नेभिगेशन

आईभिएफ सेन्टरहरूलाई नियमनको जरुरी  

 

पछिल्लो समय निःसन्तान दम्पतीलाई लक्षित गरी इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेन्टरहरू खुलिरहेका छन् । कतिपय सेन्टरहरूले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म शत्प्रतिशत ग्यारेन्टीका साथ सन्तान सुख दिने विज्ञापनहरू पनि दिइरहेको पाइन्छ । यस्ता विज्ञापनको पछि लागेर सन्तानको चाहना बोकेका कयौं दम्पतीहरू आसैआसमा विभिन्न सेन्टरहरूमा भौतारिरहेको देखिन्छ । यसरी आइभिएफ सेन्टर पुगेर लाखौं खर्च गर्दा पनि सन्तान सुख प्राप्त हुन नसकेपछि कति त निराश भएर फर्किन बाध्य हुन्छन् । विश्वका कुनै पनि देशमा  आइभिएफ विधिमार्फत् गर्भधान भएकामध्ये करिब ४०–४५ प्रतिशतभन्दा बढी लाइभ बर्थ रेट आउन सकेको छैन । तर नेपालमा लाइभ बर्थ रेटको तथ्याङ्क राख्ने र आइभिएफलाई नियमन गर्ने सरकारी संयन्त्र नबनेकाले सेन्टरहरुले आफूखुशी तथ्यहीन प्रचार गरिरहेका छन् । 

नेपालमा आइभिएफलाई विशिष्टीकृत सेवाका रूपमा राखिएको छ । यसो हुँदा हुँदै पनि कतिपय आइभिएफ सेन्टरहरूले गलत तथ्याङ्क प्रचार गरेर निःसन्तान दम्पतीलाई भ्रमित बनाइरहेको पाइन्छ ।  त्यसैले नेपालको अवस्था सुहाउँदो एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) निर्देशिका जारी हुन जरुरी भइसकेको छ । अन्तर्राष्ट्रिय जगतमा इन्टरनेसनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (आइसिमार्ट) ले आइभिएफ सेन्टरहरूको गुणस्तर हेर्ने गर्दछ । अतः नेपाल सरकारले पनि नेशनल कमिटी फर मोनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी ट्रिटमेन्ट (एसिमार्ट) बनाउनुपर्छ र आइभिएफ सेन्टरहरूको नियमन गर्नुपर्छ । 

आइभिएफको क्वालिटी कन्ट्रोल गर्न एआरटी कमिटीको मुख्य भूमिका हुन्छ । एआरटी कमिटीको मातहतमा नेशनल एआरटी रजिस्ट्री हुनुपर्छ । यो रजिस्ट्रीमा हरेक सेन्टरले आफ्नो सही तथ्याङ्कराखे÷नराखेको हेर्ने गरिन्छ । कम्तीमा ५–६ वर्ष आइभिएफमा काम गरेको अनुभवी व्यक्तिलाई एआरटी रजिस्ट्रीको जिम्मेवारी दिनुपर्छ । एआरटी रजिस्ट्रीले सबै सेन्टरलाई सर्कुलर गर्न सक्नुपर्छ । तर, अहिले हरेक सेन्टरलाई बोलाएर डाटा सब्मिट गर्न स्वास्थ्य मन्त्रालय चुकेको छ । यो मन्त्रालयको नैतिक जिम्मेवारी हो । इन्टरनेसनल कमिटी फर एआरटी मनिटरिङ (इकमार्ट) मा एउटा स्टैन्डर्ड फरम्याट बनाइएको हुन्छ । अतः निःसन्तान दम्पतीको उपचार वैज्ञानिक हुनुपर्छ । उनीहरूलाई कन्भिन्स गराउन सक्नुपर्छ । दम्पतीलाई सही सूचना दिएर गरिएको उपचारले नतिजा राम्रो आउँछ । आइभिएफ शत्प्रतिशत सफल हुने विषय होइन । सबै सूचक राम्रो भएर  पनि कतिपय घटनामा असफलता प्राप्त हुन्छ । यस विषयमा दम्पतीलाई खुलस्त भन्न सक्नुपर्छ । सेवा दिनेले इमान्दार भएर कानुनी प्रक्रिया पुर्याएर अभ्यास गर्नुपर्छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप इन्जेक्सन