नेभिगेशन

एउटा परमात्मा र नर्सको हृदय एउटै हुनुपर्छ

के.सी. त्रि.वि. शिक्षण अस्पतालको सिनियर नर्सिङ सुपरभाइजर हुनुहुन्छ । उहाँ नेपाल क्रिटिकल केयर अफ डेभलपमेन्ट (एनसिसिडिफ) को वर्तमान अध्यक्ष पनि हो । के.सी. २०४१ सालमा स्टाफ नर्सको पदमा त्रि.वि. शिक्षण अस्पताल प्रवेश गर्नुभएको थियो । त्यही साल आईसियू शुरु भयो । त्यो बेला पहिलो नाइट ड्युटी उहाँले नै गर्नुभएको थियो । १९८६ को जुनमा क्रिटिकल केयर सम्बन्धि ९ महिने तालिमका लागि उहाँलाई जापान पठाइयो । १९८७ को मार्चमा नेपाल फर्किनुभयो । त्यसपछि पनि निरन्तर सेवा गर्दै जानुभयो । १० वर्षपछि सिस्टर पद (अधिकृत सरह) मा पदोन्तति भयो । सर्जिकल वार्डमा काम गर्दै रहँदा के.सी. नर्सिङ उपनियन्त्रक (उपसचिव सरह) मा बढुवा हुनुभयो । यसलाई नर्सिङ सुपरभाइजर पनि भनिन्छ । नेपालमा पहिलोपटक त्रि.वि.शिक्षण अस्पतालमा सन् २००८ अगष्टमा मिर्गौला प्रत्यारोपण हुँदा उहाँको नेतृत्वमा नर्सिङ परिचालित भएको थियो । ६ वर्ष अघि लक्ष्मीले सिनियर नर्सिङ सुपरभाइजर (सचिव) मा नाम निकाल्न सफल हुनुभयो ।

हाल सिनियर नर्सिङ सुपरभाइजर भएर काम गरिरहनुभएको छ । उहाँलाई कोभिड डेल्टा टू को व्यवस्थापन गर्न कमिटीमा खटाइएको थियो । के.सी. ले सिनियर सुपरभाइजर भएदेखि आइसियूको विस्तारमा सहयोग गर्र्दै आउनुभएको छ । सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरको आइसियू पनि के.सी. सिनियर सुपरभाइजर) को मातहतमा छ । साथै सर्जिकल ओपिडी, स्किन ओपिडी, ग्याँस्ट्रोइन्टेरोलोजी (जिआई) को इन्डोस्कोपी विभागको नर्सिङ व्यवस्थापन पनि उहाँले नै नेतृत्व गरिरहनुभएको छ ।

 

 

‘मैले धेरै डाक्टर र नर्स देखेँ । उहाँहरुसँग सहकार्य पनि गरेको छु । तर क्रिटिकल केयरका बिरामी र संस्थाप्रति समर्पित हुने वेस्ट क्वालिटी भएको डाक्टर प्रा.डा. सुवास आचार्यलाई लिएको छु ।’— के.सी. भन्नुहुन्छ—‘उहाँले सन् २०१६ मा नेपाल क्रिटिकल केयर डेभलप्मेन्ट फाउन्डेसन (एनसिसिडिएफ), सन् २०१७ मा क्रिटिकल केयर नर्सेस एसोसियसन अफ नेपाल (सिसिनान) स्थापना गर्न सक्रिय भूमिका खेल्नुभयो ।’

सिसिनानको पहिलो अध्यक्ष मिना पुन हुनुहुन्छ । त्यसपछिको दोस्रो अध्यक्ष के.सी . हुनुभयो । यसको कार्यकाल २ वर्षको हुन्छ । त्यो बेला बेलगाममा भएको रिजनल फेडरेसन अफ क्रिटिकल केयर नर्सेस (एनएफसिसिएन) सार्क को अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले अध्यक्षको जिम्मेवारी पाउनुभयो । सन् २०१९ मा रुपन्देहीको बुटवलमा फेडरेसन अफ क्रिटिकल केयर नर्सेस (एनएफसिसिएन) सार्कको भव्य अन्तराष्ट्रिय सम्मेलन भयो । त्यो बेला जापान, अष्ट्रेलिया, बेलायतलगायत धेरे देशबाट क्रिटिकल केयरमा काम गर्ने नर्सहरुको उपस्थिति रहेको थियो । यसप्रकारका विभिन्न कार्यक्रम गरिँदै आएकोमा पछिल्लोपटक मुम्बइमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इन्डियालाई उहाँले सार्क अध्यक्ष हस्तान्तरण गर्नुभयो ।

