नेभिगेशन

मृत्यु दर र आई.सि.यू.: मेडिकल उपचारको प्रभावकारिता साँचिकै यसमा निर्भर गर्छ ? 

 

सबैभन्दा सिकिस्त र गम्भीर अवस्थाका बिरामी राख्ने ठाउँ आई.सि.यू. हो । यसलाई नेपालीमा सघन उपचार कक्ष भनिन्छ । आई.सि.यू.को नाममा ठगिनसक्ने बिरामीको समस्यालाई ध्यानमा राखेर यसलाई वर्गिकरण गर्न जरुरत पर्छ । तर हाम्रो देशमा आई.सि.यू.को वर्गिकरण गरिएको छैन ।

आई.सि.यू. लाई लेवल वन, लेवल टू र लेवल थ्री गरी ३ प्रकारमा वर्गीकरण गरिएको हुन्छ । यही आधारमा सिकिस्त बिरामीको अवस्था पहिचान गरी उपचार सेवा प्रदान गरिन्छ ।  

लेवल थ्री आई.सि.यू.

मल्टी अर्गान सपोर्ट गर्ने सबै सिस्टम भएको आई.सि.यू. लेवल थ्री आई.सि.यू. हो । लेवल थ्री आई.सि.यू.को हरेक वेडमा मोनिटर,  भेन्टिलेटर, इको, अल्ट्रासाउण्ड, डायलाईसिस मेसिनलगायत सम्पूर्ण सुविधा हुुनुपर्छ । लेवल थ्री आई.सी.यू.मा एकजना बिरामी केयरका लागि एक जना नर्स अनिवार्य चाहिन्छ । लेवल थ्रीमा एकजना चिकित्सक चौबीसै घण्टा रहनुपर्छ ।

लेवल टू आई.सी.यू.

कम सिकिस्त तर सामान्य वार्डमा पठाउन नसक्ने बिरामी राख्ने आई.सि.यू. लेबल टू आई.सि.यू हो । यसलाई स्टेप डाउन वा हाइकेयर युनिट पनि भनिन्छ । यो आई.सि.यू. मा अर्गान सपोर्ट सिस्टम चलाइँदैन । बिरामीलाई भेन्टिलेटरमा राखिएको हुँदैन र ब्लडप्रेसर बढाउने औषधि पनि चलाइँदैन । तर बिरामीको अवस्था बिग्रिएमा लेवल ३ मा लैजानुपर्ने अवस्थाका बिरामी यस प्रकारको आई.सि.यू.मा राख्ने गरिन्छ । लेवल टू आई.सि.यू. मा एक जना नर्सले २ जना सम्म बिरामी केयर गर्न सक्छन् ।  

icu-1743428649.jpg
 

लेवल वन आई.सी.यू.

बिरामीको कुनै पनि अंगमा खराबी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाई अवलोकनमा राख्ने आई.सी.यू.लेवल वन आई.सी.यू.हो । यसमा सामान्य खालको मोनिटर सिस्टम हुन्छ । लेवल १ आई.सी.यू.मा एकजना नर्सले ३—४ जना सम्म बिरामी हेरचाह गर्न सक्छन् ।

नर्सको हातमा जीवन

आई.सी.यू.का बिरामीको रिजल्ट राम्रो हुने नहुने भन्ने नर्सको हातमा धेरै निर्भर  गर्छ । डाक्टरको काम बिरामीको पर्यवेक्षण र तत्काल संकट व्यवस्थापन गर्ने हो । जस्तोः बिरामीले सास फेर्न नसकेमा पाइप हाल्ने, रक्तचाप बढेमा औषधि चलाउने, डायग्नोसिस र उपचार गर्ने काम डाक्टरले गरेको हुन्छ ।  तर आई.सी.यू. मा बसेर बिरामीलाई औषधि दिने, समस्या आएमा भेन्टिलेटर जोड्ने लगाएतका सबै काम नर्सले गर्छन् । 

