नेपाल हेल्थ न्युज, बागलुङ । गण्डकी प्रदेशको सदरमुकाम बागलुङ बजारमा अवस्थित धौलागिरि आयुर्वेद अस्पतालको सेवा र पूर्वाधार दुवैमा उल्लेखनीय सुधार हुँदैछ। हाल पाँच शय्यामा सीमित रहेर सेवा दिँदै आएको यो अस्पताललाई गण्डकी प्रदेश सरकारले २५ शय्याको सुविधायुक्त अस्पतालमा स्तरोन्नति गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सो बजेटअन्तर्गत भौतिक संरचनाको निर्माण तीव्र गतिमा अघि बढेको छ। निर्माण कार्य बलेवा भैरव निर्माण सेवामार्फत ३१ लाख रुपैयाँको लागतमा भइरहेको छ, जसमा प्रिफ्याब प्रविधिबाट छतमा पाँच कोठा र भुइँतलामा तीन कोठा निर्माण भइसकेको छ।
अस्पतालका प्रमुख डा. शरद पन्थीका अनुसार, बिरामीको चाप उल्लेखनीय रूपमा बढेको कारणले गर्दा वर्तमान साँघुरो भवनबाट सेवा प्रवाह गर्न गाह्रो भइरहेको छ। अबका दिनमा प्रशासनलाई दोस्रो तलामा सार्नेछौं, हालको तल्लो तला भने पूर्ण रूपमा सेवा केन्द्रका रूपमा प्रयोग हुनेछ, डा. पन्थीले बताउनु भयो।
भुइँतलामा बनाइएका नयाँ कोठाहरू चमेना गृह, फार्मेसी र आयुर्वेदिक औषधी उत्पादनका लागि प्रयोग गरिनेछ। यसले अस्पतालको सेवा दायरा थप फराकिलो बनाउने विश्वास लिइएको छ। गत कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले धौलागिरि आयुर्वेद औषधालयलाई २५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो। त्यसपछि मंसिर १९ गते संस्थाको नाम परिवर्तन गर्दै धौलागिरि आयुर्वेद अस्पतालू राखिएको हो।
हाल अस्पतालमा ६ जना स्थायी र १४ जना करारका चिकित्सक, नर्स, पारामेडिक्स र थेरापिष्ट कार्यरत छन्। ओएनएम स्थलगत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको भए पनि अझै प्रमुख सचिवको प्रमाणीकरण बाँकी रहेको डा. पन्थीले जानकारी दिनुभयो। प्रमाणीकरणपछि अस्पतालमा ३९ जना स्थायी स्वास्थ्यकर्मी रहनेछन्। साथै, जनरल, काय, शल्य, स्त्रीरोग तथा अकुपञ्चर विशेषज्ञसमेत थपिने तयारी भइरहेको छ।
अस्पतालको सेवा विस्तारसँगै हाल थप संरचना निर्माणका लागि जग्गाको खोजी पनि भइरहेको छ। २५ शय्याको अस्पतालका लागि अझै धेरै संरचना आवश्यक छ। जग्गा पाएपछि बजेटको अभाव नहुने प्रदेश सरकारको प्रतिबद्धता छ, डा. पन्थीले बताउनुभयो।
नसर्ने रोगहरूको उपचारमा आयुर्वेदिक पद्धति प्रभावकारी देखिँदै गएको छ। यसै कारण, केही वर्षअघिसम्म सुनसान देखिने अस्पतालमा अहिले दैनिक बिरामीको चाप उल्लेखनीय रूपमाबढेको डा. पन्थीले बताउनुभयो । गतवर्ष ११ हजारभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिँदा त्यो बढेर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ हजार बढी बिरामीले सेवा लिएका छन् ।

वीर अस्पतालमा चार महिनादेखि यूरो सर्जरी ठप्प, उपकरण अभावको समस्या
शुक्रबार, वैशाख ५, २०८२
औषधी खरिद रोकिएपछि मन्त्रालयको स्पष्टिकरण
बिहीबार, वैशाख ४, २०८२
पाँच तले भवन अलपत्र, २१ करोडको योजना अधुरै
बिहीबार, वैशाख ४, २०८२
वर्षा रोकिएपछि फेरि बढ्न सक्छ प्रदूषण, विशेषज्ञको चेतावनी
बिहीबार, वैशाख ४, २०८२