के.सी. क्रिटिकल केयर नर्सेस एसोसियसनको एक्रिडिटेसन बोर्डको अध्यक्ष पनि हुनुभयो । भन्नुहुन्छ—‘विल्ड द टिम’ भन्ने नाराका साथ डा. सुवासको नेतृत्वमा नर्सलाई वेसिक लाइफ सपोर्ट तालिम दिने, इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल भेन्टिलेटर एसोसिएट न्युमोनियाबारे सिकाउने, वेसिक फर नर्सेसको लागि दुई दिने कोर्ष, ६ महिनाको स्ट्रक्टर ट्रेनिङ, ३ महिनाको क्रिटिकल केयर नर्सिङ ट्रेनिङ गराउनेदेखि ट्र्याकेस्टोमी वर्कसप (घाँटीमा प्वाल पारेर स्वास फेराउने प्रकृया) जस्ता कार्यक्रममा सम्पूर्ण नर्सहरुलाई प्रशिक्षित गराउने काम भइरहेको छ ।

‘सुरुमा हामीलाई तालिम दिइयो । पछि हामीलाई नै प्रशिक्षक बनाएर विभिन्न स्थानमा कार्यक्रमहरु भइरहेको छ । नेशनल हेल्थ ट्रेनिङ सेन्टर (एनएचएन) लाई वेसिक क्रिटिकल केयर अफ नर्सेसको ३५ दिने तालिम सम्बन्धि कोर्ष कन्टेन्ट बनाएर पठाएका छौँ । अहिले स्वीकृत गरेर सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रम सातै प्रदेशमा पुगेको छ ।

त्यस्तै नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससिसिएम) ले क्रिटिकल केयर फर नर्सेसको प्रोटोकल निकालेको छ । यो इन्टरनेटमा निःशुल्क अध्ययन गर्न पाइन्छ ।’— के.सी. भन्नुहुन्छ—‘यो प्रोटोकल अध्ययन गरेर आइसियूसम्बन्धि जानकारी हाँसिल गर्न सकिन्छ ।’


‘यसैगरी इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल सम्बन्धि अभ्यास पनि निरन्तर सञ्चालनमा ल्याएका छौँ । अहिले इन्फेक्सन प्रिभेन्सनको यूनिट नै छ । डा. सुवासले क्रिटिकल केयरको हरेक सेक्टरमा अपरेशन थिएटरदेखि आइसियू, हाइ केयर, एसआइसियू जस्ता विशेष ठाउँहरुमा क्लोज मनिटरिङ गर्नुहुन्छ । तीन तीन महिनानामा डाटा प्रकाशित हुने गर्छ ।’— के.सी. भन्नुहुन्छ ।

‘अहिले नर्सहरुलाई ९ वटा सिट क्रिटिकल केयर मास्टर्स गराउन सक्षम भयौँ । पहिला २–३ वटा सिट थियो । अहिले काठमाडौ मेडिकल कलेज (केएमसी) र नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्यान्स) ले तीन सिटको मास्टर्स इन क्रिटिकल केयर नर्सिङ कार्यक्रम चलाएको छ । त्यस्तै चितवन मेडिकल कलेज (सिएमसी) ले पनि चलाएको छ ।’— के.सी. भन्नुहुन्छ । क्रिटिकल केयर नर्सिङ कार्यक्रम सक्षम गराउन डा. सुवास आचार्यलाई नै क्रेडिट दिनुहुन्छ के.सी. । यो कार्यक्रमलाई राष्ट्रको ठूलो उपलव्धी ठानेर सहयोग गर्ने पूर्व डिन प्रा.डा. दिव्या सिंह शाहलाई सम्झिनुहुन्छ । भन्नुहुन्छ—‘मिर्गौला प्रत्यारोपण र क्रिटिकल केयरको मास्टर्स कार्यक्रम चलाउन प्रा.डा. दिव्या सिंह शाह विना सम्भव थिएन । उहाँलाई पनि धन्यवाद दिन चाहान्छु ।’ यसैगरी त्रि.बि. शिक्षण अस्पतालमा अहिले इन्फेक्सन कन्ट्रोलको युनिट डा. प्रमेश सुन्दर श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको छ ।

