नेभिगेशन
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश

नेपाल आँखा अस्पतालले ५० प्रतिशत वृद्धिको लक्ष्य सहित शल्यक्रिया सेवा बढाउने तयारी 

अस्पतालमा आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार उपकरणबाट सेवा

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश गरेको छ । २०३० चैत्र २६ गते त्रिपुरेश्वरमा जनसहयोगबाट समाजसेवी तथा नेत्र विशेषज्ञहरुबाट आजभन्दा ५१ वर्ष अघि सेवा शुरु गरिएको थियो ।

नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो  हो । यसले ५१ वर्षको अवधिमा  ३६ लाख २ हजार ५४ जनालाई उपचार सेवा प्रदान गरेको छ भने १ लाख ४८ हजार ३४४ जनाको आँखाको शल्यक्रिया गर्न सफल भएको छ । 

यस अस्पतालबाट १६ जना नेत्र विशेषज्ञ एवम् १२५ जना कर्मचारीहरुबाट सेवा प्रदान गर्दैै आएको छ । जसको कारण बिरामीहरुले उपचारका लागि एक घण्टा भन्दा बढी कुर्नुपर्दैन ।  आँखाको विशिष्ट सेवा जस्तैः मोतिविन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दू, बालआँखा सेवालगायत एवं आरओपीको लागि अलग्गै विभागहरुबाट सेवा प्रदान गरिंदै आएको अस्पतालले जनाएको छ  । यस अस्पतालमा आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार उपकरणबाट सेवा दिईंदै आएको छ । आँखा उपचार सेवालाई प्रभावकारी तथा थप बैज्ञानिकीकरण गर्न आवश्यक अनुसन्धान कार्यका लागि आईआरसी गठन गरी काम शुरु गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले बताउनुभयो । 


गत साउन यता ८ महिनाको अवधिमा अस्पतालमा एक लाख ३१२ जनाले बहिरंग सेवा प्राप्त गर्न सफल भएका छन् । यो अवधिमा दुईहजार ९६जनालाई इमर्जेसी सेवा र पाँच हजार ७ सय ९५ जनाको सर्जरी गरिएको छ । यसमध्ये आँखा शिविरबाट ४० हजार ६ सय १५ जनाको आँखा परीक्षण र ८ सय ८३ जनाको सर्जरी भएको छ । 
अस्पतालमा दैनिक ६  सय देखि ९ सय जनाको आँखाको उपचार हुने गरेको छ । विद्यालय स्तरका विद्यार्थीहरुको आँखा जाँच गरी निःशुल्क चश्म ाप्रदान गर्ने गरिएको छ । यस वर्ष मात्र ९ हजार ३३९जनाको दृष्टि परीक्षण गरी ४९७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । 


भविष्यमा नेपालआँखा अस्पतालमा विरामीको संख्या बढ्ने अपेक्षा गरिएको छ । यसका लागि अस्पतालले अहिलेदेखि नै पूर्व तयारी गर्दै आएको प्रमुख कार्यकारी अधिकृत गोसाईको भनाइ रहेको छ । यसै क्रममा अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत एम.डि., अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभीटी) अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको छ । विशिष्ट सेवाको विभिन्न सेवामा फेलोसिप तालिमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने समेत लक्ष्य रहेको छ । हाल अस्पतालमा एम.डि. मा १२ जना, अप्टोमेट्रिमा २४ जना र नेत्र सहायकमा ३७ जनाविद्यार्थीहरु अध्ययनरत रहेको अस्पतालले जनाएको छ  । 


अस्पतालले दिने सेवाको उच्च गुणस्तर कायम गर्दै विशेषगरी विपन्न र सिमान्तिकृत वर्गको पहुँचका लागि सर्वसुलभ सेवा उपलब्ध गराइएको छ । आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्कमा वा निःशुल्क सेवा समेत प्रदान गरी आएको छ । नेपाल आँखा अस्पतालले आँखा जाँच तथा परीक्षणका लागि आवश्यक उपकरणहरु प्रत्येक वर्ष अत्याधुनिक गर्दै लगेको छ । ज्येष्ठ नागरिक मध्येमा ८० वर्ष नाघेका व्यक्तिहरुलाई अघिल्लो वर्षदेखि मोतिविन्दु शल्यक्रियामा ५०% सहुलियत गरी सेवा उपलब्ध गराइएको छ । 


