Logo
|
Thursday 28th March 2024
Logo

epaper

भक्तपुर क्यान्सर हस्पिटलमा राजनीतिक हस्तक्षेप



भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर हस्पिटलको नयाँ व्यवस्थापन समिति विवादमा परेको छ । यो हस्पिटल नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा सञ्चालनमा आएको हो ।

अहिले भक्तपुर नगरपालिका सामाजिक संस्थाबाट सञ्चालित हस्पिटललाई ठाडो हस्तक्षेप गरेको आरोप लागेको छ । अस्पतालका कर्मचारीहरुले अस्पतालमा नैतिक भ्रष्ट्राचार गरेको गुनासो बाहिर ल्याएपछि  नेपाल अर्वुद रोग निवारण संस्थाबाट सञ्चालित अस्पतालको व्यवस्थापन नगरप्रमुखको अध्यक्षतामा आफूखुशी गठन गरिएको छ । अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालनमा आइरहेको अस्पतालको व्यवस्थापनले यो राजनीतिक हस्तक्षेपको संज्ञा दिएको छ ।

नेपाल सरकार र विभिन्न दाताहरुबाट प्राप्त अनुदान सहयोगबाट भौतिक पूर्वाधार निर्माण र उपकरणको व्यवस्था गर्दै सिमित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र स्रोत साधनको उपयोग गरी हस्पिटलले क्यान्सर उपचार गर्दै आइरहेको छ ।

स्थापना कालदेखि हालसम्म क्यान्सर उपचारमा अस्पताल व्यवस्थापन समितिले सहजकारी भूमिका निर्वाह गर्दै आएको छ । तर कपोकल्पित आरोपहरुको समाचारहरु लेख्न लगाएर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनैतिक हस्तक्षेप भएको भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको गुनासो छ । ‘अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीबाट आर्थिक अनियमितता वा कुनै गैर कानुनी क्रियाकलाप भएको छैन । कुनै स्वतन्त्र समिति वा सरोकार राख्ने सम्बन्धित छानबीन निकायले अनियमितता भएको पुष्टी गरेमा सजायको भागिदार हुन तयार छौं ।’—भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले बताए ।

सरोकार राख्ने स्वास्थ्य मन्त्रालय, भक्तपुर नगरपालिका, स्थानीय प्रशासनसँग सहकार्य गरेर अस्पतालको संस्थागत विकास भइरहेको जनाएको छ ।

उनले भने—‘अस्पतालको सेवा निर्वाध एवं वाधा व्यवधान बिना नै सुचारु राख्नुपर्छ । यसका लागि सहकार्य वार्ता र संवादको माध्यमबाट टुंगोमा पुग्न व्यवस्थापन समितिका पदाधिकारीहरु तयार छन् ।’

‘लामो समयदेखि गरिएको प्रयासस्वरुप क्यान्सर रोगीहरुको सुलभ उपचारमा हालै मात्र रेडियोथेरापी सेवाका लागि अत्याधुनिक उपकरण लिनायक एसीलेटर जडान भैसकेको छ भने तत्काल सुचारु हुन लागेको छ ।’—इश्वरले भने— ‘यस्तो अवस्थामा बिरामीहरुले पाउने आर्थिक राहत एवं सेवा सुविधामा बाधा आउन हुँदैन । यस्तो वातावरण सृजना भएकोमा हामी चिन्तित छौं ।’

विभिन्न पत्रपत्रिकाहरु मार्फत भ्रमपूर्वक समाचार प्रकाशन गरी अस्प्ताल व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरुमा बदनियत पूर्वक लांक्षना लगाउने कार्य भइरहेको सन्दर्भमा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापनले उक्त समाचार प्रति गहिरो रुचिका साथ अध्ययन तथा परामर्शहरु गरिरहेको जनाएको छ । तर अस्पतालका कार्यरत केही कर्मचारीहरु, डाक्टरहरुले आफ्नो व्यक्तिगत र राजनैतिक स्वाथ्र्यका लागि अस्पताल एवं व्यवस्थापन समितिसँग बिना वार्ता एवं छलफल अस्पताल कर्मचारीहरुको मात्र एकतर्फी कुरा सुनी भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुनर्गठन गर्नुका साथै भक्तपुर नगरपालिकाका मेयरको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरिएकोबारे समाचार सुन्दा आश्चर्य लागेको बताएको छ ।

‘के नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल जस्तो स्वायत्त संस्थामा हस्तक्षेप गरी आफ्नो व्यवस्थापन समिति गठन गर्न मिल्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने—‘अहिले भक्तपुर नगरपालिकाले आफ्नो छुट्टै व्यवस्थापन समिति गठन गरेको छ । तर हामी मौजुदा व्यवस्थापन समिति यथावत् रहेको तपाईंहरुलाई जानकारी गराउँदै नयाँ व्यवस्थापन समिति गठन भएको सम्बन्धि समाचारको भ्रममा नपरी अस्पतालको नियमित सेवा निरन्तर प्रवाह हुने सम्पूर्ण बिरामी तथा सर्वसाधारणहरुलाई जानकारीका लागि अनुरोध गर्दछ ।’

तर भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति भक्तपुर क्यान्सर हस्पिटलको असहज परिस्थितिलाई सहज प्रदान गर्न खोजिएको बताउँछन् । ‘अस्पताल गञ्जागोल भइसकेको थियो । व्यवस्थापन समितिका कोही पनि सम्पर्कमा आउन चाहेनन् । त्यसैले नयाँ व्यवस्थापन समिति गठन गरेर अगाडि बढेका हौँ ।’ तर यसको बैधानिकता के हो भन्ने प्रश्न उब्जिएको छ । हस्पिटल रहेको जग्गा सरकारी हो । अस्पताल सञ्चालनका लागि भक्तपुर नगरपालिकाकाले शुरुमा क्यान्सर केयर सोसाइटीलाई स्वीकृति दिएको थियो । पछि नेपाल अर्वुद रोग निवारण संस्थाको नाममा दर्ता गरेर भवन निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

पहिला जग्गा दिने बेलामा कुनै पनि संस्थालाई हक हस्तान्तरण गर्न नपाउने, यदि हस्तान्तर गरेको अवस्थामा जग्गा फिर्ता लिने भन्ने सर्त राखिएको उनले बताए । ‘नगरपालिकालाई जानकारी नै नदिई आफ्नो अनुकुलतामा प्रयोग गरियो । भवन निर्माण भयो । तर सोधखोज भएन । नक्सा पनि पास छैन । अनियमितता देखिन थाल्यो ।’—उनले भने—‘मुख्य कुरा अस्पतालभित्रका कर्मचारी र स्थानीयले भ्रष्टाचार गरेको खबर बाहिर ल्याएपछि सबैले बिरोध गर्न थाले । यसले हस्पिटल बिग्रेला कि भनेर नगरपालिकाले हेर्न खोजेको हो ।’ अस्पतालको अनियमितता सम्बन्धमाछानविन हुँदै छ ।

अहिले मेयर सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अस्पताल व्यवस्थापन समितिको पहिलो बैठकबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेश नारायण श्रेष्ठतीन बर्षका लागि मेडिकल डाइरेक्टर पुनः नियुक्ती भएका छन् । राजनीतिक हस्तक्षेपको आरोप लागिरहेको अवस्थामा अस्पतालको नयाँ व्यवस्थापन समितिले गरेको निर्णय बैधानिक होला या नहोला भन्न सक्ने अवस्था छैन ।

मौजुदा अस्पताल व्यवस्थापन समितिका केपी ताम्राकारले भक्तपुर क्यान्सर हस्पिटलमा भक्तपुर नगरपालीकाले राजनीतिक हस्तक्षेप गरेको बताएका छन् । ‘अब हामी केहि गर्न सक्दैनौँ ।’ उनले भने भक्तपुर नगरपालिकाले स्थानीय दुइओटा स्कुल पनि हस्तक्षेप गरिसकेको छ ।’ २४ वर्ष पहिला नेपाल सरकारको ५५ लाख, भक्तपुर नगरपालिकाको ५ लाख, जिल्ला विकास समितिको ५ लाख र ताम्राकार अध्यक्ष भएको बेला ५ लाख उठाएर अस्पतालको संरचना निर्माण गरिएको थियो । अहिले यसको सम्पति अर्बौं रुपैयाको भइसकेको छ । १३ करोड रुपियाँ जति नेपाल सरकारको अनुदान र अस्पतालको आफ्नो कमाइ, दातृ राष्ट्रको डोनेसन आदि लिएर अस्पताल यो स्थिति सम्म आइपुगेको हो । उनले भने—‘काम गर्दा कहिलेकाँही गल्ती हुनसक्छ । घोटाला भएको प्रमाणित भएको छैन । भएमा अस्पताल व्यवस्थापन समिति सजाएको भागिदार हुने त भनिएकै छ नि ।’

‘यो अस्पतालको व्यवस्थापन नेपाल सरकारले हस्तक्षेप गरेको भए ठिक हुन्थ्यो । यो अधिकार क्षेत्र भित्र पर्छ ।’ उनले भने—‘यो नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्दैन र नगरपालिकाले अस्पताल चलाउन सक्दैन ।’ यो सबैकुरा नगरपालिकालाई थाहा हुँदाहुँदै पनि हस्तक्षेप भएको उनले स्पष्ट पारे ।

‘अस्पताल निर्माणका लागि नगरपालिकाले पाँच रोपनी जग्गा दिएको थियो । तर जग्गा नगरपालीको भने होइन । आर्मीको जग्गा हो । त्यो जग्गा लिँदा म नगरपालिकाको सल्लाहकार थिएँ । मैले नै सिफारिस गरेको थिएँ । गल्ति भएको छ भने कारबाही गरिनुपर्छ । तर यसरी हस्तक्षेप गर्नुहुदैँन ।’—उनले भने ।

भक्तपुर क्यान्सर हस्पिटलमा क्यान्सर उपचारका लागि सहुलियत दरमा पूर्ण प्याकेजको व्यवस्था छ । केमोथेरापी, रेडियोथेरापीा र सर्जरी तिनओटै सेवा उपलब्ध छ । यहाँ दैनिक ९ जनाको हाराहारीमा क्यान्सरका नयाँ बिरामी भर्ना हुन्छन् भने नयाँ र फलोअप गरी दैनिक ५ सयले ओपिडी सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्