
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिना प्रेस्क्रिप्शन जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग गर्ने वा चिकित्सकले दिएको पूरा मात्रा नखाने गर्दा मानिसमा एन्टिबायोटिकले नछुने समस्या देखिन थालेको छ ।
परिणामस्वरूप सामान्यतया चाँडै निको हुनु पर्ने रोग पनि निको हुन लामो समय लाग्ने, उपचार सफल नहुने, औषधिले काम नगर्ने जस्ता समस्या देखिने चिकित्सकहरु बताउँछन ।
अहिले हरेक वर्ष ७ लाख मानिसको एन्टिबायोटिक रेजिस्टेन्सका कारण मृत्यु भइरहेको छ भने सन् २०५० सम्म प्रतिवर्ष १ करोड मानिसहरुको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
के हो एन्टिबायोटिक रेजिस्टेन्स ?
एन्टिबायोटिक खाँदा मर्नुपर्ने वा बृद्धि रोकिनुपर्ने हो ती बाँच्ने र अझ बृद्धि भएर जुन औषधिले काम गर्नुपर्ने हो त्यसले काम नगर्नुलाई एन्टिमाइक्रोबिएल रेजिस्टन्स भनिन्छ ।
एन्टिमाइक्रोबिएल रेजिस्टन्सको कारण सामान्यतया निको हुनुपर्ने रोग पनि सन्चो नभइ लामो समयसम्म रोगीहरु निको नहुने, उपचार सफल नहुने र औषधि दिँदा पनि बिरामी निको नहुने समस्या देखिएको वीर अस्पतालका विशेषज्ञ चिकित्सक एवं माइक्रोबायोलोजिस्ट डा. सिर्जना पाण्डे बताउनुहुन्छ ।

फार्मेसीमा गएर आफै औषधि किन्ने, औषधि खाँदा खाँदै सन्चो भएजस्तो लागेर औषधिको पुरा डोज नखाने जस्ता कारणले एन्टिबायोटिक रेजिस्टेन्सको समस्या बढेको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ–‘एन्टिबायोटिक बन्नुभन्दा अगाडि प्री–एन्टिबायोटिक युग थियो, जहाँ औषधि नभएर साधारण तरिकाले हुने छालाको संक्रमणको औषधोपचार नपाएर मृत्यु नपाएर बिरामीको मृत्यु हुन्थ्यो भने अहिले हामी पोस्ट–एन्टिबायोटिक युगमा जाँदै छौँ । जसमा फेरी पनि साधारण संक्रमण भएपनि उपचार नभएको कारणले गर्दा मृत्यु हुने वा उपचार नहुने वा दीर्घकालीन रोगहरु हुने समस्या हुन सक्छ ।’
फलफूल र तरकारीबाट फैलिन सक्छन् एन्टिबायोटिक प्रतिरोध गर्ने जीवाणु
काठमाण्डूको विभिन्न ठाउँबाट सङ्कलित फलफूल र तरकारीका नमुनामा गरिएको तीन वर्ष लामो अनुसन्धानका क्रममा एन्टिबायोटिक प्रतिरोधी जीवाणुहरू फेला परेको अनुसन्धानकर्ताहरु बताउँछन ।
त्यस्ता जीवाणुले मानिसलाई सङ्क्रमण गर्दा उपचार नहुने वा दीर्घकालीन रोग हुने गरेको विज्ञहरूको भनाई छ ।
सन २०१९ को अक्टोबरदेखि सन २०२२ को अगस्टसम्म गरेको अनुसन्धानमा नेपालमा बिक्री हुने फलफूल तथा तरकारीहरुमा विभिन्न एन्टिबायोटटिक रेजिस्टेन्ट ब्याक्टेरिया भेटिएको बायोसाइन्स तथा बायोटेक्नोलोजी अनुसन्धान संस्थानका अनुसन्धानकर्ता मितेस श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘हामीले देखाएको चाहिँ फलफूल र तरकारी एउटा माध्यम मात्र हुनसक्छ । पानी छ, हावा छ । त्यो हिसावले फलफूल र तरकारी एउटा माध्यम हो । जसले मानिसलाई बिरामी पार्न सक्छ ।
अनुसन्धानकर्ता श्रेष्ठका अनुसार फलफूल अथवा तरकारी खाँदा राम्रोसँग धोएर मात्र खानुपर्छ । साथै एन्टिबायोटिकको जथाभावी प्रयोगलाई नियन्त्रण गर्नुपर्छ ।
नेपाल औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ का अनुसार एन्टिबायोटिक चिकित्सकको प्रेस्क्रिप्शनबिना बिक्रि वितरण गर्न नहुने औषधि हो । बीबीसी

निःसन्तानताको सहाराः डा. सानुमैयाको आवाज टोकियोसम्म
बिहीबार, वैशाख २५, २०८२
जेलको चिसो भुइँदेखि मिर्गौला फेलसम्म : ओलीको स्वास्थ्य संघर्ष
बिहीबार, वैशाख २५, २०८२
विश्व थालासेमिया दिवस २०२५ः गुणस्तरीय उपचारको पहुँचमा जोड
बिहीबार, वैशाख २५, २०८२
आवासीय चिकित्सकको आन्दोलन जारी, मेडिकल कलेजको अटेर
बुधबार, वैशाख २४, २०८२