यस वर्ष नेपाल आँखा अस्पतालले उपचार सेवाका अतिरिक्त व्यवस्थापनतर्फ समेत उल्लेखनीय फड्को मारेको छ । अस्पतालजन्य फोहर व्यवस्थापन मापदण्ड अनुसार फोहर व्यवस्थापन, शुद्ध खानेपानी जडान, अस्पतालको कार्यसमिति र प्रशासनिककार्यालय, सबस्पेशियालिटी विभागको निर्माण तथा स्तरोन्नती, अपरेशन कक्ष र विरामीको प्रतिक्षालयको निर्माण गरिएको छ । यसबाट विरामी र कुरुवाहरुलाई प्रत्यक्ष सुविधा पुगेको प्रमुख कार्यकारी अधिकृत गोसाईंले जानकारी गराउनुभयो । 


आँखा सेवा लिने संख्यामा ५० प्रतिशतले वृद्धि 
गत ४ वर्षमा अस्पतालबाट सेवा लिने विरामीको संख्यामा ५० प्रतिशतले वृद्धि भई गतवष सो अवधिमा १ लाख ६२ हजार ९७६ बिरामीलाई सेवा प्रदान गरिएको छ । उक्त अवधिमा अस्पतालले प्रदान गर्ने शल्यक्रिया विरामी संख्या दोब्बर वृद्धि भई गत वर्ष ९ हजार ९३ शल्यक्रिया गर्न सफल भएको छ । आगामि ४ वर्ष भित्रमा शल्यक्रिया सेवा संख्या वार्षिक १५ हजार  पु¥याउने लक्ष्य अस्पतालले लिएको छ । गत दुई वर्षदेखि कम तौल समय अगावै जन्मेका बच्चाहरुमा हुने दृष्टि पर्दाको रोगको उपचार (आरओपी एक एकपाईला संस्थासँग सहकार्य गरी हालसम्म ९ स य ४५ बच्चाहरुको आँखा परीक्षण गरिएको अस्पतालका कार्यकारी अधिकृत गोसाईंले स्पष्ट पार्नुभयो ।


विस्तारित कार्यक्रम अन्तर्गत आँखा शिविरहरु मार्फत गतवर्ष ८ सय ४५ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने यसवर्ष करिव १ हजार ५ सय शल्यकृया गर्ने लक्ष्य अस्पतालको छ । त्यसैगरी सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत गत वर्ष ३१ वटा विद्यालय आँखा जाँच कार्यक्रम, ३० वटा आँखा जाँच शिविर तथा ११ वटा आँखाशल्यक्रिया शिविर मार्फत ४० हजार ६१५ जनालाई सेवा प्रदानगरी २ हजार ८८४ जनालाई निःशुल्क चश्म प्रदान गरिएको छ ।  यसवर्ष ५० हजार जनाको आँखा परीक्षण गरी ३ हजार ५ सय निःशुल्क चश्मा वितरण गर्ने योजना रहेको छ । 


नेपाल आँखा अस्पतालको व्यवस्थापनमा बाराको सिमरा र गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र तथा उपत्यका भित्र सुन्दरीजल र खोकनामा भिजन सेन्टरको सेवालाई अझ प्रभावकारी बनाई अस्पतालको रेफरल प्रणालीलाई अझ बजबुत बनाईने उल्लेख छ ।
अस्पतालले प्रदानगर्दै आएको सबस्पेशियालिटी सेवालाई  आवश्यक उपकरण तथा थप जनशक्तीको व्यवस्था गरी अझ बढी सुुदृढ बनाईनेछ । 


यस अस्पतालले नेपाल सरकारको नीति अनुरुप आँखा स्वास्थ्यमा सरकारी तथा गैह्रसरकारी साझेदारी नीतिलाई आत्मसाथ गरी सेवा प्रवाह गर्ने नीति लिएको छ । बिरामीको सुविधाको लागि नेपाल सरकारको स्वास्थ्य बीमा योजना लागू गर्ने कार्य अघि बढाइएको छ । यसबाट अस्पतालमा आउने विरामीको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । 


आगागी ४ वर्षको लक्षित विरामी संख्या वृद्धिलाई मध्यनजर गरी थप भौतिक पूर्वाधारको निर्माण तथा हाल भईरहेको स्थानको अधिकतम सदुपयोग तर्फ ध्यान दिईनेछ । हाल ६ वटा शल्यक्रिया कक्षबाट शल्यक्रिया सेवा प्रदानगरिंदै आएको छ । त्यसैगरी अस्पतालमा संचालित विभिन्न शैक्षिक कार्यक्रमहरुको गुणस्तरलाई कायम राख्न आवश्यक व्यवस्था गरिने उल्लेख छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहिन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालन गर्न एवं आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय संघ संस्था एवं व्यापक जनसहभागिताका लागि खासगरी स्थानीयतहका सरकारहरुसँग दर्विलो सहकार्य गर्दै लैजाने योजना रहेको प्रमुुख कार्यकारी अधिकृत गोसाईंको भनाइ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हाम्रो देश राम्रो देश