नेभिगेशन

क्यान्सर विशेषज्ञ एवं एसोसिएट प्रोफेसर डा. सोनिया दुलाललाई एचभिओ गोल्डेन एप्पल अवार्ड

  विश्व स्वास्थ्य सेवा क्षेत्रमा विशिष्ट योगदानको सम्मान

creators ivf nepal

नेपाल हेल्थ न्युज, काठमाडौं । हेल्थ भोलिन्टियर्स ओभरसिज (एचभिओ) ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी क्यान्सर विशेषज्ञ एवं एसोसिएट प्रोफेसर डा.सोनिया दुलाललाई यस वर्षको बीसौं वार्षिक एचभिओ गोल्डेन एप्पल अवार्ड प्रदान गरेको छ । विश्व स्वास्थ्य दिवस र विश्व स्वास्थ्यकर्मी सप्ताहको अवसरमा अमेरिकाको वासिङ्टन डीसीबाट प्रदान गरिने यो अवार्डले स्रोत अभाव भएका देशहरूमा स्वास्थ्यकर्मीहरूको शिक्षा र व्यावसायिक विकासमा उल्लेखनीय योगदान पुर्याउने  व्यक्तित्वहरूलाई चिनारी दिन्छ । 

एचभिओ गोल्डेन एप्पल अवार्ड, सन् २००६ देखि प्रदान गरिँदै आएको छ । यो अवार्ड स्वास्थ्य क्षेत्रका शिक्षक, सल्लाहकार तथा विशेषज्ञहरुको उत्कृष्ठ योगदानको सम्मानस्वरूप प्रदान गरिन्छ । यस अवार्डद्वारा एचभिओले स्वास्थ्यकर्मीहरूको क्षमता विकासका माध्यमबाट विश्वभरका मानिसहरूलाई सुरक्षित र दक्ष उपचार सेवा उपलब्ध गराउने उद्देश्यलाई प्रोत्साहन गरेको छ । 


डा. दुलालले आफ्नो करियरको सुरुवात काठमाडौंको नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) मा एचभिओ का स्वयंसेवकहरूसँग सहकार्य गर्दै गर्नुभएको थियो । पछि सन् २०२० देखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरान मा काम शुरु गरेपछि उहाँले त्यहाँको क्यान्सर विभागको विकासमा अग्रणी भूमिका खेल्नुभयो । क्यान्सर विभागको क्षमतावृद्धिमा सहयोग पुर्याउन एचभिओका स्वयंसेवकहरूको सहायता लिनुभयो । 

उहाँलगायत उहाँको सहकर्मी डा. राजीव शर्माको पहलमा धरानमा इनप्यासेन्ट अंकोलोजी सेवा, केमोथेरापी इन्फ्युजन डे केयर युनिट, आउटप्यासेन्ट अंकोलोजी सेवा तथा क्यान्सर स्क्रिनिङ क्लिनिक स्थापना भएको छ । डा. दुलालले विद्यार्थीहरूसँग मिलेर समुदायमा जनचेतना अभिवृद्धि गर्न स्क्रिनिङ र शिक्षा अभियानहरू पनि सञ्चालन गर्नुभएको छ । उहाँले समुदायमा क्यान्सर स्क्रिनिङ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विद्यार्थी समूह पनि गठन गर्न सहयोग गर्नुभएको छ । साथै डा. सोनियाले क्यान्सर स्क्रिनिङ सम्बन्धी मार्गनिर्देशन, केमोथेरापी अर्डरहरू र उत्कृष्ट अभ्यासहरू विकास गर्नुभयो ।


 
एचभिओका कार्यकारी निर्देशक एप्रिल पिन्नर ले भन्नुभयो—‘डा. दुलालले स्वास्थ्य शिक्षामार्फत् नेपालको स्वास्थ्य सेवा सुधार गर्न जुन जोश र समर्पण देखाउनु भएको छ, त्यो प्रेरणादायक छ । उहाँको योगदानले स्रोत अभाव भएका समुदायहरूमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’


डा. दुलाल विपिकेआईएसएसमा आबद्ध हुनु अघि, नेपालका पूर्वी दुर्गम भेगमा बसोबास गर्ने हजारौं मानिसहरूका लागि औपचारिक क्यान्सर उपचार सेवा थिएन । अरु आन्तरिक चिकित्सा विशेषज्ञहरूले सकेसम्म धेरै बिरामीहरूको हेरचाह गर्थे, अथवा बिरामीहरूले धेरै टाढा यात्रा गर्नुपर्ने हुन्थ्यो वा उनीहरू क्यान्सर उपचार नै नपाई बस्नुपथ्र्यो ।


