नेभिगेशन
सन्तान सुख दिनेहरुको कथा

निःसन्तान उपचारमा डा. सबिनाको संघर्ष 

दम्पतीको अनुहारमा आएको मुस्कान नै हाम्रा लागि सफलता

नेपाल हेल्थ न्युज, काठमाडौँ ।  इम्ब्रियोलोजिष्टको कामका आधारमा डा.सविनालाई नेपालको पहिलो नेपाली डाक्टर जसले टेस्टट्युब बेबी र जुम्ल्याहा बालकको जन्म दिने, पहिलो सिमेन र भ्रूण फ्रिजीङ थविङ गर्ने पहिलो असिस्टेड लेजर ह्याचिङ गर्ने डाक्टरको रूपमा चिन्न सकिन्छ ।  

'मैले मुम्बई र जर्मनी गएर तालिम लिएकी छु । मुख्यतः मैले भारतका डा.जयदिप मलहोत्रा, डा. नरेन्द्र मलहोत्रा, डा. सुदेश कामत र डा. केर्सी आभारीसँग ॐ हस्पिटलमा नै हाउस ट्रेनिङ लिने अवसर पाएँ । निःसन्तान भएर परिवार र समाजको टर्चर सहेर, विभिन्न ठाउँमा उपचार गराउँदै भौँतारिइरहेका दम्पतीको काखमा बच्चा राखिदिन सक्दा युद्ध नै जितेको अनुभूति हुन्छ । त्यो अवस्थामा सन्तान प्राप्त गरेको दम्पतीले जसरी शब्दमा खुसी वर्णन गर्न सक्दैन, हामी पनि त्यति नै खुसी हुन्छौँ । दम्पतीको अनुहारमा आएको मुस्कान नै हाम्रा लागि सफलता हो । सुरुसुरुमा बाहिरको डाक्टरमा भर पर्नुपर्दा ग्रुप बनाएर डिम्ब संकलन र भ्रूण पत्यारोपण गरिन्थ्यो । तर पछिल्लो केही वर्षदेखि भने दैनिक डिम्ब संकलन (पिकअप)  र भ्रूण प्रत्यारोपण गर्दै आएकी छु ।'-यो भनाइ हो वरिष्ठ आईभिएफ विशेषज्ञ डा. सबिना श्रेष्ठको । 

sabina1--1744114952.JPG
 

उहाँको टिमले आइभीएफ प्रविधिमार्फत हालसम्म करिब १ हजारभन्दा बढी निःसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गरिसकेको छ । आइयूबाट करिब ४ हजार, मेडिसिनलगायत सामान्य उपचारबाट करिब ६ हजारले सन्तान सुख प्राप्त गरिसकेका छन् ।


‘बुवाले वाल्यवस्थादेखि नै डाक्टर बन्नुपर्छ’ भन्ने प्रेरणा दिनुहुन्थ्यो । त्यसैले स्कुलमा शिक्षक–शिक्षिकाले भविष्यमा के बन्छौं ? भनेर प्रश्न गर्दा पनि उहाँको उत्तर डाक्टर नै हुन्थ्यो । 


चीनको वुहान युनिभर्सिटीबाट एमडीको अध्ययन सकेर नेपाल फर्केलगत्तै डा. सविनालाई ओम अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजालसँग सहकार्य गर्ने मौका मिल्यो । जुन उहाँका लागि सुवर्ण अवसर थियो । 


डा. भोला रिजालको अग्रतामा ॐ आईभिएफ टिमबाट नेपालमै पहिलो पटक आइभीएफ प्रविधिमार्फत्  टेस्टट्युव बेबीलाई जन्म दिन पाउनु गर्वको कुरा ठान्छु ।


संघर्षपछि हात परेको सफलता
निःसन्तान दम्पतीलाई सन्तान सुख दिलाउने अभियानलाई आफ्नो धर्म सम्झने डा.सबिना अस्पताल आउने हरेक दम्पतीका आ–आफ्नै कथा र व्यथा हुने गरेको बताउनुहुन्छ ।  कहिलेकाँही जटिल घटना पनि आउने गर्छन् ।


भन्नुहुन्छ– ‘यही वर्षको कार्तिक मध्यतिर एक दम्पती मलाई भेट्न आउनुभयो । उहाँहरूसँगै पाँच वर्षका एक बालक पनि थिए । ठम्याउन अलि गाह्रो पर्यो । तर, उहाँहरू विगत ६ वर्षअघि नै आइभीएफ प्रविधिमार्फत सन्तान सुख दिलाउन सफल भएका दम्पती हुनुहुँदोरहेछ । सात पटक हङकङमा, दुई पटक पोखरामा गरी ९ पटक आइभीएफ असफलता व्यहोरिसकेको यो जोडी दशौं पटकमा म कहाँ आउनुभएको थियो र मेरो पहिलो पटकको उपचारमै सफलता मिलेको थियो ।’


