नेभिगेशन

भारतको सहयोगमा भ्याक्सिन : सिकलसेल र थालसिमिया विरुद्ध अभियान सुरु

नेपाल हेल्थ न्युज, काठमाडौँ ।  थारु समुदायमा वंशाणुगत रूपमा देखिने गम्भीर रोगहरू सिकलसेल एनिमिया र थालसिमिया नियन्त्रणका लागि नेपाल सरकारले निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको पहलमा भारत सरकारद्वारा प्रदान गरिएको भ्याक्सिन अब प्रभावित क्षेत्रमा पुय्याउने काम अघि बढाइएको हो।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा भारतका राजदूत नवीन श्रीवास्तवले मन्त्री पौडेललाई भ्याक्सिन हस्तान्तरण गर्नुभयो। भारतबाट प्राप्त चार लाख डलर बराबरको भ्याक्सिन सिकलसेल र थालसिमियाबाट पीडित बिरामीहरूको प्रतिरोध क्षमता वृद्धि गर्न प्रयोग गरिनेछ।

मन्त्री पौडेलले यसअघि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपालगञ्जको भेरी अस्पतालमा यी रोगहरूको उपचारका लागि छुट्टै वार्ड स्थापना गर्ने निर्णय गरिसक्नुभएको छ। साथै, उहाँले भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्य मन्त्रीसँग छलफल गरी सहयोगको माग गर्नुभएको थियो।

भ्याक्सिन अब बाँके, बर्दिया, कैलाली र दाङजस्ता थारु समुदायको बाक्लो बसोबास भएका जिल्लाका सरकारी अस्पतालमार्फत वितरण गरिने छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस अभियानको समन्वय गरिरहेको छ।

भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिकापुर अस्पताललगायत संघीय, प्रदेश तथा स्थानीय तहका अस्पतालहरूमा पनि यो भ्याक्सिन उपलब्ध गराइने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

मन्त्री पौडेलका अनुसार, थारु समुदायमा दीर्घकालीन रूपमा असर पारिरहेको यो रोगको उपचारमा सरकार पूर्णतः प्रतिवद्ध छ। भ्याक्सिन उपलब्ध भएपछि बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास छ।

राजदूत श्रीवास्तवले यस सहयोगलाई नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने कदमका रूपमा व्याख्या गर्नुभयो। स्वास्थ्य सेवा विभागले भ्याक्सिनहरूलाई भण्डारण र वितरण गर्न बुटवलस्थित आपूर्ति व्यवस्थापन केन्द्रमा पठाउने तयारी गरिरहेको छ।

सिकलसेल र थालसिमिया दुबै रोग हालसम्म पूर्णरूपमा उपचार गर्न नसकिने रोग भए पनि, यसबाट हुने थप संक्रमणको जोखिमबाट बच्न भ्याक्सिन प्रभावकारी हुने विश्वास गरिएको छ। सरकारद्वारा चालिएको यो कदमले थारु समुदायका लागि स्वास्थ्य सुरक्षातर्फ एक सकारात्मक मोड दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट