नेभिगेशन

काठमाडौं उपत्यकामा घट्यो वायु प्रदूषण, वर्षाले केही राहत

 

नेपाल हेल्थ न्युज, काठमाडौँ ।  झन्डै तीन सातायता उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार केही सुधार भएको छ। उपत्यकासहित देशका विभिन्न स्थानमा भएको वर्षाका कारण वायुको गुणस्तरमा सकारात्मक परिवर्तन देखिएको हो।

बिहीबार बिहान ११ः३० बजे काठमाडौंका विभिन्न क्षेत्रको वायु गुणस्तर सूचकांक एक्यूआई १४० भन्दा कम छ, जबकि बुधबार अधिकतम १५० देखि १८० सम्म पुगेको थियो।

उपत्यकाका शंखपार्क र रत्नपार्कको एक्यूआई  क्रमशः १३६ र १२७ मा झरेको छ। ललितपुरका खुमलटार र भैँसेपाटीको एक्यूआई घटेर क्रमशः ८५ र ९० मा पुगेको छ। भक्तपुरको एक्यूआई  पनि सुधार भएर ९० मा पुगेको छ।

देशका अन्य भागहरू पनि प्रदूषणमा सुधार देखिएको छ। इलाम, भरतपुर, देउखुरी, धनगढी जस्ता स्थानमा एक्यूआई १०० भन्दा कम मापन गरिएको छ। तर, पोखरा अझै प्रदूषणको उच्च स्तरमा छ, जहाँ बिहीबार एक्यूआई  १५६ रहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बालबालिका, वृद्धवृद्धा, र दीर्घरोगीका लागि एक्यूआईको स्तर  १०१-१५० अस्वस्थकर मानिन्छ।  एक्यूआई  स्तर  १५१-२०० ले सबैलाई प्रभावित गर्न सक्छ । जबकि २०१-३०० लाई अति अस्वस्थकर र ३०० भन्दा माथि खतरनाक मानिन्छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष