नेपाल हेल्थ न्युज, काठमाडौँ,। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधी लिमिटेड खरिद प्रक्रियामा समावेश नभएका कारणले औषधी खरिद रोकिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधी लिमिटेडले औषधी उत्पादन बन्द गरेको विषयलाई खण्डन गर्नुभएको हो । उहाँले सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियाहरूमा सहभागी भई कागजातहरू पूरा भएको खण्डमा लिमिटेडले नै टेन्डर पाउने बताउँदै यो किराना पसलबाट सामान किनेजस्तो नभएको टिप्पणी गर्नुभयो । उहाँले मन्त्रालयले आफ्नो घरेलु स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने समेत जिकिर गर्नुभयो ।
डा. बुढाथोकीले भन्नुभयो, “हामी आफ्नै घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्छौं । उहाँहरूले दिने मूल्य पनि विदेशीहरूको भन्दा सस्तो हुन्छ भन्ने हामीलाई विश्वास लाग्छ । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियाहरूमा सहभागी भएर कागजात पूरा गर्नुभयो र सुनिश्चितता गर्नुभयो भने उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो । मन्त्रालय विधिमा चल्छ । नियम कानुन मानेर चल्छ ।”
प्रवक्ता डा. बुढाथोकीले औषधी लिमिटेडले जिटुजी सरकारी टु सरकारी काम गर्नका लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुहुँदै वर्षभरी कुनै पनि औषधीको उत्पादन नरोकिने विश्वास दिलाउनुपर्ने बताउनुभयो । टेन्डर प्रक्रियामा नजाने र विजनेस प्लान पनि देखाउने जस्ता कामले मन्त्रालयलाई विश्वास नलागेको जिकिर गर्नुभयो ।
नेपाल औषधी लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेटको पनि सुनिश्चितता हुने मुख्यमन्त्री लगायतको बैठकमा छलफल भएको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उहाँले अर्थ मन्त्रालयमा औषधी लिमिटेडले पेस गरेको एमओयू स्वीकृत नभएको समेत बताउनुभयो ।
“पछिल्लो समय मुख्यमन्त्री, सचिव लगायतका सरोकारवाला नेतृत्वमा भएको छलफलमा पनि नेपाल औषधी लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने, अर्थ मन्त्रालयले स्वीकृति दियो भने बजेटको पनि सुनिश्चितता गर्छ । त्यो सुनिश्चितताको आधारमा स्वास्थ्य मन्त्रालयले उहाँबाट औषधीहरू किन्ने गरी एमओयू गर्ने गरी तयारी भएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘तर अर्थ मन्त्रालयमा उहाँहरूले पेस गरेको एमओयू स्वीकृत पनि भएको छैन । अर्थ मन्त्रालयले प्रत्याभुति पनि नदिएको अवस्थामा स्वास्थ्य मन्त्रालयले तपाईंहरूको बिजनेस प्लान हेरौँ न त भन्दा खेरी नदिएपछि हामीले कुन विश्वासको आधारमा २४ औँ घण्टा, १२ महिना औषधी उत्पादन हुन्छ र त्यो औषधीलाई नेपाली जनताले निःशुल्कको रूपमा वा अन्य रूपमा औषधी पाइरहन्छन् भन्ने विश्वास भएन । त्यो विश्वास नभएकाले पनि एमओयू गर्न ढिलाइ भएको हो ।”
नेपाल औषधी लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । कच्चा पदार्थको ठुलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधी खरिद नगरेपछि बजारमा बिक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधी लिमिटेडले जनाएको छ । न्युज एजेन्सी नेपाल

अमेरिकाको निर्णयले डब्लुएचओ संकटमा, नेतृत्व र बजेट दुबैमा ठूला कटौती
बिहीबार, जेठ १, २०८२
४३ करोडभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगमा नआउँदा राज्यको स्रोत खेर
बिहीबार, जेठ १, २०८२
पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, जेठ १, २०८२
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बेरुजु
बिहीबार, जेठ १, २०८२