नेभिगेशन

के दैनिक भिटामिन ट्याब्लेटले तपाईंलाई डाक्टरकहाँ जानबाट बचाउन सक्छ ?

के हरेक दिन भिटामिनको चक्कीले तपाईंलाई डाक्टरकहाँ जानबाट बचाउन सक्छ ?

 

भिटामिन उद्योग दिनप्रतिदिन द्रुत गतिमा बढिरहेका छन् र धेरै मानिसहरूले यसलाई आफ्नो स्वास्थ्यको महत्वपूर्ण भाग मान्न थालेका छन् ।
लन्डनस्थित बजार अनुसन्धान फर्म मिन्टेलका अनुसार, बेलायतका दुई तिहाइ उपभोक्ताहरूले भिटामिन, खनिज वा अन्य पुरकहरू लिन्छन् । अनि धेरै मानिसले भिटामिनको कमीलाई ढाकछोप गर्न यसो गर्दैनन्, बरु यसले आफ्नो स्वास्थ्यमा सुधार ल्याउँछ भन्ने विश्वासका साथ भिटामिन चक्कीहरू लिन्छन् ।

बजारमा धेरै सप्लिमेन्ट उपलब्ध छन् र यीमध्ये धेरै सप्लिमेन्टहरू विभिन्न भिटामिन र खनिज अर्थात् मल्टिभिटामिनको मिश्रण हुन् । यी मध्ये कुन तपाईंका लागि फाइदाजनक छ भनेर जान्न गाह्रो छ । वास्तवमा, स्वस्थ रहन १३ आधारभुत भिटामिन आवश्यक छन्, तर के तिनीहरूलाई पुरकको रूपमा लिनुपर्छ ?

के तपाईंले हरेक दिन भिटामिन चक्की खानुपर्छ ?

भिटामिन दुई प्रकारका हुन्छन्, बोसोमा घुलनशील र पानीमा घुलनशील । 
बोसोमा घुलनशील भिटामिनहरू भिटामिन ए, डी, ई र के तपाईंको शरीरमा भण्डारण गरिन्छ, त्यसैले तपाईं दैनिक चक्की नखाई तिनीहरूको स्तर कायम राख्न सक्नुहुन्छ । यी सेवन गर्दा ओभरडोजको जोखिम हुन सक्छ, त्यसैले यी धेरै मात्रामा लिनु हुँदैन । पानीमा घुलनशील भिटामिनहरू –भिटामिन सी र बी, जस्तै फोलिक एसिड) शरीरमा भण्डारण गर्न सकिँदैन, त्यसैले तिनीहरूलाई सन्तुलित मात्रामा सेवन गर्न आवश्यक छ । यद्यपि, यदि यी भिटामिन धेरै मात्रामा लिइयो भने, पिसाब मार्फत बढी मात्रामा बाहिर निस्कन्छ । यद्यपि, कलेजोले भिटामिन –बी) भण्डारण गर्न सक्छ । केही मल्टिभिटामिन ट्याब्लेटहरूमा विशेष गरी क्याल्सियम, जिंक र फलाम जस्ता खनिजहरू हुन्छन् । ठूलो मात्रामा लिनुपर्ने अवस्था नभएसम्म, तपाईंले आफ्नो खानाबाट यी तीन खनिजहरूको पर्याप्त मात्रा प्राप्त गर्नुहुन्छ ।

बलियो हड्डीको लागि क्याल्सियम आवश्यक छ र तपाईंलाई हरेक दिन ७०० मिलीग्राम चाहिन्छ ।  जिंक तपाईंको प्रतिरक्षा र पाचन प्रणालीको लागि महत्त्वपूर्ण छ । महिलाहरूलाई दैनिक ७ मिलीग्राम र पुरुषहरूलाई ९.५ मिलीग्राम चाहिन्छ । खानाबाट ऊर्जा निकाल्न र रगतमा अक्सिजन ढुवानी गर्न फलाम आवश्यक पर्दछ । १९ देखि ५० वर्ष उमेर समूहका महिलाहरूलाई दैनिक १४.८ मिलीग्राम आइरन चाहिन्छ भने पुरुषहरूलाई ८.७ मिलीग्राम आइरन चाहिन्छ ।

पूरक सेवन गर्दा कसलाई फाइदा हुन सक्छ ?