डा. सबिनाकोमा आएका निःसन्तान सम्बन्धि जटिल घटनाहरूमध्ये झापाका क्यान्सर पीडित दम्पती पनि एक हुन् । अमेरिकामा श्रीमानको क्यान्सर पुष्टि भएपछि नेपाल आएको बेला डाक्टर सबिनाको सल्लाह बमोजिम उहाँहरूले शुक्रकिट फ्रिज गर्नुभएको थियो । अमेरिकामा बोनम्यारो ट्रान्सप्लान्टपछि नेपाल फर्कनुभयो । त्यसपछि पहिले फ्रिज गरिराखेको शुक्रकिटबाट टेष्ट ट्युबमार्फत बच्चा जन्माउन सफल हुनुभयो । हाल उहाँहरूको १६ महिनाकी छोरी छन् । 

sabina-1744114977.JPG
 


डा. सविनाले निःसन्तान दम्पतीको पीडालाई नजिकबाट निहाल्दै आउनुभएको छ । बेलाबेलामा नयाँ र भिन्नै प्रकृतीका दम्पतीसँग ठोकिनुहुन्छ । सन्तान प्राप्तीका लागि एक विवाहित महिलाले जुनसुकै दुःख सहन सक्छिन् भन्ने कुरा उहाँले राम्रोसँग बुझ्नुभएको छ । कतिपय महिलाहरूले घर–परिवारमा जानकारी नगराइकन पनि उपचार पद्धति अघि बढाउने गरेको उहाँको अनुभव छ । 


विश्वास र धैर्यता मुख्य पाटो 
दम्पतीको विश्वास र धैर्यताले सफलता प्राप्त गर्न सकिने डा. सबिनाको बुझाई छ  । भन्नुहुन्छ–‘बिरामीले मलाई सन्चो हुन्छ र डाक्टरले मैले बिरामीलाई सन्चो पार्न सक्छु भन्ने धैर्यताको आवश्यकता पर्छ  ।’


सबैलाई आइभीएफ प्रविधिमा जानुपर्दैन
उपचारमा आएका निःसन्तानमध्ये करिब ८० प्रतिशत दम्पती सामान्य उपचार पद्धती अपनाएर नै सन्तान सुख प्राप्त गर्न सक्छन् । करिब २० प्रतिशतलाई मात्र आइभीएफको जरुरत पर्नसक्ने डा. सबिना बताउनुहुन्छ । यसमा दम्पतीको उमेर, पटक–पटक आइयुआइमा भएको असफलता, पाठेघरको फेलोपिन ट्युवमा भएको अवरोध, डिम्ब विकास नहुने, पुरुषमा शुक्रकिटको कमी लगायत विभिन्न कारण हुनसक्छन् । 

sabi-1744115042.JPG

शुःल्कको कुरा 
व्यक्तिको उमेर, शारीरिक अवस्था हेरेर पनि शुल्कमा तलमाथि हुन सक्छ । जस्तो–डिम्बको गुणस्तर बढाउने औषधि प्रयोग गर्दा कम उमेरका महिलालाई कम र बढी उमेरका महिलालाई बढी लाग्न सक्छ । सामान्यतः एक निःसन्तान दम्पतीको आइभिएफ गर्न औषधिसहित करिब ३ लाख देखि ३.५ लाख रुपैयाँसम्म शुल्क लाग्नसक्छ । यो उपचार गर्नुको मुख्य उद्देश्य दम्पतीलाई सन्तान सुख दिनु हो । तर, शत्प्रतिशत ग्यारेन्टी दिन सकिदैन । सबै हाम्रो हातमा हुने विषय पनि होइन । 

इन्डिकेसनका आधारमा समस्या बुझेर उपचार गरेमा सफलता हाँसिल गर्न मद्धत गर्छ ।   हरेक संस्थाले आफ्नो सही डाटा राख्नुपर्छ । यस्ता डाटा केन्द्रीकृत हुन सकेमा कुन ठाउँको अवस्था के छ, कहाँ के भइरहेको छ भन्ने विषयमा स्पष्ट हुन सकिन्छ ।

अहिलेसम्म टेक होम बेबी ३५ देखि ४० प्रतिशत जति छ । त्यो पनि सेन्टरअनुसार फरक पर्छ । अन्य उपचार नगरी आइभिएफ गराउन आउने युवापुस्ताका व्यक्तिको सफलता राम्रो हुन्छ । उमेर धेरै भएर, अन्य धेरै प्रकारका उपचार गराएर डिम्ब सिध्याएर आएकाहरूमा भने सफलता दर कम हुन्छ ।

उपचार गर्न आउने सबैलाई आइभिएफ नै गर्नुपर्छ भन्ने होइन । कसैका लागि आईभिएफ फस्ट लाइन अफ ट्रिटमेन्ट हुन्छ भने कसैका लागि लास्ट च्वाइस हुनसक्छ ।

‘आइभिएफको इन्डिकेसनमा नपरेकाहरूले आफैँ अझै कोसिस गर्दा सन्तान प्राप्त गर्न सकिन्छ । सन्तान प्राप्तिको प्रयास असफल हुँदा दम्पतीमात्र होइन, हामी पनि निराश हुन्छौँ ।’—डा. सविना भन्नुहुन्छ—‘हामीले पनि कति धेरै कोसिस गरेका हुन्छौँ, बच्चा भइदेओस् भन्ने हुन्छ । सफल भएन भने किन भएन भन्ने कतिपय प्रश्नको त जबाफ हामीसँग पनि हुँदैन, दम्पतीलाई के जवाफ दिने !’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर