नेपाल हेल्थ न्युज, नेपालगञ्ज । बाँकेको खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा दुई महिनादेखि कार्यकारी प्रमुखको अभावले दैनिक सेवा र प्रशासनिक कामकाज प्रभावित भएका छन्।
यसअघि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. प्रकाशप्रसाद साहको सरुवा राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएपछि अस्पताल नेतृत्वविहीन बनेको हो। त्यसपछि हाल कार्यरत डा. प्रवीण गुप्तालाई निमित्त निर्देशक तोकिए पनि आर्थिक अधिकार नदिई काम चलाउँदा व्यवस्थापनमा कठिनाइ आएको अस्पताल स्रोतले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नयाँ निर्देशक नआउँदा प्रशासनिक निर्णयमा ढिलासुस्ती भएको र आर्थिक पक्षमा समेत समस्या देखिएको अस्पताल विकास समितिका सदस्य महेन्द्र मल्लले जानकारी दिनुभयो। उहाँका अनुसार तलब वितरण ठप्प हुनुका साथै औषधी, केमिकल र रिएजेन्टको अभावले सेवा दिन गाह्रो भइरहेको छ।
प्रयोगशाला सेवामा समस्या देखिन थालेपछि बिरामीहरूलाई परीक्षणका लागि अन्यत्र जानु पर्ने बाध्यता सिर्जना भएको छ। यसले आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरू थप संकटमा पर्ने स्थिति बनेको छ।
त्यसैगरी अस्पतालका डे केयर भवन, ल्याब भवन र फार्मेसी निर्माणका कार्यसमेत ढिलाइमा परेका छन्। समितिका अनुसार मन्त्रालयलाई पटक–पटक जानकारी गराउँदा पनि कार्यकारी निर्देशकको नियुक्तिमा ढिलाइ भइरहेको छ। मन्त्री प्रदीप पौडेलले चाँडै समाधान गर्ने आश्वासन दिएको भए पनि हालसम्म नयाँ प्रमुख नआएको गुनासो गरिएको छ।
खजुरास्थित यो अस्पताल पश्चिम नेपालकै एक मात्र क्यान्सर उपचार केन्द्र भएकाले दैनिक बिरामीको चाप बढ्दो छ। नेतृत्वको अभावले अस्पतालको सेवा प्रणाली नै धरापमा पर्ने खतरा देखिन थालेको छ।

उदयपुर अस्पतालमा डाक्टरमाथि दुर्व्यवहार, युवक पक्राउ
बुधबार, वैशाख २४, २०८२
दमौली अस्पतालमा सर्जिकल डेलिभरी बन्द, २ महिनादेखि सेवा ठप्प
बुधबार, वैशाख २४, २०८२
स्वास्थ्य बीमा नविकरण अब मोबाइलमै सम्भव
बुधबार, वैशाख २४, २०८२
बैतडीको पपितामा १० शैया अस्पतालको निर्माण तीब्रः ७० प्रतिशत काम सकियो
बुधबार, वैशाख २४, २०८२