के.सी. चुनौति बारे भन्नुहुन्छ—
अहिले नर्सहरु विदेश पलायन हुने प्रक्रिया एकदम बढ्दो छ । उनीहलाई पलायन नहुनका लागि राज्यले सोच्नुपर्छ । नर्सहरुलाई पढ्ने र तालिम गराउने व्यवस्था सहज गराउनुपर्छ । राज्यले यसलाई जटिल बनाउन हुँदैन । यो प्राविधिक रिसोर्स भएकाले मान्छेको जीवन मरणका कुरा जोडिएको हुन्छ । त्यसैले क्रिटिकल केयर नर्सको सेन्सेटिभनेस बुझ्नुपर्छ । सिधा भन्दा नर्स बिरामी अनुपात मिलाइएको छैन ।

आइसियूमा भेन्टिलेटरका बिरामलाई वान इज टु वान नर्स आवश्यक पर्छ । नन् भेन्टिलेट बिरामी टु इज टू वन भनिन्छ । कहिलेकाँही आइसियूमा बिरामी भेन्टिलेटरमा छैन तर मुख या दिशाबाट एकदम ब्लिडिङ भइरहेको अवस्थामा उसलाई छोड्न मिल्दैन । सास फेर्न पनि गाह्रो भइरहेको छ, मेसिन राखिएको छैन, रगत दिनुपर्ने छ, पिसाब कम आयो भनेर डायलाइसिस पनि चलाउनुपर्ने हुनसक्छ भने कहिलेकाँही एक जना बिरामीका लागि २–३ जना नर्स आवश्यक पर्न सक्छ ।

कहिलेकाँही दुइ जना बिरामीलाई एक जना नर्सले हेर्न सक्छन् । त्यसैले परिस्थित अनुसार व्यवस्थापन, आइसियू इन्चार्ज, सुपरभाइजर र आइसियूमा मोनिटर गर्ने डाक्टरले विशेष ख्याल गर्नुपर्छ । नर्सले असाइनमेन्ट फोकस गर्नुपर्छ ।

अब्बल क्रिटिकल केयर नर्समा हुनुपर्ने गुणबारे क.सी.को भनाइ यस्तो छ—
क्रिटिकल केयर नर्समा हुनुपर्ने सबैभन्दा अब्बल गुण भनेको सकारात्मक प्रवृत्ति हो । सकारात्मक प्रवृति नर्सको रौं रौं मा हुनुपर्छ । बिरामीको हातलाई छुँदा मायाले छोएको हुनुपर्छ । बिरामी सञ्चो होस् भनेर छुनुपर्छ । त्यसको सेन्सले को—अर्डिनेट गर्छ । बिरामीलाई दुइओटा औँला समातेर बाँधिराखेको हुन्छ । उसले ति औँला चेक गर्नुपर्छ । चेक नगरे त्यहाँ घाउ हुनसक्छ । पाइप नतानोस् भनेर रेसिस्टेन्ट गरेको हो । कानको साइटमा घाउ हुनसक्छ । कान, घाँटी, आँखाको नानी, नाकको प्वाल, मुख र दाँतमा फोहोर जम्नसक्छ । जसरी एउटा जन्मेको बच्चालाई आमाले राम्रो केयर गरेर, हुर्काएर सक्षम मानिस बनाएको हुन्छ । त्यसरी नै सक्षम नर्सले बिरामीलाई सञ्चो र स्वस्थ बनाएर पठाउन सक्छ ।

एउटा परमात्मा र नर्सको हृदय एउटै हुनुपर्छ । नर्सको पढाइ, चरित्र, कार्यको गति, पावर सबै इनर्जीको रुपमा प्रस्तुत हुन्छ । त्यो इनर्जीको रिजल्टले बिरामीको क्वालिटी अफ केयर सस्टेनिविलिटी भएर जान्छ । उसले कलेजबाट पूरा विद्या आर्जन गरेको हुनुपर्छ । आफूले सकेको तालिम पनि लिनुपर्छ । ड्युटीको क्रममा अलर्टनेस हुनुपर्छ । बिरामीको हरेक इन्फर्मेसनलाई क्रियटिभ्ली सोच्नुपर्छ ।