पर्याप्त र दक्ष जनशक्ति  अनुसासित एवं स्ट्रिक्ट इन्फेक्सन कन्ट्रोल मेकानिजम भएको स्वास्थ्य संस्थाको आई.सी.यू.मा पुगेका बिरामीलाई बचाउन सकिने सम्भावना उच्च हुन्छ ।  

क्यानडाबाट २०१२ मा क्रिटिकल केयर मेडिसिनमा फेलोसिप गरेर आएको एक वर्षपछि त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा सन् २०१३ बाट क्रिटिकल केयर मेडिसिनमा डिएम कोर्ष शुरु गर्न सफल भयौं । शुरुमा हामीले रोयल कलेज अफ क्यानडासँगको  सहकार्यमा यो कोर्ष शुरु  गरेका थियौं । 

आई.सी.यू.का प्रकार

ओपन मोडल आई.सी.यू. 

बिरामीलाई आई.सी.यू.मा राखेपछि सम्बन्धित डाक्टहरुको निगरानी रहने आई.सि.यू. ओपन आई.सी.यू.हो । जस्तोः मिर्गौला रोग विशेषज्ञ डाक्टरले मिर्गौला, मुुटुको डाक्टरले मुटु, बे्रनको डाक्टरले बे्रन हेर्छन् । यो आई.सी.यू.मा बाहिरबका डाक्टर आएर सबैले आ–आफ्नो विशेषज्ञ भूमिका निर्वाह गर्छन् । यसमा एकजना डाक्टरको मात्र जिम्मेवारी हुँदैन । नेपालमा भएका धेरैजसो आई.सी.यू.ओपन मोडलका छन् । 

क्लोज्ड मोडल आई.सी.यू. 

क्रिटिकल केयर मेडिसिन अध्ययन गरेका इन्टेन्सिभिष्ट डाक्टरहरुले मात्र हेर्ने आई.सी.यू.क्लोज्ड आई.सी.यू. हुन् । यसमा एक  जना इन्टेन्सिभिष्ट डाक्टरले बिरामीको सबै उपचारको जिम्मा लिएको हुन्छ । आई.सी.यू.मा रहेको बिरामीको सम्पूर्ण जीम्मेवारी लिने डाक्टरलाई इन्टेन्सिभिष्ट डाक्टर भनिन्छ । क्लोज्ड आई.सी.यू. मोडल ओपन आई.सी.यू.को तुलनामा निकै भरपर्दो मानिन्छ । 

डाक्टरहरुको अहंकारको परिणाम 

क्लोज्ड आई.सी.यू.को कन्सेप्ट आइसकेपछि परिणाम राम्रो हुनथाल्यो । विकसित मुलुकहरुमा सन् १९९० देखि नै ओपन आई.सी.यू. बन्द हुन थालेको थियो । तर नेपालमा क्लोज्ड आई.सी.यू. बल्ल सुरु हुदैँ छ । यसको मुख्य समस्या भनेको डाक्टरहरुकै अहंकार हो । आई.सी.यू. क्लोज्ड मोडलमा सञ्चालन हुन थालेपछि त्यसको जिम्मेवार केवल इन्टेन्सिभिष्ट डाक्टरको मात्र हुन्छ । यसबाट बाहिरका सम्बन्धित विषयका डाक्टरहरुलाई असह्य महसुस हुन्छ ।

‘मेरो विषयमा मैले भनेका हुनुपर्छ’ भन्ने अहंकारका कारण नेपालमा क्लोज्ड मोडलका आई. सी.यू राम्रो सँग चल्न सकेको छैन । अनि आई.सी.यू. इन्टेन्सिभिष्ट जनशक्तिको पनि कमी छ । संसारभरका विकसित देशहरुमा इन्टेन्सिभिष्टले चलाएको क्लोज्ड मोडलका आई.सी.यू. नै चलनचल्तीमा भएको पाइन्छ । 

कसरी पु¥याउने पहुँच ?

