नेभिगेशन

मुलुकमा ५३ प्रतिशत बालबालिकाको मृत्युको कारण कुपोषण !

कुपोषण हुन नदिन के गर्ने ? 

नेपाल हेल्थ न्युज, काठमाडौँ ।  नेपालले सन् २०३० सम्ममा सबै प्रकार र स्वरुपका कुपोषणको अन्त्य गर्ने लक्ष्य लिएको छ । यो कुरा दिगो विकासको लक्ष्य–२ (ख) मा स्पष्ट उल्लेख छ । तर, लक्ष्य हाँसिल गर्न ६ वर्ष बाँकी छँदा नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषणको अवस्था भयावह रहेको सरकारी आँकडाले देखाउँछ । हरेक वर्ष मुलुकमा कुपोषणका कारण करिब ५३ प्रतिशत बालबालिकाले ज्यान गुमाइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले सन् २०२२ मा गरेको छैटौं नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पाँच वर्ष मुनिका बालबालिकाको पोषण स्थितिमा सुधार हुँदै गएको देखाएको छ । मन्त्रालयले सन् १९९६ देखि हरेक पाँच वर्षमा जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्दै आएको छ । 

UNICEF Nepal
UNICEF Nepal


 

पछिल्लो स्वास्थ्य सर्वेक्षणले नेपालमा कुपोषणका कारण पाँच वर्ष मुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखाएको छ । त्यसमा शहरी क्षेत्रमा २२ प्रतिशत र ग्रामीण क्षेत्रमा ३१ प्रतिशत बालबालिका पुड्का छन् । भौगोलिक क्षेत्र अनुसार पहाडको तुलनामा हिमाली क्षेत्रमा पुड्का बालबालिकाको संख्या उच्च छ । पहाडमा २२ प्रतिशत, तराईमा २५ प्रतिशत र हिमाली क्षेत्रमा ४२ प्रतिशत बालबालिका पुड्का छन् । 

सर्वेक्षणमा पाँच वर्षमुनिका करिब ८ प्रतिशत बालबालिका ख्याउटे र १९ प्रतिशतमा उमेर अनुसार कम तौल पाइएको छ । 
पाँच वर्षमुनिका बालबालिकामा पोषणको अभावले हुने पुड्कोपन, कमतौल, ख्याउटेपन र अधिक तौल स्वास्थ्य सर्वेक्षणको आँकडाले घट्दै गरेको देखाए पनि सन् २०३० सम्ममा सबै खालका कुपोषणको अन्त्य गर्न नेपाललाई कठिन हुने वरिष्ठ पोषणविद डा. उमा कोइराला बताउनुहुन्छ । 

मानसिक, शारीरिक विकासका लागि आवश्यक रसायनिक तत्व पौष्टिक खानेकुराबाट पाइन्छ । शरीरभित्र खानेकुरा पुगेपछि आफैं पौष्टिक तत्वमा परिणत हुन्छ । यसकारण दैनिक खानामा पोषण आश्यक पर्छ ।  

शरीरमा पौष्टिक तत्वको अभाव नै कुपोषण हो । पौष्टिक तत्व नपुगेमा शरीरमा विभिन्न किसिमका लक्षण देखिनसक्छन् । वरिष्ठ पोषणविद डा.कोइराला भन्नुहुन्छ– ‘पोषणको अभावमा बालबालिकाहरू ख्याउटे हुने, उमेर अनुसार उचाइ र तौल नबढ्ने, मांसपेशी नबढ्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर भई झाडापखाला, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिनसक्छन् ।’

स्वास्थ्य मापदण्डअनुसार ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाप ११.५ सेन्टिमिटरभन्दा कम भएमा, खुट्टा सुन्निने र भोक नलाग्ने समस्या देखिन सक्छ । यसलाई कडा शीघ्र कुपोषण भनिन्छ । विगतका वर्षहरूभन्दा वर्तमानको स्वास्थ्य आँकडाले पाँच वर्ष मुनिका बालबालिकाको पोषण स्थितिमा सुधार देखाएको छ । तर, अझै सन्तोषजनक छैन । हिमाल, पहाड र ग्रामीण क्षेत्रका बालबालिकामा पोषण पु¥याउन सरकारी स्तरबाट अझै सुधार गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

देशका सातै प्रदेशमा एकनासको पोषण स्थिति छैन । कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै बालबालिका कुपोषित छन् । उहाँ भन्नुहुन्छ– ‘बढ्दो उमेरसँगै बालबालिकाले सिकाइका विभिन्न चरण पार गर्नुपर्छ । तर,पोषणको अभावले मानसिक क्षमतामा ह«ास आउनुका साथै सिकाइमा पनि बाधा पु¥याउनसक्छ ।’ साथै पोषणको अभावमा विभिन्न संक्रमण भएर बालबालिकाको अकालमा ज्यान जानसक्छ । 

