नेभिगेशन

काठमाडौँमा वायु प्रदूषणको स्तर खतरनाकः उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक स्तरमा पुगेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार, काठमाडौँमा अहिले ३४८ एक्यूआई मापन गरिएको छ, जुन खतरनाक श्रेणीमा पर्ने देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्नसक्ने जनाउँदै संवेदनशील समूह, जस्तै बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिनुभएको छ।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न र अत्यधिक प्रदूषित क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रणका लागि आ(आफ्नो क्षेत्रबाट पहल गर्न, तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

वन डढेलो, औद्योगिक क्रियाकलाप, तथा निर्माण कार्यबाट बढ्दै गएको प्रदूषणको रोकथामका लागि सरकारले तत्काल सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिएको छ। मन्त्रालयले फोहर व्यवस्थापन सुधार गर्न, सार्वजनिक यातायात प्रयोग बढाउन, तथा वन डढेलो नियन्त्रणमा सक्रिय पहल गर्न सम्बन्धित निकायलाई आह्वान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट