Logo
|
Monday 25th November 2024
Logo

epaper

मृत्युलाई नजिकबाट देखेकी बसुधा नेपालको क्यान्सर कथा



basudha nepali (1)
लामो जीवन चाहिएन, स्वस्थ जीवन चाहियो- बसुधा नेपाल

‘जिन्दगीले जस्तो भए नि बाँच्न सिकाउँदो रहेछ,

आँशु धेरै बगाएर हाँस्न सिकाउँदो रहेछ’

बसुधा नेपालले केही महिनाअघि अनलाइनखबरमा यहि पंक्तिबाट आफ्नो दिल्ली डायरी बन्द गर्नुभएको थियो । क्यान्सरसँग संघर्ष गरिरहँदा अस्पतालको बेडबाट बसुधा नेपालले लेख्नुभएको दिल्ली डायरीले उहाँका धेरै शुभचिन्तक, इष्टमित्रहरुलाई भावविव्हल बनाइदियो । उहाँलाई नचिन्नेहरुले माधव नेपालकी बहिनीका रुपमा उहाँको कथा पढेर दुई थोपा आँशु झारे । वास्तवमा मृत्युको भय कस्तो हुन्छ ? मृत्यु जितेर फर्किनेहरुलाई मात्र थाहा हुन्छ भन्ने उदाहरण बसुधाले दिन खोज्नुभएको हो ।

पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालकी कान्छी बहिनी बसुधाले एउटा मृत्युलाई निकै कठिन युद्धमा पराजित गर्नुभयो । त्यसैले त उहाँलाई अहिले लाग्छ, एक टुक्रा जीवन त अरुकै हत्केलामा पो हुँदो रहेछ । हामी बेकारमा मेरो जिन्दगी भनेर अनावश्यक दम्भ र घमण्ड गर्दा रहेछौं । त्यसैले त बसुधा भन्नुहुन्छ–‘जिन्दगी यस्तै हो, दुःख सुख, उतार चढाव भइरहन्छ, त्यैसैले त यसको नाम गतिशील जीवन हो । जिन्दगी लामो बाँच्ने इच्छा पटक्कै होइन मेरो । मैले त्यो कामना पनि गरेकी होइन । तर स्वस्थ भएर बाँच्ने इच्छा पक्कै हो ।’ एकटुक्र जीवनको बारेमा बसुधाको अनुभव पढौं उहाँकै शव्दमा ।

आँशुका धारा जब ओइरिए
सन् २०१४ जुलाई २ को त्यो रात रमाइलोसँग चलिरहेको थियो । सानो परिवारको हाम्रो प्यारो जिन्दगी, सरल तरिकाले चलिरहेको थियो । मेरो स्तनमा सानो गाँठोको अनुभव भएको थियो । त्यो पनि मैले होइन, मेरो श्रीमानले हत्केलाले छाम्दा थाहा पाउनुभएछ । त्यसपछि डरले म काँप्न थालेँ । यद्यपी क्यान्सरनै भइसकेको होला भन्ने सोचेको थिइन । शंकै शंकाबीच डाक्टरकोमा चेक गराउँदा थाहा भयो, क्यान्सर लागिसकेको रहेछ । त्यतिबेलासम्म मेरा आँखाबाट बलिन्द्र धारा बग्न थालिसकेका थिए । आँसु थामिनै सकिरहेको थिएन ।
असारको पहिलो साता नेकपा एमालेको नवौं महाधिवेशन चलिरहेको थियो । महाधिवेशन उद्घाटन समारोहमा म पनि गएकी थिएँ । बेलुका फर्किदा अस्पतालको रिपोर्ट अइसकेको थियो । रिपोर्ट थाहा पाउने बित्तिकै त मेरा अगाडि अब सारा संसार शुन्यमा पुग्यो । मेरो दिमागले एउटा कुरा मात्र सोच्न थाल्यो, या त पशुपति आर्यघाट, या त यो शरीर अब कुनै अस्पताललाई दान दिन्छु, ताकि मेरो निधन पश्चात् परिवारका सदस्यहरुलाई दुःख नहोस् ।

मेरो छोरालाई कसले माया गर्ला ?
अर्को मनले सोच्यो, मैले यसो गरें भने कतै मेरो परिवारको मन पो दुख्ने हो कि ? केवल । अनि केवल, बलिन्द्रधारा आँसुसँगै धेरै कुरा खेलिरहेका थिए । अब म कति नै बाँच्छु ? एक हप्ता, एक महिना, छ महिना वा बढीमा एक वर्ष ? म नहुँदा मेरो यति सानो अनि प्यारो परिवारमा के होला ? मलाई यति माया गर्ने श्रीमान कैलाशलाई कसले माया गर्ला ? मेरो एकमात्र छोरा अंकितकी मामु नहुँदा कसले माया गर्ला ? मैले त जिन्दगीमा केही गर्न नै पाएकी छैन, छोरो पढ्दै छ । भयावह दृश्यहरु मेरा आँखामा अविरल धारा बनेर बगिरहे ।

मैले जिन्दगीमा औडाहा भन्ने शब्दको अर्थ पहिलोपटक अनुभूत गरिरहेकी थिएँ । बेडरुम, बैठक, छत, कुर्सी, सोफा, एक सेकेन्ड पनि कतै बस्न सकिरहेकी थिइँन । जता गए पनि रुवाइ रोकिनै मानिरहेको थिएन । श्रीमानको अनुहार हेर्यो, झन डाँको छोडेर रुन मात्र आइरहेको थियो । मलाई नरोउ भनेर सम्झाउने कोशिस गर्दै गर्दा उनका आफ्नै आँसु जति लुक्न खोजे पनि सकिरहेको थिएन । अफ्नो मृत्युलाई एकदम नजिकबाट भित्रभित्रै अनुभूत गरिरहेकी थिएँ । श्रीमानले ठूली भाउजू गायत्री नेपाललाई बोलाउनुभएछ ।
भाउजू आत्तिदै बानेश्वर आइपुग्नुभयो । मेरो भक्कानो झन् बढ्यो । रोकिएन मेरो आवाज । एक्कैचोटि भन्न पुगें– ‘म भोलि नै न्युरोड गएर अंकितको विवाहका लागि सबै गहना–कपडा किनेर राखिदिन्छु । म मरेपछि मेरो छोराका लागि कसले माया गरिदिन्छ र ?’

क्यान्सरसँग लड्ने निर्णय
नरुने जति प्रयास गरे पनि आँशु पटक्कै रोकिन सकिरहेको थिएन । त्यसपछि आफ्नो बेडरुममा पसें । शायद श्रीमान र छोराको मायाले होला, अचानक एकैचोटि मलाई शक्ति आयो । म जे–जसरी पनि यो क्यान्सरसँग लडेर विजय हाँसिल गर्छु र पुनः नयाँ जिन्दगी बाँच्छु भन्ने अठोट आयो ।
मैलै त्यसै दिनदेखि क्यान्सरसँग आफ्नो दुश्मनी शुरु गरेँ । एमालेको महाधिवेशन चलि नै रहेको थियो । ठुल्दाजु माधवकुमार नेपाल अत्यन्त व्यस्त हुनुहुन्थ्यो । तर, पनि मेरो खबर सुन्नेबित्तकै रातको १०ः३० बजे उहाँ बानेश्वर आइपुग्नुभयो । रुँदा रुँदा सुन्निएका मेरा आँखा देख्ने बित्तिकै उहाँले उदाहरण दिएर सम्झाउन थाल्नुभयो । करीब आधा–एक घण्टा ठुल्दाजुले मलाई जिन्दगीका धेरै उदाहरणहरु दिएर सम्झाउनुभयो । म केवल सुनिरहेकी थिएँ मलीन मुद्रामा । कुराकानीकै दौरान कैलाशजी धेरै अप्सनमध्येको राजीव गान्धी क्यान्सर अस्पताल, दिल्ली जाने करीब–करीब निर्णयमा पुग्नुभयो ।

