

‘नर्सिङ‘ शव्दले वाल्यावस्थादेखि आकर्षित गरेको हो । बिरामीको सेवा गर्ने, दिनदुःखीलाई सहयोग गर्ने, सिकिस्त बिरामीलाई केयर गर्ने जस्ता कुरा भित्रैदेखि मनमा आइरहन्थ्यो । त्यसले गर्दा नर्सिङतर्फ मनदेखि नै आकर्षित भएकी हुँ । नर्सिङ पेशा सानैदेखि एकदमै मन पर्दथ्यो ।मेरो परिवारको चाहना पनि नर्सिङ अध्ययन गरोस् भन्ने थियो । मेरो दिदीले पनि नर्सिङ अध्ययन गरेको र उहाँले लगाएको ह्वाइट ड्रेसले यो विधातिर आकर्षित गरायो । यद्यपी नर्सिङ अध्ययन गर्न पाए हुन्थ्यो भन्ने मनदेखि लागेको थियो । यसमा मेरो दाइको पनि मुख्य भूमिका छ । उहाँलाई मेडिकल क्षेत्र धेरै मन पर्छ । मैले बीर हस्पिटल नर्सिङ क्याम्पसबाट २०५४ सालमा स्टाफ नर्स उत्तीर्ण गरेकी थिएँ । एक वर्षजति नेपाल मेडिकल कलेजमा काम गरेँ । मैले सबभन्दा लामो समय सैनिक अस्पतालमा बिताएँ । सैनिक अस्पतालमा ह्वाइट ड्रेस त लगाउनुपर्दैनथ्यो । तर सैनिक तालिममा सिकेको सीप र प्रोफेस्नालिज्मको पाठले आजसम्म सफल भएको छु । मेरो सफलताको पहिलो श्रेय सैनिक अस्पताललाई नै दिन्छु । सैनिक पेशामा रहनुभएका डाक्टर र सिनियर सिस्टरहरुमध्ये जो जो सँग मैले तालिम र काम गरेँ, उहाँहरु प्रति म निकै आभारी छु । नर्सिङ कस्तो पेशा हो ? ‘लेडिज अफ द ल्याम्प’ भनेर फ्लोरेन्स नाइटिंगेललाई चिनिन्छ । नर्सले बिरामीलाई केयर मात्र गर्दैनन्, बिरामीको समस्याबारे पनि त्यतिकै परिचित हुनुपर्छ । यद्यपी बिरामीका दैनिक समस्या समाधान गर्दै जाने भएकाले बिरामीप्रति छुट्टै माया बसेको हुन्छ ।
नर्सिङ पेशालाई सैद्धान्तिक ज्ञानको आधारमा व्यवहारिकतामा ढाल्न सक्नुपर्छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा ढाल्न सकेको अवस्थामा मात्र नर्सिङ पेशा ‘प्रोफेसन’ हुन्छ । बिरामीको सेवा गरेपछि इफेक्टिभ हुनुका साथै खुशी भएर जानुपर्दछ र बिरामीको आवश्यकता अनुसार समस्या समाधान गर्दै जानुपर्छ ।