मोनिटरको अलाराम किन आयो ?, ब्लडप्रेसर किन घट्यो ?, भेन्टिलेटरको अलाराम किन आयो ?, रगतको रिपोर्टमा के तलमाथि छ ? , उसको दिशा किन गन्हायो ?, दिशा गर्दा कतै घाउ भयो कि ?, बिरामी किन निराश छ ?, परिवारसँग कुरा गर्न पाएन कि वा फाइनान्सियल समस्या छ की ? एभ्रिथिङ अर्थात ३६० डिग्री कभर गर्यो भने मात्र काम गर्न सकिन्छ । त्यसमा डाक्टरले अलिकता इफोर्ट हालिदिए सुनमा सुगन्ध हुन्छ । दुवैको आत्मा र सोच बिरामीप्रति समर्पित रहनुपर्छ । कोही कसैसँग रिसाउन पाइँदैन । गाह्रो मान्न पाइँदैन । त्यो बिरामीले आफ्नो घर, जग्गा डिपोजिट राखेर ऋण काढेर बचाउँछु भनेर ल्याएको मान्छेलाई सकेसम्म बचाउनैपर्छ । हाम्रो काम नै बिरामी बचाउने हो । जसका लागि भित्रको चित्त राम्रो हुनुपर्छ । ‘नर्सले डिग्री गरेको छ तर बिरामीलाई माया गर्दैन’ भने त्यो नर्सको भ्यालू हुँदैन ।

राज्यले गर्नुपर्ने पहलबारे के.सी. भन्नुहुन्छ—
हरेक अस्पतालमा नर्सिङ फ्याकल्टी र नर्सिङ कलेजको इन्ट्रिगेसन हुन जरुरी हुन्छ । तवमात्र इभिडेन्स वेस प्राक्टिस गराउन सम्भव हुन्छ । कलेजले स्पोशलाइज कोर्षको कन्टेन्ट करिकुलम डेभलवमेन्ट गर्नुपर्छ । कसैलाई क्रिटिकल केयरमा जान मन लागेको छ भने फेलोशिप, ट्रेनिङ डेभलभ गर्नुपर्छ । त्यसका लागि क्लिनिसियनसँग समन्वयन गर्नुपर्छ । डाक्टरले नर्सलाई पढाउन हुन्न नर्सले डाक्टरलाई पढाउन हुन्न भन्ने होइन । इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको हजारौँ हजारौँ डाक्टरलाई अहिले नर्सले पढाइराखेका छन् । डाक्टरले हात नधोएको अवस्थामा ‘तपाइले हात धुनुभएको छैन, हात धुनुहोस्’ भनेर इन्फेक्सन कन्ट्रोल नर्सले आदेश दिन सक्छ । नर्सले राम्रो कुरा भन्न पाइन्छ ।

यसैगरी स्वास्थ्य संस्था एवं अस्पतालले आफूसँग उपलब्ध सेवा सम्बन्धि बेसिक तालिम उपलब्ध गराउनुपर्छ । राज्यले बिएसी नर्सिङ र मास्टर इन नर्सिङलाई मात्र उत्पादन गर्दै आएको छ तर स्पेशलाइजेसन गर्ने व्यवस्था गरेको छैन । बल्ल क्रिटिकल केयरको व्यवस्था भएको छ । नर्सिङको कुनैपनि कन्टेन्ट इभिडेन्स बेस प्राक्टिस हुनुपर्छ । जुन कन्टेन्ट कक्षामा पढाइन्छ त्यो कन्टेन्टको डेमोन्सट्रेसन सिम्युलेसन र प्राक्टिस बराबर हुनुपर्छ । तब मात्र नर्सको हात बस्छ ।

अस्पतालहरुलाई स्पेशलाइज नर्सको अवश्यकता हुन्छ । नर्सले बेसिक ज्ञान लिएर आएको हुन्छ । क्षमतामा कमी हुनसक्छ । उसलाई एक महिनाको तालिम दिएमा त पर्फेक्ट भइहाल्छ नि । उसलाई एक्पोजर मात्र दिए पुग्छ । बिरामीको प्राण नर्सको मुठ्ठीमा हुन्छ । तिनलाई मोटिभेट र रिटेन गर्नेबारे राज्यले सोच्न जरुरी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्