हिम्मत हारेकी मान्छे
मलाई क्यान्सर भएको कुरा परिवारमा बिस्तारै जानकारी भएपछि रुवाबासी चलन थाल्यो । मैले गाडी ड्राइभ गरेर अस्पताल जाने हिम्मत पनि गुमाइसकेकी थिएँ । भाउजुको गाडीमा अफिस गएँ तर काम गर्न मन भएन । अफिसको बिदा मिलाउनुपर्ने थियो । सीइओ आर.आर. बज्राचार्य र डीसीओ सरलाई भेटेर जान्छु भनेर म कमलादी ब्राञ्च गएँ । सीइओ सरलाई आफूलाई परेको सबै सुनाएँ । बिदा अलि लामो नै चाहिएला भनेर रिक्वेस्ट गरें । उहाँले पनि सहृदयता देखाएर मलाई, ल ? बसुधाजी नआत्तिएर जानुस्, सबै ठीक हुन्छ, भनी ढाडस दिनुभयो ।

जब उपचार शुरु भयो
दिल्ली जाने सुटकेसमा लुगा राख्ने जाँगर पनि थिएन । उता छोराको एमबीबीएसको फाइनल परीÔा एकदम नजिक भएकाले करीब दुई महिनासम्म उसलाई केही नभन्ने निर्णय हामीले गरेका थियौं । त्यतिखेरसम्म मैले आफ्नो फेसबुकको स्टाटस लेख्ने ठाउ“ पनि ब्लक गरिसकेकी थिए“ । आफ्ना नातागोता सबैलाई फेसबुक, भाइबर कतैबाट पनि मेरो विमारका बारेमा अंकितलाई उसको परीÔा नसकिएसम्म नसुनाउनु भनेर रोक लगाएकी थिएँ । दिल्लीमा अस्पताल छिर्ने बित्तिकै आधि सात्तोपुत्लो त उडिसकेको हुन्थ्यो मेरो ।
सेन्ट्रल कलेक्सनमा बायोप्सीको रिपोर्ट लिन कैलाशजीको छेउमा उभिएकी थिएँ, त्यहाँकी महिलाले वसुधा आपका नाम है ? भनेर हामीतिर आँखा फिराउँदा मेरो मुटु झन फुलेर आयो । शायद रिपोर्ट नराम्रो आयो क्यार भन्ने सोचेर हातखुट्टा डरले पूरै चिसाम्मे भए । रिपोर्ट लिएर हामी डा. कपिल कुमारकहा“ गयौं । डाक्टरले रिपोर्ट हेरे । क्यान्सर है, फैला हुवा नहीं है । त्यति भनेपछि त शंका अब पूर्ण यथार्थमा बदलियो । मैले हिम्मत जुटाउ“दै भनें–‘अपरेसन के बाद क्योर हो जाएगा न डाक्टर ? उनले ? यस ? को मुन्टो मात्रै हल्लाए ।’

माया र सपोर्ट चाहिन्छ
मेरो उपचार शुरु भयो र अहिले पनि भइरहेको छ । मेडिकल साइन्स र भगवान नै यो संसारमा धन्यवादका पात्र थिए, जसले मेरो जीवन बचाए । जिन्दगी रह्यो भने मात्र यति सुन्दर संसार देख्न पाइदो रहेछ । क्यान्सर यस्तो रोग हो, जसमा परिवारको धेरै माया र सपोर्ट चाहिन्छ । जसले बिरामीको विल–पावर बलियो बनाइराख्न धेरै मद्दत गर्दछ । र काउन्सिलिङको त झन अति नै ठूलो भूमिका रहन्छ ।

जीवन अस्थायी चीज हो
करिब आठ नौ महिनाको अवधीमा जीवन र मृत्यु दुवैलाई नजिकबाट लडिरहेको मैले देखेँ । मृत्युलाई नजिकबाट महशुस गरेँ । मेरा लागि माया र मानवीयता सबैभन्दा ठूलो कुरा हो, जुन मैले सँधैं पाइरहनेछु, जसले मलाई मेरो रोगसँग लड्ने  म भित्र दह्रो बनाइ राख्नेछ । मलाई लाग्छ यस्तो रोगसँग लडिरहेकाहरुलाई सबैले माया, स्नेह, ढाडस दिइरहनुपर्छ । जीवन त आखिर अस्थायी चीज हो, यसलाई स्वस्थ बनाएर उपयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्