नेपाल ७ प्रदेशमा विभाजन भइसकेको अवस्थामा हरेक प्रदेशका टर्सरी लेवलका (अञ्चल, क्षेत्रीय) अस्पतालमा २० बेडको लेवल थ्री आई.सी.यू. र २० वेडको लेवल टू आई.सी.यू.हुनुपर्छ । लेवल वन, लेवल टू र लेवल थ्री आई.सी.यू. बीच राम्रो नेटवर्किङ र रिफरल सिस्टम हुनुपर्छ 

हरेक जिल्लामा रहेका जिल्ला अस्पतालमा मात्र १० बेडको लेवल वन आई.सी.यू. बनाउनुपर्छ । जिल्ला अस्पतालबाट रिफर भएर आउने उप—क्षेत्रीय, क्षेत्रीय अस्पतालमा लेवल टू आई.सी.यू.बनाउनुपर्छ । हरेक मेडिकल कलेजले कम्तिमा पनि २० वेडको लेवल थ्री आई.सी.यू. राख्नुपर्छ । सरकारले यो भिजन राखेमा कुनै गाह«ो छैन । स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलले अनिवार्य गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएमा कुनै गारो छैन । हस्पिटल सञ्चालनको लाइसेन्स दिने काम स्वास्थ्य मन्त्रालयको भएकाले मन्त्रालयले चाहेमा यी सबै समस्या समाधान गर्नसक्छ । 
 

 

आई.सी.यू. किन खर्चिलो ? 

८—१० बेडको नयाँ आई.सी.यू. खोल्नुपरेमा न्यूनतम् १५ देखि २० करोड रुपियाँ खर्च हुन्छ । हरेक बेड, भेन्टिलेटर, मोनिटरलगायतका उपकरणहरु महँगा हुन्छन् । 

आई.सी.यू. बिरामीको मृत्यदर

बिरामीलाई आई.सी.यू.मा लगेपछि ‘बिरामी पनि मर्छ र पैसा पनि सकिन्छ’ भन्ने धेरै मानिसको सोचाइ रहेको पाइन्छ । यो गलत सोचाइ हो ।  बाँच्ने र मर्ने भन्ने कुरा बिरामीको रोगको प्रकृति र कम्प्लिकेसनको अवस्थामा भर पर्छ । 

मेडिकल बिरामीको मृत्युदर बढि हुन्छ भने सर्जिकल बिरामीको कम हुन्छ । जनशक्ति विकासका कारण अमेरिका, जापान, वेलायतलगायतका विकसित मुलुकका आई.सी.यू.मा हुने बिरामीको मृत्युदर १० प्रतिशत छ । भारतका कर्पोरेट अस्पतालहरुमा आई.सी.यू.मा हुने बिरामीको मृत्युदर १५ देखि २० प्रतिशत सम्म छ । तर नेपालमा भने ३०—४० प्रतिशत छ । 

नेपालमा सर्जिकल बिरामीको मृत्युदर करिब २० देखि ३० प्रतिशत छ भने मेडिकल बिरामीको मृत्युदर ४० प्रतिशत जति छ । आई.सी.यू.मा पुगेका सबै बिरामी मर्दैनन । करिब ६० देखि ७० प्रतिशतसम्म बाँच्छन् । 

जस्तोः त्रि.बि. शिक्षण अस्पतालमा हामी एक वर्षमा ८०० क्रिटिकल केयरमा बिरामी हेर्छौं । तीमध्ये ३०० जना भेन्टिलेटरमा गएपनि ७० प्रतिशत बिरामी बाँचेर घर फर्किन्छन् । 

