नेभिगेशन

सडक सुरक्षाबारे पाठ्यक्रममै राखेर सचेत गराउन जरुरी

सडक दुर्घटनाबाट विश्वमा हरेक वर्ष लगभग ११  लाख ९० हजार मानिसको जीवन समाप्त भइरहेको छ । वर्षेनी २ देखि ५ करोड व्यक्ति सडक दुर्घटनाको घातक चोटबाट ग्रस्त छन् । धेरैलाई अपाङ्गता बनाएको छ । सडक ट्राफिक दुर्घटनाले व्यक्ति, परिवार र सिंगो राष्ट्रलाई आर्थिक क्षति त पु¥याइरहेको छ । साथै अधिकांश देशहरूलाई कुल गार्हस्थ उत्पादनको ३% आर्थिक भार पनि बढाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइदा सडक दुर्घटनाका कारण वर्षेनी  देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसङ्ख्या गुमाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  


नेपालमा कति व्यक्तिको दुर्घटनाबाट मृत्यु हुन्छ र कति अपाङ्ग हुन्छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । तर अस्पतालमा बिरामीको संख्या भने उल्लेख्य छ । सडक दुर्घटनामा हातखुट्टा, टाउकाको चोट, पेल्भिक इन्जुरी, लिम्ब फ्र्याक्सनलगायतका धेरै चोट लाग्ने गरेको पाइन्छ । टाउकाको चोट खतरनाक मानिन्छ । तत्काल शल्यक्रिया गर्न नसक्दा टाउकोका चोट लागेका बिरामीहरु ज्यान गुमाउन पुग्छन् । शल्यक्रिया समयमै भए पनि शारीरिक अपाङ्गतामा बाँच्न पुगेका बिरामीहरु पनि निकै छन् ।

अत्यधिक गति, सडकको दूरावस्था, सडक बत्तीको नराम्रो अवस्था, बाटो काट्ने गलत तरिका, गति रोक्ने गलत ठाउँ, गाडीको मर्मत नगर्नु, सडक चिन्हहरुको हेलचेक्र्याईं, थकाई, मद्यपान, मानिस र जनावरको असाधारण व्यवहार दुर्घटनाका कारण अन्तर्गत पर्छन् । सबै उमेरका व्यक्तिहरुमा सवारी साधनको चोटपटक गम्भीर र मृत्युजन्य हुनसक्छन् । 


संयुक्त राष्ट्रसंघीय प्रतिवेदनहरूले नेपालमा सवारी दुर्घटनाका कारण वर्षमा न्यूनतम ३ हजार ९२८ जनाको ज्यान जाने गरेको देखाएको छ । बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड र अमेरिकाको वासिङ्टन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको ‘नेपालमा चोटपटक भार’ सम्बन्धी अध्ययनले यातायात दुर्घटनाबाट वर्षमा औसत ७ हजारले ज्यान गुमाउने गरेको तथ्य देखाएको छ । 


स्वीडेनले सडक दुर्घटनाबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्यसहित ‘भिजन जीरो’ ऐन पारित गरिसकेको छ भने अष्टे«लियाले ‘टुवार्डस् भिजन जिरो’ ऐन पारित गरेको छ । बेल्जियम सरकारले छुट्टै इन्ष्टिच्यूट नै बनाएर नागरिकलाई सडक सुरक्षाबारे सिकाउँदै आएको छ । अन्य युरोपेली मुलुकहरूले प्राथमिक तहबाटै विद्यालयको पाठ्यक्रममा सडक सुरक्षाको विषय समेटेका छन् । नेपालमा पनि सडक सुरक्षाबारे पाठ्यक्रममै राखेर तथा नियमित अभियान चलाएर शिक्षा दिनुपर्ने आवश्यकता देखिन्छ । 
   

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप इन्जेक्सन