नेपाल हेल्थ न्युज, काठमाडौं । स्त्री तथा प्रसूति रोग उपचारको क्षेत्रमा ठूलो उपलब्धि हाँसिल गर्दै आएको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले देशमै पहिलोपटक थर्ड जेनेरेसन माइक्रोवेभ एब्लिएसन प्रविधि भित्र्याएको छ। अस्पतालकी स्त्री तथा प्रशुति विशेषज्ञ डा. रंगिना लाइकनवमको नेतृत्वमा सुरु गरिएको यो प्रविधि विशेषगरी एडिनोमायोसिस र फाइब्रोइड (पाठेघरको ट्युमर) जस्ता समस्याका लागि अत्यन्तै प्रभावकारी सावित हुने बताइएको छ।
यो प्रविधिमा इलेक्ट्रो म्याग्नेटिक वेभ मार्फत शरीरमा सटीक रुपमा गर्मी पैदा गराएर अनावश्यक टिश्यु हटाइन्छ, जसले पाठेघर बचाउने मात्र होइन, भविष्यमा गर्भधारणको सम्भावना पनि सुरक्षित राख्दछ।
डा. रंगिनाका अनुसार, एडिनोमायोसिसको कारणले धेरै महिलाले बच्चा पाउने क्षमतामा समस्या भोग्दै आएका छन्। उहाँले भन्नुभयो-'धेरैपटक भ्रूण स्थानान्तरण भए पनि गर्भ नरहने अवस्था एडिनोमायोसिसकै कारण देखिएको छ। यस्तो अवस्थामा हामीले थर्ड जेनेरेसन माइक्रोवेभ एब्लिएसन प्रयोग गर्दा निकै राम्रो नतिजा पाइरहेका छौं।' नेपालमा धेरैमा एडिनोमायोसिस देखिएको छ । एडिनोमायोसिसले पाठेघर सुकाएर बच्चा नहुने समस्या हुन्छ ।
कम पीडा, बिना चिरफारको अत्याधुनिक प्रविधि
अस्पतालमा नवप्रवेश गरिएको यो प्रविधिबाट उपचार गर्दा न त पेटमा चिरफार गर्नुपर्नेछ, न त ठूलो अप्रेसनको आवश्यकता पर्छ। 'यो प्रविधिबाट योनिमार्ग (ट्रान्सभेजाइनल सोनोग्राफी) वा सानो दुरबीन प्रविधि प्रयोग गरेर स्क्रिनमा हेर्दै पाठेघरभित्रको उपचार सम्भव हुन्छ'-डा. रंगिनाले जानकारी दिनुभयो।
यो प्रविधि चीनका डा. जिओमिन गमले विकास गरेका हुन्। उनले यो उपकरण डाक्टरको क्षमता परीक्षणपछि मात्र प्रमाणित गरी प्रदान गर्ने व्यवस्था गरेका छन्। नेपालमा यस प्रविधि ल्याउने प्रयासमा विगत ६ महिनादेखि डा. रंगिना सक्रिय हुनुहुन्थ्यो ।
११ वर्षको अनुभव, ६ वर्षदेखि निःसन्तान उपचारमा समर्पित
डा. रंगिनाले विगत ११ वर्षदेखि ल्याप्रोस्कोपिक सर्जरी तथा महिला स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएको छ। पछिल्लो ६ वर्षदेखि निःसन्तान महिलाहरूको उपचारमा विशेष ध्यान दिँदै आएकी उहाँ भन्नुहुन्छ-'महिलाहरूलाई एडिनोमायोसिसले मात्र होइन, त्यसको उपचार नपाउँदा मानसिक र शारीरिक रूपमा ठूलो असर पुर्याएको पाइन्छ।'
विदेश जानुपर्ने आवश्यकता हटाउँदै, नेपालमै आधुनिक उपचार
ब्लुक्रस अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रज्वलमान श्रेष्ठका अनुसार, यो प्रविधिबाट अब एडिनोमायोसिसको उपचारका लागि विदेश जानुपर्ने अवस्था हटेको छ। बिरामीलाई चाँडो घर फर्कन सक्ने, कम पिडादायक र सुरक्षित प्रविधि हामीले नेपालमै उपलब्ध गराएका छौं।
निष्कर्ष
ब्लुक्रस अस्पतालमा सुरु गरिएको यो अत्याधुनिक उपचार सेवा नेपालको स्त्री स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण फड्को मानिएको छ। अब एडिनोमायोसिस वा फाइब्रोइडका कारण पीडित महिलाहरूले सहज, सुरक्षित र सस्तो दरमा प्रभावकारी उपचार पाउनेछन्। यो प्रविधिले महिलाहरूको जीवनस्तर सुधारमा नयाँ आशा जगाएको छ।