नेभिगेशन

किन लगाउने सनस्क्रिन ?

सनस्क्रिन लगाउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

गर्मी मौसमको सुरुवातसँगै धेरैलाई आफ्नो छालाको चिन्ता हुन थाल्छ । किनकि चर्को घामको हानिकारक किरणले छालामा सनर्बन, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखा पर्छ । छालामा हुने यस्ता समस्याबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्छ ।

छालालाई घामको सम्पर्कबाट बचाउन सनस्क्रिनको प्रयोग गर्नुपर्ने कुरा त धेरैलाई जानकारी हुन्छ । तर कस्तो सनस्क्रिम लगाउने र कसरी लगाउने भन्ने कुराको भने दुविधा हुन्छ ।


किन लगाउने सनस्क्रिन ?

सूर्यबाट आउने किरणमा यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न लाइट हुन्छन् । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई केही नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न हामीले सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

गर्मी मौसममा मात्र होइन बाह्रै महिना सनस्क्रिन लगाउनु उत्तम हुन्छ । किनकि जाडोमा पनि सूर्यबाट आउने किरणमा यूबीए र यूबीबीजस्ता हानिकारक किरण आइरहेको हुन्छ ।

कति एसपीएफको सनस्क्रिन लगाउने ?

एसपीएफ ३० र एसपीएफ ५० कतिको सनस्क्रिन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ । एसपीएफ ३० र एसपीएफ ५० मा खासै धेरै फरक हुँदैन । साधारणतया ३० एसपीएफ लगाउँदा पनि हुन्छ । तर जसको अनुहारमा चाया, पोतो, कालो दाग छ, जसलाई दिनभरि घाममा काम गर्नुपर्छ उनीहरूले एसपीएफ ५० लगाउँदा राम्रो हुन्छ । घामको एलर्जी हुनेले एसपीएफ ८० भएको सनस्क्रिन लगाउन सक्छन् ।

कस्तो सनस्क्रिन लगाउने ?

सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै९कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

कसरी लगाउने ?

घरबाट निस्कनुभन्दा १०–१५ मिनेटअघि सधैं सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि प्रत्येक दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । वाटर प्रुफ सनस्क्रिन पानीमा भएको लगभग ४० देखि ८० मिनेटको लागि प्रभावकारी हुन्छ, त्यसैले पानीबाट बाहिर निस्केपछि यसलाई पुनः लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा मात्र होइन घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

सनस्क्रिन लगाउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

एसपीएफ कति छ र तपाईं कति घामको सम्पर्कमा आउनुहुन्छ भन्ने कुरा ध्यान दिएर मात्र सनस्क्रिन किन्नुपर्छ । सनस्क्रिन किन्दा एसपीएफ मात्र नभइकन पराबैजनी किरण ए पनि भएको हेर्नुपर्छ । यदि ९ पीएं अथवा चारवटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुन्छ । घाममा निस्कनुअघि टोपी, चस्मा र पूरा बाहुला लुगा पनि लगाउनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
डा. अनिलकुमार भट्ट
डा. अनिलकुमार भट्ट

डा. भट्ट छाला तथा यौनरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले एमबीबीएस, डीआईडीडीएस, एमडी, र पीएचडीसम्मको अध्ययन पूरा गर्नुभएको छ। उहाँ डर्म डाइनामिक्स स्किन, हेयर एण्ड लेजर क्लिनिकका सञ्चालक हुनुहुन्छ । 

थप डाक्टर भन्नुहुन्छ
ट्रेन्डिङ