डाक्टरको नैतिकता

बिरामीको  अवस्था हेरेर उपचार गर्ने कि नगर्ने भन्ने बिरामीको परिवारलाई स्पष्टसँग जानकारी गराउनुपर्छ । जस्तोः ९० वर्षको बृद्ध मान्छेको ब्रेन ड्यामेज भएर आएको छ र जति उपचार गरेपनि बाँच्दैन भने बिरामीको अवस्था उसको परिवारलाई भनिदिनुपर्छ । बालुवामा पानी हालेजस्तो कुनै उपलब्धि नभएमा उपचारको अर्थ हुँदैन ।  

क्रिटिकल केयरमा पुगेका बिरामीलाई कम्प्लिकेसन आउँछ भन्ने थाहा हुँदाहुँदै कतिपय बिरामीका आफन्त नेग्लिजेन्सको रुपमा लिन्छन् र गलत उपचारको आरोप लगाउँछन् । उपचार गर्दा आउनसक्ने कम्प्लिकेसन डाक्टरले चाहेर भएको हुँदैन । बिरामीको अवस्थाबारे आफन्तलाई हरेक दिन काउन्सिलिङ गरिरहेको हुन्छ । क्रिटिकल केयरका डाक्टरले बिरामीको इन्ड अफ लाइफ केयरलाई पनि हेर्दछन् । 

क्रिटिकल केयरमा गर्नुपर्ने काम 

 

नियमन

सरकारको सम्बन्धित निकायले आई.सी.यू. युनिटलाई नियमन गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसकेको अवस्थामा नेप्लिज सोसाइटी फर क्रिटिकल मेडिसिनलाई अधिकार दिनुपर्छ । 

 

आई.सी.यू. वर्गिकरण

कुन लेवलको आई.सी.यू. भन्ने कुरा लेवल छुट्याउन जरुरी छ । यसबाट बिरामी र बिरामीका आफन्त धेरैहदसम्म आर्थिक दोहनबाट सुरक्षित हुनसक्छन् ।  

 

आई.सी.यू.रजिष्ट्री

स्वास्थ्य मन्त्रालयमा मुलुकभर रहेका अस्पतालहरुको रेकर्डसमेत नभएको अवस्थामा आई.सी.यू. वेडको एकिन तथ्यांक छैन । मुलुकभर रहेका आई.सी.यू. वेडको रजिष्ट्री शुरु  भएको अवस्थामा कुन ठाउँमा आई.सी.यू. वेड खाली छ भन्ने एकिन पहिचान गर्न सकिन्छ । 

जनशक्ति

त्रि.बि.शिक्षण अस्पतालजस्तो पब्लिक इन्स्टिच्युटमा म्यानपावरको दरबन्दी बढाउनुपर्छ । एक जना बिरामी बराबर एक जना नर्सको सुविधा उपलब्ध गराउन सकेको अवस्थामा आई.सी.यू.का बिरामीलाई धेरै हदसम्म केयरमा मद्धत पुग्छ । 

पारिश्रमिक

सरकारले नर्सको न्युनतम तलब तोकिदिनुपर्छ । श्रम शोषण धेरै हावी छ । आई.सी.यू.मा काम गर्ने दक्ष नर्स राख्ने र आई.सी.यू. मा काम गर्ने नर्सको तलब अरुभन्दा थप हुनुपर्छ ।

तालिम 

आई.सी.यू.मा काम गर्ने न्यून दक्ष जशक्तिको अभावका कारण समस्या भइरहेकाले आई.सि.यू. केयरसम्बन्धि नर्स र चिकित्सकलाई फेलोसिप तालिम उपलब्ध गराउन जरुरी हुन्छ । तालिमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्छ । यसको लागि सरकारले सहयोग  गर्नुपर्छ । अहिले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालले बेलाबेलामा क्रिटिकल केयरसम्बन्धि तालिम प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
प्रा. डा. सुुवास आचार्य
प्रा. डा. सुुवास आचार्य

प्रा. डा. आचार्य वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ हुनुहुन्छ । उहाँ हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक हुनुहुन्छ। यसअघि उहाँ क्रिटिकल केयर मेडिसिन विभागको प्रमुखको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

थप डाक्टर भन्नुहुन्छ