कुपोषण हुन नदिन के गर्ने ? 
पाँच वर्ष मुनिका बालबालिकालाई कुपोषणबाट बचाउन बच्चा जन्मेदेखि ६ महिना नपुग्दासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि लिटो, भात, दाल, तरकारी र फलफूलको रस खुवाउन सकिन्छ । उमेर बढ्दै गएपछि अण्डा, माछा, मासु, गेडागुडी, हरियो सागपातलगायत पोषणयुक्त खाना खुवाएर कुपोषणबाट बचाउन सकिने डा. कोइरालाको भनाइ छ ।  

बालबालिकालाई कस्तो खाना कुन समयमा खुवाउने भन्नेबारे अभिभावको अहम् भूमिका रहन्छ । तर, घरमा खाद्यान्न हुँदा–हुदै पनि कामको व्यस्तताले समयमा बनाएर दिन ग्रामीण क्षेत्रका आमाहरूले भ्याइरहेका हुँदैनन् । जसले बालबालिका कुपोषित हुने गरेको उहाँको भनाइ छ ।

वरिष्ठ पोषणविद् डा. कोइरालाका अनुसार नेपालमा पोषण सम्बन्धी गरिएका विभिन्न अध्ययनहरुले जन्मेको समयमा बालबालिकाको तौल र उचाई विकसित देशका बालबालिका सरह नै हुने देखाएपनि ६ महिना पुगेपछि खुवाउनुपर्ने पोषणयुक्त खानाको अभावले पुट्कोपनको समस्या देखिने गरेको छ । लामो समयसम्म पौष्टिक तत्व नपाएका करिब ७० प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या पाइएको छ । तर, केही प्रतिशत पुड्कोपन बंशाणुगत कारणले पनि हुनसक्छ ।

पाँच वर्ष मुनिका बालबालिकामा पोषण स्थिति सुधार गर्न नेपाल सरकारले धेरै प्रयास गरिरहेको छ । सन् १९९६ मा नेपालमा पहिलो पटक स्वास्थ्य सर्वेक्षण गर्दा पाँच वर्ष मुनिका ५६ प्रतिशत बालबालिकामा पुड्कोपन, ४२ प्रतिशतमा कम तौल र १५ प्रतिशतमा ख्याउटेपनको समस्या थियो । तर,सन् २०२२ मा गरिएको छैटो स्वास्थ्य सर्वेक्षणले पुड्कोपना घटेर २५ प्रतिशत, कम तौल १९ प्रतिशत र ख्याउटेपन ८ प्र्रतिशतमा झरेको छ । 

डा. कोइराला भन्नुहुन्छ– ‘पाँच वर्ष मुनिका बालबालिकालाई कुपोषणबाट जोगाउन रेडिमेड जंकफुडको सेवनलाई न्यूनिकरण गर्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य गरेर खाद्यान्नको गुणस्तर जाँच गर्ने अभियानको थालनी हुनुपर्छ ।’

सरकारी भनाइ के छ ? 
विगतका वर्षहरूभन्दा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन, कम तौल, ख्याउटेपन निकै घटेको भएपनि कुपोषण अन्त्य गरी दिगो विकास लक्ष्य हाँसिल गर्न नेपालका लागि चुनौती रहेको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लिला विक्रम थापाको दाबी छ ।

उहाँका अनुसार अझै पनि मुलुकमा ५३ प्रतिशत बालबालिकाको मृत्युको कारण कुपोषण नै देखिएको छ । यसका कारणहरूमा विभिन्न नीति, रणनीतिअनुसार पोषणको स्थिति माथि उकास्न राष्ट्रिय योजना आयोगको नेतृत्वमा बहुक्षेत्रीय पोषण योजनाको गतिमा सुधार आउन नसक्नु हो । सरकारले पोषण स्थिति सुधारका लागि छुट्याएको स्रोत, साधन र बजेट पर्याप्त छैन । ग्रामीण भेगमा खाद्यान्न अभावका कारण पुड्कोपन र शहरमा सन्तुलित खानपानको अभावमा ख्याउटेपनको बढी समस्या छ ।

सिमित साधनस्रोतको अधिनमा रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता, गुणस्तरीय खाद्यान्न अभाव र बालबालिकाले जंकफुड अधिक खाँदा दिगो विकास लक्ष्यमा असर पुगिरहेको छ । कुषोणको समस्या निराकरण गर्न हरेक नागरिकले आ–आफ्नो तर्फबाट स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष