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान नर्सले सिफारिस गर्नेछन् । प्राथमिक उपचारको सामाग्री तथा औषधिसहित विद्यालयमा खटिनेछन् । साथमा नर्सले विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी सचेतनासमेत प्रदान गर्नेछन् । बितेको आर्थिक वर्षमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि (फोस्रेटार), रसुवास्थित कालिका हिमालयन मावि ( कालिकास्थान), रामेछापस्थित मन्थली मावि (मन्थली), नुवाकोटस्थित विन्दुकेशर मावि, तुक्सार (मेघान) र त्रिभुवन मावि (त्रिशुली) मा कार्यक्रम लागु भएको कारोबार दैनिकका केशव समर्पणले समाचारमा उल्लेख गरेका छन् ।
त्यस्तै मकवानपुरको महेन्द्र मावि बकैया–४, आधुनिक मावि (हेटौंडा), ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा विद्याश्रम मावि, पार्वती मावि ढुंगखर्क (काभ्रेपलाञ्चोक), काठमाडौंस्थित जनसेवा मावि (पाङ्गा), पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि (भरतपुर), दुर्गाशेषकान्त अधिकारी मावि (भरतपुर), धादिङस्थित निलकण्ठ मावि (धादिंगबेसी), चन्द्रोदय मावि (बेनिघाट) र बागेश्वरी मावि (भक्तपुर) छनोट गरी एक विद्यालय एक नर्स कार्यक्रम लागू गरिएको थियो ।
यस वर्ष यी विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिई थप १ सय १ वटा विद्यालय छनोट गरी नर्स पठाउने तयारी भइरहेको मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन घिमिरेले जानकारी दिनुभयो । नर्सहरूका लागि प्रत्येक विद्यालयले दुईवटा कोठाको व्यवस्था गरेको छ । मन्त्रालयले विद्यालयमा खटेका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचारका सामग्री तथा विभिन्न औषधि समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्