बेलायतको सरकारी स्वास्थ्य एजेन्सी, एनएचएसले बेलायतमा बस्ने मानिसहरूले शरद ऋतु र जाडोमा भिटामिन (डी) सप्लिमेन्ट लिनुपर्ने बताएको छ।

भिटामिन –डी) ले क्याल्सियमको अवशोषणमा मद्दत गर्छ जुन बलियो र स्वस्थ दाँत, हड्डी र मांसपेशीको लागि आवश्यक छ । यसले हामीलाई फस्फेट र म्याग्नेसियम अवशोषित गर्न पनि मद्दत गर्छ । कम भोक लाग्ने वा वृद्धवृद्धाहरूलाई केही विशेष मल्टिभिटामिनहरू सेवन गर्नाले फाइदा हुन सक्छ । यस विषयमा तपाईंले आफ्नो डाक्टरसँग परामर्श गर्नुपर्छ । वृद्धवृद्धा वा घरमै सीमित रहेकाहरूले वर्षभरि भिटामिन –डी) सप्लिमेन्टहरू साथै क्याल्सियम पनि खानुपर्छ।

यदि तपाईं आहारमा हुनुहुन्छ र जीवनशैली परिवर्तनको भागको रूपमा वा तौल घटाउनको लागि केही खानेकुराहरूबाट आफूलाई प्रतिबन्धित गर्नुभएको छ भने, तपाईंले त्यो विशेष खानाबाट प्राप्त हुने पोषक तत्वहरूलाई प्रतिस्थापन गर्न सक्ने पुरकबाट लाभ उठाउन सक्नुहुन्छ ।


यदि तपाईं धेरै कम क्यालोरी भएको आहारमा हुनुहुन्छ भने, मल्टिभिटामिन लिनु फाइदाजनक हुन सक्छ । यहाँ केही आहारहरू छन् जसलाई पूरक आहारको आवश्यकता पर्न सक्छ । यदि तपाईं दुग्धजन्य उत्पादनहरूबाट बच्दै हुनुहुन्छ भने क्याल्सियम सप्लिमेन्ट वा क्याल्सियम ट्याब्लेट तपाईंको लागि लाभदायक हुन सक्छ । पूर्णतया शाकाहारी र दुग्धजन्य पदार्थ नखाने शाकाहारीहरूलाई भिटामिन बी १२ र क्याल्सियमको कमीको जोखिम हुन्छ, त्यसैले यी पोषक तत्वहरूको लागि पुरकहरू लिन सिफारिस गरिन्छ । महिनावारीको समयमा गम्भीर कमजोरीबाट ग्रस्त हुने महिलाहमा आइरनको कमी हुन सक्छ ।

बेलायतको राष्ट्रिय आहार तथा पोषण सर्वेक्षणका अनुसार, ३५ देखि ४९ वर्ष उमेर समूहका ४.८ प्रतिशत महिलामा फलामको कमीका कारण रक्तअल्पता देखिएको छ भने १२.५% महिलाहरूमा फलामको भण्डार कम रहेको छ । तर आइरन ट्याब्लेट खानुअघि डाक्टरसँग परामर्श अवश्य लिनुहोस् ।

गर्भावस्थाको पहिलो १२ हप्तामा फोलिक एसिड पुरकहरू लिन सिफारिस गरिन्छ । यसले उनीहरूका बच्चामा स्नायु ट्युब दोषहरूको जोखिम कम गर्छ ।

भिटामिन सी ट्याब्लेट  जीवन बचाउने कि समयको बर्बादी ?


 

चिसो र फ्लुबाट बच्न मानिसहरूले वर्षौंदेखि भिटामिन (सी) लिँदै आएका छन् । यसलाई सुपरफुडको दर्जा दिइएको छ किनभने यो एक प्रकारको एन्टी–अक्सिडेन्ट पनि हो ।

यद्यपि, यसले संक्रमण, रोग, वा रुघाखोकीका प्रारम्भिक लक्षणहरूलाई रोक्न सक्छ भन्ने कुराको थोरै प्रमाण छ ।

शरीरले अत्यधिक भिटामिन सी भण्डारण गर्न नसक्ने भएकोले, यदि तपाईंले यसको धेरै सेवन गर्नुभयो भने, यो पिसाब मार्फत बाहिर निस्कन्छ ।

भिटामिन (सी) सामान्यतया फलफूल र तरकारीमा पाइन्छ ।

एउटा सुन्तलामा लगभग ७० मिलीग्राम भिटामिन (सी) हुन्छ, त्यसैले यसको कमी सामान्यतया हुँदैन।

कति भिटामिन चाहिन्छ ?

भिटामिन र खनिजको आवश्यकता प्रत्येक व्यक्तिको लागि फरक हुन्छ । यो तपाईंको उमेर, तपाईंको गतिविधि स्तर, लिङ्ग, र अन्य कुराहरूमा निर्भर गर्दछ ।

धेरैजसो विज्ञहरू विश्वास गर्छन् कि हामीले स्वस्थ र सन्तुलित आहारबाट सबै भिटामिन र खनिजहरू पाउँछौं, भिटामिन (डी) मात्र अपवाद हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट