


‘‘अध्ययनले मिर्गौलाको नलीको तल्लो भागमा रहेको ५ मिलिमिटर (एम.एम.) भन्दा सानो पत्थर झर्ने सम्भावना ८० देखि ९० प्रतिशत सम्म देखाएको थियो । यसका लागि औषधिको जरुरत पर्दैन ।’’यसका लागि प्रशस्त पानी पिउनुपर्छ । तर मिर्गौलाको नलीको माथिल्लो भागमा भएको पत्थर झर्ने सम्भावना कम हुन्छ । कतिपय अवस्थामा मिर्गौलाको नलीमा १० एम.एम भन्दा सानो पत्थर भएमा पनि त्यसले कुनै समस्या गरेको छैन भने तुरुन्त औषधि उपचारको जरुरत पर्दैन । मिर्गौला स्वस्थ्य छ, संक्रमण छैन, बिगार्ने लक्षण छैन, पिसाबमा रगत बगेको छैन र दुःखाइ पनि छैन भने त्यसलाई केहि हप्ता कुरेर हेर्ने गरिन्छ । तर १० एम.एम.भन्दा ठूलो पत्थर भएमा कुरेर कुनै फाइदा हुँदैन । यस प्रकारको पत्थर विभिन्न प्रविधिको माध्यमबाट निकाल्न सकिन्छ । पिसाबमा रगत किन आउँछ ? पिसाबको नली या मिर्गौलामा बिस्तारै पत्थर जम्न थालेपछि संक्रमणका कारण पिसाबमा रगतका कण देखिन्छ । पत्थरको चोटले पनि पिसाबमा रगत आउँछ । शुरुको अवस्थामा पिसाबमा रगत आएको आँखाले देख्न सक्दैन । यसलाई माइक्रोसकोपले राम्रोसँग देखाउँछ । समस्या, पहिचान र डायग्नोसिस कसरी हुन्छ ? मिर्गौलामा पत्थर भएको थाहा पाएपछि जतिसक्दो चाँडो युरोलोजीष्टको सल्लाह र परामर्शमा बस्नुपर्छ । मिर्गौलाको पत्थर भएकाहरुमा उपचारपछि पनि पटक पटक फर्केर आउने सम्भावना रहन्छ । हाम्रो ५ सय बिरामीहरुको अध्ययनबाट केही ठूला समस्याहरु पत्ता लगाउन सक्यौं । धेरैजसो हाम्रा बिरामीहरु शल्यक्रिया गरिसकेपछि पुनः स्वास्थ्य परीक्षण नगर्ने हुनाले पुनः पत्थर बल्झिएर कमजोर मिर्गौला विफल गरेको पाइयो । त्यसमध्ये पनि धेरैजसो २०—४० वर्षका युवावर्गहरुमा पत्थरीले मिर्गौला विफल गराएको तथ्य पनि खुल्न आयो ।
‘‘मिर्गौलामा एक पटक पत्थर भएका व्यक्तिलाई उपचारपछि ५ वर्षमा फेरि बल्झने सम्भावना ५० प्रतिशत हुन्छ ।’’त्यसैले सबै मिर्गौलाको पत्थरीका बिरामीहरुले शल्यक्रिया पश्चात् पनि कम्तिमा वर्षमा एकपटक मिर्गौलाको स्वास्थ्य परीक्षण गर्न अति आवश्यक भएको कुरा बुझ्न जरुरी छ । पत्थर फेरि परेर कमजोर पत्थरको शल्यक्रिया गरेका व्यक्तिले वर्षमा एकपटक युरिन टेस्ट, अल्ट्रासाउन्ड र फङ्सनल टेस्ट गरेर सम्बन्धित डाक्टरलाइ देखाउनुपर्छ । पत्थर भएका व्यक्तिमा कोखा र ढाडको दुःखाइ हुन्छ । कसैकसैलाई तल्लो पेट दुख्छ । हाम्रो गाउँघरमा ढाड दुखेमा काम गर्दा दुखेको भनेर बर्षौ कुर्ने प्रचलन छ । यसबाट कतिपय व्यक्ति मिर्गाैलाले काम नै नगर्ने अवस्थामा अस्पताल आउँछन् । पत्थरले कति समयमा मिर्गौला विफल गराउँछ ? यसको कुनै ठेगान हुँदैन । कोहीको मिर्गौलामा १० वर्ष सम्म पत्थर भएपनि मिर्गौला स्वस्थ्य हुन्छ । कसैको मिर्गौलाको नलीमा भएको पत्थरले २ महिनामा मिर्गौला विफल भएको हुन्छ । मिर्गौला विफल गराउने या नगराउने भन्ने पत्थरको साइज र स्थानले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले मिर्गौलाको नलीमा पत्थर सानो छ भनेर कुर्न हुँदैन । डाक्टरको सल्लाह लिनुपर्छ । पत्थरले मिर्गौला विफल कसरी गराउँछ ? पत्थरले पिसाब निस्कने बाटो थुनिदिएपछि पिसाब बाहिर निस्कन पाउँदैन । पत्थरको अवरोधका कारण मिर्गौलामा पिसाबको दवाव पर्छ । हप्तौं एवं महिनौं दिनदेखि यस प्रकारको समस्या भइरहेमा मिर्गौलालाई असर पर्दैजान्छ । मिर्गौलाको फिल्टर गर्ने मेकानिजम बिग्रेपछि यो विफल हुन्छ । मिर्गौलाको रि—करेन्ट इन्फेक्सनका कारण पनि मिर्गौला विफल हुनसक्छ । मिर्गौलामा पटक पटक पत्थर बनेर संक्रमण भइरहेमा, पिसाब जमेर पिप बनेमा मिर्गौला विफल हुनसक्छ । खासमा पत्थरमा के हुन्छ ? पत्थरको कम्पोजिसन धेरै प्रकारको हुन्छ । नेपालमा प्रायजसो पत्थरमा क्याल्सियम र अक्जालेटको कम्पोजिसन सबैभन्दा धेरै छ । त्यस्तै युरिक एसिडको कम्पोजिसन पनि हुन्छ । इन्फेक्सनले एमोनियम फस्फेट कम्पोजिसन बनाउँछ । पत्थरको कम्पोजिसन विभिन्न कारण अनुुसार फरक हुन्छ ।

‘‘गर्मी ठाउँमा बसोबास गर्ने मानिसमा बढी पसिना आउने भएकाले उनीहरुले पर्याप्त पानी पिउनुपर्छ ।’’त्यसैले अत्यधिक गमी हुने नेपालको तराइ र उत्तरी भारतको भु–भागमा बसोबास गर्ने मानिस जोखिमा हुन्छन् । यसका साथै पाराथायराइडको समस्या र शरीरमा क्याल्सियमको समस्या भएका व्यक्ति जोखिममा हुन्छन् । वारम्बार संक्रमण भइरहने महिला पुरुष दुवैमा पत्थरी हुने उच्च जोखिम रहन्छ । उपचार र सल्लाह मिर्गौलालगायत मुत्रप्रणालीका कुनै पनि भागमा भएको पत्थरीको उपचारका लागि ढिलाई गर्न हुँदैन । पत्थरीको पहिचान भएपछि सम्बन्धित युरोलोजिष्ट चिकित्सकको सल्लाह र परामर्शमा रहनुपर्छ । पत्थरीको साइज अनुसार हरेक पत्थरीको भिन्न भिन्न उपचार विधि हुन्छन् । पत्थरी सानो भएको अवस्थामा ‘पख र हेर’ भनेर पानी र औषधि सेवन गराइन्छ । युरिक एसिड पत्थरमा मेडिकल मेनेजमेन्टबाट समाधानको उपाय खोजिन्छ । बजारमा पिसाबको नली खुकुलो बनाएर नली भित्रको पत्थर झार्ने औषधि पनि पाइन्छ । यदि यसबाट समस्या समाधान नभएमा शल्यक्रिया गर्नुपर्छ । शल्यक्रिया विभिन्न प्रकारका हुन्छन् । इएसडब्लुएल इ.एस.डब्लु.एल.प्रविधि पनि चलनचल्तीमा छ । यस प्रक्रिया अनुसार सकले पत्थरलाई टुक्रा पारेर फुटाउने र पिसाबबाट बाहिर निकाल्ने गरिन्छ । यसका साथै आजकाल प्रख्यात आरआईआरएस पनि छ । यस प्रविधि अनुसार २ सेन्टिमिटिर भन्दा सानो पत्थरका लागि पिसाबको नलिबाट सानो क्यामेरा लेजर भएको औजार छिराएर मिर्गौलाभित्र पु¥याएर पत्थरलाई मसिनो बनाएर निकाल्ने गरिन्छ । २ सेन्टिमिटरभन्दा ठूलो पत्थर भएमा पिसिएनएल र मिनी—पिसिएनएल प्रविधि अपनाइन्छ । यसअन्तर्गत शरीरमा सानो प्वाल पारेर नलीबाट पत्थर निकाल्न सकिन्छ । नेपालमा नयाँ प्रविधि नआउँदासम्म ओपन सर्जरीबाट पत्थर निकालिन्थ्यो । शल्यक्रियापछि पत्थर पुःन पलाउने सम्भावना कति हुन्छ ? यसलाई न्युनिकरण गर्न के गर्नुपर्ला ? यो शरीरको संरचनामा निर्भर गर्छ । कतिको चाँडो पलाउँछ भने कतिको ढिलो पलाउँछ । पत्थर निकालेका एक सय जनामध्ये ५० प्रतिशतमा ५ वर्षमा पुन पत्थर पलाउन सक्छ । १० वर्षमा पुन पत्थर फर्किन सम्भावना ७५ प्रतिशत रहेको हुन्छ । यद्यपी एकपटक निकालिसकेको पत्थर पुन बल्झिन सक्छ । त्यसैले वर्षको एकपटक जाँच गराउनुपर्छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