यहाँको अध्ययन र शैक्षिक योग्यताबारे स्पष्ट पारिदिनुस् न ? शुरुमा ५ कक्षासम्मको अध्ययन जन्मस्थल रामेछापको सैपुमा भयो । त्यसपछि हेटौडा गएँ । मैले एसएलसी हेटौंडाबाट दिएकी हुँ । त्यो बेला लेडिजमध्येबाट मकवानपुर जिल्ला टप गरेको थिएँ । त्यसपछि बीर हस्पिटल नर्सिङ कलेजमा पढेँ र दुई वटा विश्वविद्यालयबाट नर्सिङमा र हेल्थमा मास्टर्स डिग्री गरेकी छु । हाल अस्पताल व्यवस्थापन सम्बन्धि शिक्षा लिने कोशिस गरिहेको छु । नर्सिङ निर्देशकसम्म आइपुग्दा कस्तो अनुभव सँगाल्नुभएको छ ? नर्सिङ स्टाफ हुँदा आफ्ना सिनियरहरुको मातहतमा रहेर काम गर्नुपर्दथ्यो । यस्तो बेलामा बिरामीको सेवाबाहेक अन्य कुराको त्यति जिम्मेवारी वहन गर्नुपर्दैन थियो ।
तर नर्सिङ निर्देशक भएर जिम्मेवारी वहन गर्दा हस्पिटलमा कार्यरत सबै नर्सका २४ घण्टा ड्युटीदेखि लिएर उनीहरुको दुःख, पीडा, समस्याहरुमा ध्यान दिनुपर्छ । नर्सिङ प्रोफेसन कसरी प्रभावकारी बनाउने, आफू मातहतका नर्सहरुलाई क्वालिफाइड कसरी बनाउने जस्ता कुरामा ध्यान दिनुपर्छ । साथै २४ सै घण्टा नर्सिङ पेसामा आउनसक्ने समस्याबारे संवेदनशील भइरहनुपर्छ ।त्यसैगरी बिरामीहरुको सेवा र नर्सिङ केयर सम्बन्धि कुरालाई ध्यान दिनुपर्ने हुन्छ । यस्ता समस्याहरु अस्पतालभित्र मात्र नभएर नर्सिङ सम्बन्धि बाहिरबाट भइपरी आएका कुराहरुलाई पनि जिम्मेवारी बहन गर्नुपर्दछ । कोभिड—१९ महामारीमा सुरक्षित सेवा कसरी दिन कसरी सफल हुनुभएको छ ? डिसेम्भर—२०१९ मा कोभिड भाइरस पत्ता लागेपछि ‘निश्चित समयपछि नेपालमा आउनसक्छ’ भनेर मानसिक रुपमा तयार भएर बसेका थियौं । सोही अनुसार अस्पताल व्यवस्थापन र इन्फेक्सन कन्ट्रोल टिमसँग सहकार्य भइरहेको थियो । सबै नर्सिङलाई कोभिड सम्बन्धि कसरी प्रिकर्सन लिने भन्ने कुराको तालिम दिन पनि सफल भएका थियौं ।
कोभिड—१९ का बिरामीलाई गुणस्तरीय सेवा कसरी दिने र गुणस्तरीय सेवा कसरी बढाउने, पिपिई कसरी लगाउने, दूरी कसरी मेन्टेन गर्ने, मास्क कसरी लगाउने, बिरामीहरुको छेउमा कसरी जाने जस्ता हरेक प्रकारका व्यक्तिगत सुरक्षासम्बन्धि तालिम दिएर तयारी अवस्थामा थियौं ।

अहिलेको अवस्थामा अस्पतालमा काम गरेका नर्सहरुलाई घरभित्र छिर्न नदिने, घरबेटीले स्वीकार नगर्ने, गेटमा ताल्चा लगाउने, घरबाट निस्कन दवाव दिने गरेको पाइएको छ । घरबाट निकाल्ने समस्या, तलब नदिने लगायतका समस्याले कति नर्सहरु त सेल्फ प्यानिक छन् ।शुरुमा कोभिड—१९ का बिरामी अस्पतालमा आउँदा डर लागेन ?
डर त अवश्य लाग्दथ्यो । यो हाम्रो लागि नयाँ रोग थियो । जब अस्पतालमा बिरामी आउन थाले, हामीलाई त्यस्तो नयाँ कुरा केही पनि लागेन किनकि हाम्रो सम्पूर्ण सुरक्षाको तयारी नेपाल सरकार स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको गाइडलाइन र मापदण्ड अनुसार नर्सिङ र अस्पतालका अन्य कर्मचारीहरुलाई तालिम दिएर तयारी अवस्थामा राखेकाले सफलताका साथ उपचार सेवा उपलब्ध गराउन सफल भयौं ।अस्पताल व्यवस्थापन, अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा, इन्फेक्सन कन्ट्रोल प्रमुख डा. अनुप सुवेदीलगायतका सम्पूर्ण डाक्टरहरुले नर्सिङलाई सकारात्मक बाटोबाट सहयोग र समन्वय गर्नु भएकाले सहज रुपमा काम गर्न सफल भयौं । संक्रमणको यो महामारिमा त्रासको महसुस गर्नुभएको छ ? अहिलेको अवस्थामा यस अस्पतालमा मात्र नभई विश्वभर नै त्रास बढेको छ । कुन बेला के हुन्छ भन्ने नजरअन्दाज गर्न सक्ने अवस्था छैन । त्यसैले स्वरसम्राट नारायण गोपालको वहुर्चित गीत ‘आँखा छोपी नरोउभनि भन्नू पर्या छ । मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ ।। भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि हैन केही थाहा छैन ।। वाचा छिटै आउँछु भनी गर्नु पर्या छ ।’ जस्तै छ अहिलेको हाम्रो जीवन ।
फ्रन्टलाइनमा बसेर कोभिड—१९ को उपचारमा खटिँदा ‘आफूलाई पनि संक्रमण हुने हो कि’ भन्ने डर र त्रासका बीच काम गर्नुपरेको छ । अरुको त कुरा छोडौं, मेरै परिवार र आफन्तहरुमा पनि यस्ता कुरा स्वीकार गरिँदैन । यद्यपी सावधानी अपनाउने, नियमित हात धुने, सामाजिक दूरी कायम राख्ने, समूहमा भेला नहुने, मास्क लगाउने गर्नाले यो रोग सर्नबाट जोगिन मद्धत पुग्ने कुरा सबैले बुझ्न जरुरी छ ।नर्स र डाक्टरबीचको समन्वय कस्तो हुनुपर्छ ? बिरामीलाई प्रभावकारी उपचार सेवा प्रदान गर्न नर्स र डाक्टरबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्छ । डाक्टरहरुले बिरामीको समस्या डाइग्नोसिस गर्नुका साथै रोगको उपचार गरेर मेडिसिनहरु प्रेस्क्राइब गरेर जाने गर्छन् । डाक्टरहरु २४ घण्टामा दुई चार पटक मात्र आउने गर्छन् । तर २४ सै घण्टा बसेर बिरामीको सेवा गर्ने नर्स नै हो । बिरामीलाई समयमा औषधि खुवाउने, औषधिले काम गरे नगरेको ख्याल गर्ने, औषधि दिएपछि लक्षण कम भएनभएको, बिरामीका अन्य समस्यालगायत चौतर्फी कुरामा ध्यान दिनुपर्छ ।
डाक्टर र नर्सको सकारत्मक सोच, को—अर्डिनेसन, को—अपरेसन र राम्रो कम्युनिकेसनले गर्दा जटिल अवस्थामा रहेका बिरामीहरु पनि निको भएर घर फर्कन सफल हुने गर्छन् ।नर्सहरु शोषित हुने गरेको भन्ने गुनासो पनि आउने गर्छ नि ? नर्सिङमा अध्ययन गर्दा धेरै खर्च हुन्छ । बीएस्सी नर्सिङमा करिब १२—१५ लाख रुपियाँ लाग्छ, पिसिएल नर्सिङमा कम्तिमा पनि ८—१० लाख रुपियाँ खर्च हुन्छ । यति धेरै खर्च गरेर अध्ययन गरेका नर्सहरुको तलब ५ हजार रुपियाँदेखि शुरु हुन्छ । त्यसमा पनि ६ महिनाजति त भोल्युन्टियर काम गर्नुपर्छ ।
वास्तवमा नर्सिङ पेशा पीडित छ । सरकारले नर्सिङको भनेजति सेवा र सुविधा उपलब्ध गराउन सकेको छैन ।स्वास्थ्य मन्त्रालयले रिक्तपदपूर्तिका लागि लोकसेवामार्फत दरखास्त खोल्ने, विभिन्न क्षेत्रमा अवसर सृजना गर्ने र नर्सको तलब तोकेको अवस्था छैन । वास्तवमा नर्सको उत्पादन र व्यवस्थापनलाई ख्याल नगरेमा धेरै नर्सहरु विदेश पलायन हुनुपर्ने बाद्यता आउनसक्छ । कसरी समाधान गर्न सकिएला ? मुलुकमा नर्सिङ पेशालाई व्यवस्थित र मर्यादित बनाउन नीति बनाउन जरुरी छ । सरकारी रिक्त पदपूर्तिका लागि लोकसेवा खुलाउने, सरकारी अस्पतालहरुमा बिरामी नर्स अनुपात मिलाउनुपर्छ । धेरै सरकारी अस्पतालहरुमा बिरामी नर्स अनुपात मिलेको छैन । अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार बिरामी नर्स अनुपात मिलाएको अवस्थामा हाल मुलुकमा रहेका नर्सले पुग्दैन ।
यसका साथै नर्सहरुको निश्चित तलब हुनुपर्छ । अनुभवको आधारमा तलब तोकिनुपर्छ । त्यही अनुसार पदोन्नति पनि हुनुपर्छ । अस्पतालहरुमा बिरामी नर्स अनुपात छ कि छैन भनेर सरकारले बेलाबेलामा अनुगमन गर्नुपर्छ । अनि मात्र गुणस्तरीय सेवातर्फ सबैको ध्यान जान्छ ।नेपालमा बिरामी नर्स अनुपातको अवस्था कस्तो छ ? विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार, आईसियूमा एक जना बिरामी बराबर एक जना नर्सको जरुरत पर्छ । इमर्जेन्सी र जनरल वार्डमा एकजना नर्सले ३—५ जना भन्दा बढी बिरामी केयर गर्न पाइँदैन । क्याबिनमा ३—४ जना भन्दा बढी हेर्न पाइँदैन । बिरामीको अनुपात अनुसार नर्सहरुलाई ड्युटीमा लगाउँदा अहिलेको नर्सहरुले पुग्न सक्दैन । तर सरकारी अस्पतालहरुमा नर्स र बिरामीको अनुपात मिलाइएको छैन । आईसियूमा एकजना नर्सले ४—५ जनासम्म बिरामी हेर्नुपर्ने बाद्यता छ । बिरामी नर्स अनुपात मिलाएको अवस्थामा बिरामीले राम्रो सेवा पाउँछन् । यसले गर्दा नर्सिङ पेशा इफेक्टिभ हुनुका साथै गुणस्तरीय नर्सिङ केयरको विकास हुन्छ ।
यसैगरी केन्द्रिय र प्रादेशिक सरकारी अस्पतालहरुमा बिरामी नर्स अनुपात छुट्याउन सकेमा बेरोजगार नर्सहरुले रोजगार प्राप्त गर्न सक्छन् । उद्योग, पेशागत क्षेत्र, विद्यालय, कलेज, बैकिङ क्षेत्र, होटल लगायतका क्षेत्रतिर नर्सहरुलाई परिचालन गर्नुपर्छ । यसले इफेक्टिभ नर्सिङ केयरिङ प्राप्त गर्न सकिन्छ । त्यसैगरी नर्सिङ कलेजमा पनि कलेजको मापदण्ड अनुसार अनुभवी शिक्षकहरुको आवश्यकता पर्दछ । जसले गर्दा बिद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान हाँसिल गर्न सहज हुन्छ ।यहाँको नर्सिङ जीवनमा अविस्मरणीय कुनै घटना छ ? बीरेन्द्र सैनिक अस्पतालमा कार्यरत रहँदा १९ जेठ २०५८ मा राजदरवार हत्याकाण्ड भएको थियो । हत्याकाण्ड भएको त्यो रात म अस्पतालको आईसियूमा थिएँ । घटनाका घाइतेहरुलाई प्रत्यक्ष सेवा गर्ने मौका पाएको थिएँ । संकट के हो ? कसरी आउँदो रहेछ ? भन्ने कुरा प्रत्यक्ष देखेँ । हत्याकाण्डका त्यति धेरै डेथ बडीहरु अस्पतालमा हुँदा हृदयदेखि नै आँशु आएको थियो । यद्यपी संकटको घडीमा पनि नर्सको भूमिकाको प्रत्यक्ष अनुभव गर्ने मौका पाएँ ।
नर्सले आत्मविश्वासका साथ काम गर्नुपर्छ भनेको के हो र मनलाई कसरी दरो बनाउनुपर्छ भन्ने कुराको यो घटनापछि मात्र थाहा पाएँ । जीवनको योे मेरो पहिलो घटना थियो ।कस्तो अवस्था खुशीको महसुस हुन्छ ? सिकिस्त भएर आकस्मिक कक्षमा आइपुगेको बिरामी र लामो समयदेखि उपचारपछि ठीक भयो भनेर जब बिरामी हाँसेर जान्छ त्यो बेला मलाई एकदमै खुशी महसुस हुन्छ । बिरामीको केयरको जिम्मेवारी दिनुपूर्व नर्सहरुलाई कसरी योग्य बनाइन्छ ? जब अस्पतालमा नयाँ नर्स भर्ना गरिन्छ । उनीहरु विभिन्न कलेजहरुबाट अध्ययन गरेर आउँदा सबैको फरक विचार हुन्छ । नर्सहरुलाई बिरामीको सेवामा जानपूर्व तालिम र टिमवर्कको महत्व बुझाउन सकेमा सम्भावित समस्याहरु कम गर्न सकिन्छ । नयाँ नर्सहरुलाई एकहप्ता सम्म तालिम उपलब्ध गराइन्छ । अस्पतालको रुल्स रेगुलेसन साथै जुन विभागमा जाने हो त्यस विभागको बारेमा आधारभूत तालिम उपलब्ध गराइन्छ ।
उनीहरुलाई गुड प्रोफेसनल अनुशासन र अन्तिम अवस्थामा आइपुगेको बिरामीलाई सिपिआर गर्ने तरिका, डकुमेन्टहरु कसरी राख्ने ? बारेमा विभिन्न किसिमका तालिमहरु दिइन्छ । साथै बिरामीहरुसँग कसरी को—अर्डिनेसन र कम्युनिकेसन गर्ने भन्नेबारे तालिमहरु दिएपछि मात्र नर्सहरुलाई सम्बन्धित विभागमा प्रवेश गराइन्छ ।ह्याम्स नर्सिङ इम्पावरमेन्ट कार्यक्रम के हो ? ह्याम्स नर्सिङ इम्पावरमेन्ट (सशक्तिकरण) कार्यक्रमको नेतृत्व मैले नै गरिरहेको छु । यसमा अस्पताल व्यवस्थापनको पूर्ण साथ र सहयोग रहेको छ । यो कार्यक्रमले नर्सहरुलाई विभिन्न किसिमका तालिम दिने, आत्मविश्वास विकास गर्ने, बिरामीको केयरलगायतका हरेक आधारभूत ज्ञानबारे तालिम दिएर सशक्तिकरण गराएका छौं । यसले गर्दा नर्सिङहरुको आत्मविश्वास बढ्नुका साथै क्वालिटी नर्सिङ केयरको विकास बढाउन मद्धत पुर्याएको छ । अन्त्यमा के सन्देश दिनुहुन्छ ? आफ्ना व्यक्तिगत समस्या लुकाएर बिरामीको अगाडि हाँसीखुशी नै हुनुपर्ने हाम्रो पेशा हो । आफ्नो घरपरिवार, आफन्तजन, साथीभाइ नभनी यो कोभिड १९ को प्रकोपमा दिनरात खटेर बिरामी सेवामा जुटेका देशविदेशका दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु ।
स्टाफ नर्सदेखि नर्सिङ निर्देशकसम्मको करियरमा साथ र सहयोग दिने मेरो परिवार र आफन्तजनप्रति आभार व्यक्त गर्दछु । जुन रुपले मलाई सहयोग गर्ने अस्पताल व्यवस्थापन डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले म प्रति गर्नुभएको सपोर्ट र सहयोगलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । यस अस्पतालमा भएका सम्पूर्ण नर्सिङ परिवारलाई एक टिम भएर अगाडि बढ्न अनुरोध गर्दछु । सँधै यस्तो माया र सहयोगको अपेक्षा गर्दछु ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