नेभिगेशन

हिमाली जिल्लामा औलोको संक्रमण, कर्णाली प्रदेशका लागि नयाँ चुनौती

creators ivf nepal

नेपाल हेल्थ न्यूज, कर्णाली —तराई र भित्री मधेसमा सीमित देखिएको औलो रोग अब हिमाली जिल्लामा समेत देखिन थालेपछि कर्णाली प्रदेशमा नयाँ चुनौती थपिएको छ।

विश्व औलो रोग दिवसका अवसरमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हुम्ला जिल्लाको अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा दुई जनामा औलो संक्रमण पुष्टि भएको छ।

यो संक्रमण विशेषतः अदानचुलीमा एक व्यक्तिमा कुनै यात्रा इतिहास (ट्राभल हिस्ट्री) नदेखी नै भेटिएको निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले जानकारी दिनुभयो। "यो तथ्यले हामीलाई गम्भीर रूपमा सचेत गराएको छ," उहाँले भन्नुभयो।

औलो निवारण लक्ष्यमा चुनौती

कर्णाली प्रदेशले औलो रोग शून्यमा झार्ने दीर्घकालीन लक्ष्य राखेको भए पनि हिमाली क्षेत्रमा संक्रमण देखिनु ठूलो चुनौती बनेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार प्रदेशभर ३८ वटा औलो केस छन्।

प्रदेशभर सात वडा मध्यम जोखिममा छन्, जसमा सुर्खेत, मुगु र हुम्लाका वडाहरू प्रमुख छन्। विशेषगरी हुम्लाको ताजाकोट गाउँपालिकाको वडा नं २, ३ र ४ उच्च जोखिम क्षेत्रमा परेका छन्।

संक्रमणको स्वरूप

सबैभन्दा बढी संक्रमण सुर्खेत जिल्लामा देखिएको छ। पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर, चौकुने, गुर्भाकोट, बराहताल, सिम्ता र लेकबेँसी गरी सात पालिकामा २५ जना संक्रमित भएका छन्। यीमध्ये सबै बिरामीहरू बाहिरबाट आएका अर्थात आयातित केस हुन्।

कालीकोट र दैलेखमा पनि केही संक्रमित भेटिएका छन्। आचार्यका अनुसार भारतसँगको खुला सीमाका कारण आयातित औलो रोक्न कठिन भइरहेको छ।

रोकथामका उपाय

स्वास्थ्य सेवा निर्देशनालयले औलो नियन्त्रणका लागि निगरानी र सूचना प्रणाली सुदृढीकरण, जोखिम क्षेत्रका लागि भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन, र औलो सर्ने दर घटाउने रणनीति अघि सारेको जनाएको छ।

आचार्यले भन्नुभयो, "हामीले औलो रोग न्यूनीकरणका लागि भरपूर प्रयास गरिरहेका छौं, तर संक्रमण हिमाली क्षेत्रमा समेत देखिनु निकै गम्भीर चिन्ताको विषय बनेको छ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट