
कपाल झर्ने समस्या पुरुष, महिला, बालबालिका र बृद्धा सबैलाई हुनसक्छ । डिफ्युज हेयर लस कपाल पातलो हुँदै जाने समस्या हो । ठाउँ ठाउँमा कपाल चक्का भएर झर्ने समस्यालाई एलोपेसिया एरियटा भनिन्छ ।यो प्याची हेयर लस हो जुन ठाउँ ठाउँबाट कपाल झर्छ । प्याटर्न हेयर लस पुरुष र महिला दुवैमा हुनसक्छ । यो हर्मोनले गर्दा हुने समस्या हो । टेस्टेस्टेरोन हर्मोनका कारण कपाल पातलिँदै जाने यस प्रकारको समस्यामा तालुपना आउँछ । यसबाहेक कपाल झर्नुमा अन्य कारण हुनसक्छ । कपाल झर्ने अन्य कारणहरुमा केमिकल मिसिएका नयाँ सामानहरुको प्रयोग, धेरै कसेर कपाल बाँध्ने, कपाललाई राम्रोसँग पोषण नपुगेर पनि कपाल झर्नसक्छ । कपाललाई आइरन, जिंक, भिटामिन, मिनरल्सजस्ता तत्वहरु आवश्यक पर्छ । कपालमा आउने चाँयालगायतका विभिन्न रोगले पनि कपाल पातलिन सक्छ । सामान्य प्रकारका समस्याहरुहरुमा उपचारपछि पुनः कपाल पलाउने गर्छ भने खतहरु बनेको ठाउँहरुमा पुन कपाल नआउन सक्छ । कपाल झर्ने कारण
स्कारिङ (खतहरु बस्ने) र नन स्कारिङ (खतहरु नबस्ने) गरी दुई किसिमबाट कपाल झर्ने गर्छ । स्कारिङमा कपालको उपचार गर्न निकै जटिल हुन्छ । कतिपय अवस्थामा त उपचार नै हुँदैन । नन स्कारिङ समस्यामा कपालको उपचारपछि निको हुनसक्छ ।कपाल झर्नुमा वंशाणुगत, हर्मोनल परिवर्तन, शरीरको मेडिकल अवस्था, मेडिकेसन आदि कारण हुनसक्छ । थायराइडको कारणले पनि कपाल झर्नसक्छ । लामो समयसम्म औषधि सेवन गरिरहेका व्यक्तिहरुको पनि कपाल पातलिँदै जानसक्छ । उमेर पुगेका व्यक्तिहरुको कपालको चमकता घट्ने, बाक्लो कपाल पातलिँदै जाने, कपालको जरा कमलो हुनसक्छ । महिनावारी सुक्ने बेला र गर्भवती अवस्थामा कपाल झर्न सक्छ । रेडिएसन थेरापीले पनि कपाल झर्नसक्छ । कडा औषधिहरुले पनि कपाल झर्नसक्छ । कपाल झर्नमा तनाव एउटा कारक तत्व हो । त्यसैले स्वास्थ्यमा ध्यान दिनुका साथै खुशी हुनुपर्छ । यसका साथै यौन रोग, भिरिङ्गी एउटा तहमा पुगेपछि पनि प्याची हेयर लस हुनसक्छ । बायोटिन, जिंक, आइरन, मिनरल्सलगायतका भिटामिनको कमीले पनि कपाल झर्नसक्छ । प्याची हेयर लस (एलोपेसिया एरिएटा)
प्याची हेयर लस वा एलोपेसिया एरियटा थायराइडलगायत अटो इम्युनका कारण कपाल झर्ने समस्या हो । यो कुनै ठोस कारण र कुनै किटाणुले हुने समस्या होइन । यसमा ठाउँ ठाउँमा चिल्लो भएर कपाल झर्छ । उपचारपछि कपाल पलाउन सक्छ ।तर कतिपय व्यक्तिहरुमा औषधोपचार गर्दा गर्दै पनि बिस्तारै पुरै टाउकाको कपाल झरेर पुरै तक्लु हुनसक्छ । यसलाई फूल एलोपेसिया टोटालिस भनिन्छ । यस प्रकारको समस्यामा पछि दाह«ी जुँगा, आँखी भौं, परेला, काखुमुनीको रौं, योनाङ्गको रौं, शरीरको सबै रौंहरु झर्नसक्छ । यसलाई एलोपेसिया युनिभर्सालिस भनिन्छ । धेरै कपाल लस भइसकेपछि रिकभर गर्न गाह्रो हुने भएकाले समयमा उपचार गर्न जरुरी हुन्छ ।

महिलाहरुमा सिउँदो भएको भागबाट कपाल पातलिँदै जान्छ । उनीहरुको पनि पुरुषहरुको जस्तो तालु चिन्नै देखिनसक्छ । यस प्रकारको समस्या फिमेल प्याटर्न हेयर लस हो । मेल प्याटर्न बालनेस भनेको केटा मान्छेमा आउने तालुपना हो । यो वंशाणुगत र हर्मोनल कारण दुवै हुनसक्छ ।यस प्रकारको समस्यामा कपाल पातलो र टाउकोबाट कपाल खस्दै जाने हुनसक्छ । कपालको हेयर फोलिकलहरुले डाय हाइड्रोटेस्टेस्टेरोन भन्ने हर्मोनलाई रेस्पोन्स गरेर कपाल सानो साइजमा परिणत हुँदै जाने र कपाल पातलिँदै जान्छ । ट्र्याक्सन एलोपेसिया ट्रयाक्सन एलोपेसियाअन्तर्गत तानिने गरी कडा किसिमले कपाल बाँध्ने महिलाहरुमा निधारमाथिको भागबाट कपाल झर्ने र पातलो हुँदै जान्छ । सडेन लुजिङ हेयर लस यो प्राय गर्भवती पछि बच्चा जन्माएका महिलाहरुमा हुनसक्छ । यसका साथै मेजर अपरेशन गरेका पुरुष तथा महिलाहरुमा केही महिनासम्म कपाल झर्नसक्छ । तर पछि बिस्तारै कपाल पलाउँछ । चिकित्सकलाई कहिले भेट्ने ?
दैनिक करिब १००—१५० वटासम्म कपाल झर्नुलाई सामान्य मान्न सकिन्छ । तर त्यो भन्दा धेरै कपाल झरेको अनुभव भएमा समयमा चिकित्सकलाई देखाउन जरुरी हुन्छ ।कपालमा विभिन्न रसायनिकको प्रयोग, हेयर पम्प, कपाल स्टे«ट आदि गर्नाले कमलो भई कपाल पातलिन सक्छ । यसरी टाउको वा शरीरका विभिन्न भागबाट धेरै कपाल झरेको अवस्थामा आफैंले विभिन्न उपचार गर्नुभन्दा उचित ठाउँमा गएर चर्म तथा यौन रोग विशेषज्ञलाई देखाउन उचित हुन्छ ।

प्याची हेयर लस अर्थात ठाउँ ठाउँमा कपाल झरेको अवस्थामा तुरुन्त चिकित्कसलाई देखाउनुपर्छ । यसमा खाने सप्लिमेन्टरी र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ । कतिपय प्याची हेयर लसमा इन्जेक्सन पनि लगाउन पर्ने हुनसक्छ । यसले धेरैजनाको कपाल आउँछ ।वंशाणुगत वा प्याटर्न हेयर लसमा उपचार गर्न गाह«ो छ । समयमा उपचार पाएको अवस्थामा कपाल झर्न कम हुने र भएको कपाल बचाउन सकिन्छ । यसो गर्दा पनि कपाल झरिरहेको अवस्थामा पिआरपी थेरापी पनि गर्न सकिन्छ । अन्त्यमा केही नलागेमा कपाल प्रत्यारोपण नै एउटा विकल्प हो । ( डा. कार्की बीर अस्पतालको चर्म तथा यौन रोग विभागको प्रमुख एवं चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानको एसोसिएट प्रोफेसर हुनुहुन्छ ।)
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