नेभिगेशन

बाथरोगबाट महिलाहरू बढी पीडित 

 

अधिकांश मानिसहरु बाथ रोग भन्ने बित्तिकै ‘यूरिक एसिड’ भन्ने बुझ्ने गर्छन् । सर्वप्रथम यो भ्रम तोड्न चाहन्छु । हाम्रो शरीरमा रोगसँग लड्ने एन्टिबडीज हुन्छ । जब त्यो एन्टिबडीजले हाम्रो शरीरलाइ नै बाहिरको तत्व ठानेर नष्ट गर्न थाल्छ । त्यसले जोर्नी, आँखा, मुटु, मिर्गौला, फोक्सो, छाला लगायत शरीरका अन्य अंगहरूलाई हानी पुर्याउन थाल्छ । त्यसलाई अटोइम्युन डिजिज अर्थात बाथ रोग भनिन्छ ।

यो हाम्रै शरीरमा उत्पति हुने रोग हो । वंशाणुगत रुपमा एक पुस्ताबाट अर्को पुस्तामा एन्टिबडीज र जेनेटिक लक्षणहरु ट्रान्सफर हुनसक्छन् । बाथरोग विभिन्न किसिमका हुन्छन् ।

उमेर, लिङ्ग अनुसार यसका लक्षणहरू फरक फरक हुन्छन् । नवजात शिशुदेखि बृद्धबृद्धासम्मलाई बाथ रोग हुनसक्छ ।  महिला र पुरुषमा देखिने बाथरोग फरक फरक हुन्छन् । विश्वभर नै बाथरोगबाट महिलाहरू बढी पीडित देखिएका छन् ।

त्यसमध्ये पनि गठिया बाथ (¥युमाटोइड आर्थराइटिस) ले पुरुषको तुलनामा महिलाहरूलाई बढी असर गर्छ ।  वाथमा दुखाई एकदमै कडा हुन जरूरी छैन । निरन्तर मन्द दुःखाइ भएमा पछि समस्या दिनसक्ने ठानेर समयमै उपचार गरेमा साधारण औषधि र एक्सरसाइजबाट नियन्त्रणमा राख्न सकिन्छ । हाम्रो समाजमा बाथ रोगका कारण गर्भ खेर जाने समस्या छ ।

बिरामीहरु कति ठाउँ डुलेर हामीकहाँ आउँछन् । बाथको समस्या भएका महिलाहरूमा बच्चा बस्दा सालनालमा रगत जम्मा भएर न्युट्रिसन पुग्न सक्दैन । राम्रोसँग रगत सञ्चालन नभएमा घरिघरी गर्भ खेर जानसक्छ । त्यसैले सबैले बाथरोगको लक्षण थाहा पाउन जरुरी हुन्छ । 

artharities-1744026902.jpg
बाथरोगका १६ लक्षण

  •    हातका औंलाहरु दुख्ने वा सुन्निने
  •     हात खुट्टाका औंला निलो सेतो हुने
  •    बिहान उठ्ने बेला हात, खुट्टा वा जीउ अरठ्ठो हुने
  •    खुट्टाको बूढी औंला वरिपरी रातो भएर टेक्न नहुने
  •     गोलिगाँठो दुःख्ने र सुन्निने
  •     राती तथा बिहान ढाड दुःख्ने
  •     बिहान ढाड अरठ्ठो हुने 
  •    घुँडा दुःख्ने र सुन्निने
  •    कुर्कुचा दुःख्ने (प्रायः बिहान उठ्ने बेला)
  •    पाइताला पोल्ने (प्रायः राती) वा झम्झमाउने
  •    पिडौंला दुःख्ने वा करकर खाने
  •   जीउ गल्ने र छिटो छिटो थकान हुने
  •   मासंपेशीहरु कमजोर हुने
  •    छालामा डावर अथवा निको नहुने घाउ आइरहने
  •    बारम्बार आँखा रातो हुने तथा दुःख्ने
  •    चिसोमा काम गर्दा हात खुट्टा निलो हुने  

(डा. भोछिभोया रातोपुलस्थित नेशनल बाथरोग सेन्टरमा कार्यरत हुनुहुन्छ । )
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्