न्याम्समा अंकोलोजी तालिम कार्यक्रम २०२३ मा बन्द भएपछि, डा. दुलाल तुरुन्त सक्रिय भई विपीकेआईएचएसमा नयाँ कार्यक्रम (डिएम मेडिकल अंकोलोजी कार्यक्रम) सुरु गर्न लाग्नुभयो । उहाँले नेपाल, भारत क्यानडा र अमेरिका विशेषज्ञहरूको सहभागितामा पाठ्यक्रम विकास कार्यशाला सञ्चालन गर्नुभयो ।
 
डा. दुलाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपिकेआईएचएस) , धरान, नेपालको आन्तरिक चिकित्सा विभागमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले काठमाडौंस्थित वीर अस्पताल अन्तर्गतको नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स)  बाट विद्यावारिधी (डिएम) गर्नुभएको हो र यसमा विद्यावारिधी (डिएम) गर्ने नेपालकै पहिलो दुई अनकोलोजिस्टहरूमध्ये एक हुनुहुन्छ । यो नेपालमा सुरु गरिएको पहिलो मेडिकल अंकोलोजी कार्यक्रम थियो ।

उहाँले आफ्नो अध्ययन पूरा गरेपछि काठमाडौं छाडेर धरान फर्कने निर्णय गर्नुभयो, जहाँ सेवा सुविधा नपाएका जनसमुदायको सहयोगमा काम गर्न थाल्नुभयो । हाल उहाँ नेपालकै एक ठूलो र प्रतिष्ठित शिक्षण संस्था विपीकेआईएचएसमा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत हुनुहुन्छ र शिक्षण,  उपचार सेवा तथा अनुसन्धानमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ ।

सन् १९५० देखि विश्व स्वास्थ्य संगठन  र अन्तर्राष्ट्रिय समुदायले हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउँदै आएका छन् । यस दिनको मुख्य उद्देश्य सधैं कुनै सान्दर्भिक विश्वव्यापी स्वास्थ्य मुद्दामा ध्यान केन्द्रित गर्नु हो। यस वर्षको नारा हो — ‘हेल्दी विगिनिङ, हेल्दी फ्युचर ।’ यो अभियानले सरकारहरू र स्वास्थ्य समुदायलाई रोकथाम गर्न सकिने मातृ तथा नवजात मृत्युलाई अन्त्य गर्न र महिलाहरूको दीर्घकालीन स्वास्थ्य तथा भलाइलाई प्राथमिकता दिन आह्वान गर्दछ ।


हेल्थ भोलिन्टियर्स ओभरसिज (एचभिओ)  एक गैर नाफामुखी संस्था हो जसले स्रोत अभाव भएका देशहरूमा स्थानीय स्वास्थ्यकर्मीहरूको शिक्षा र सीप विकासमार्फत् विश्व स्वास्थ्य सुधार गर्न खोज्दछ । एचभिओ का स्वयंसेवकहरूले स्थानीय स्वास्थ्य पेशाकर्मीहरुलाई आवश्यक ज्ञान र सीप प्रदान गरी उनीहरूलाई आफ्नै समुदायको स्वास्थ्य आवश्यकताहरू समाधान गर्न सक्षम बनाउँछन्।


एचभिओका स्वयंसेवकहरू प्रशिक्षित स्वास्थ्य पेशाकर्मीहरू हुन्छन्—जस्तै चिकित्सक, नर्स, दन्त चिकित्सक, फिजिकल थेरापिस्ट लगायत अन्य—जो आफ्नो समय र सीप दान गरी अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग सँगसँगै काम गर्न इच्छुक हुन्छन् ।


सन् १९८६ देखि एचभिओका कर्मचारी र स्वयंसेवकहरूले विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक एचभिओ परियोजनाको रूपरेखा, विकास र कार्यान्वयनमा काम गर्दै आएका छन । एचभिओले विश्वभर प्रभावकारी स्वास्थ्य सेवा पुर्याउने ट्रमा केयर, शिशु तथा मातृ स्वास्थ्य, आधारभूत शल्यक्रिया, क्यान्सर उपचार, पुनस्र्थापना सेवाजस्ता क्षेत्रमा काम गर्दै आएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट