Logo
|
Friday 19th April 2024
Logo

epaper

उपत्यकाबाहिर पनि फैलँदैछ कोख बेच्ने सञ्जाल



काठमाडौं । नेपालमा कानुनी मान्यता पाइनसकेको सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) उपत्यका बाहिर पनि विस्तार भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले हाल सरोगेसी सेवा दिइरहेका राजधानीका चार अस्पतालका व्यवस्थापक एवं सरोगेट आमासँग कुराकानी गर्दा नेपालगन्ज, वीरगन्ज र विराटनगरमा पनि सरोगेसी सेन्टर खुलिसकेको तथ्य फेला परेको हो।
Baby

‘विस्तृत प्रतिवेदन तयार नपार्दासम्म कुन–कुन अस्पतालअन्तर्गत भनेर खुलाउन मिल्दैन,’ छानबिन समितिका एक सदस्यले भने, ‘सार्वजनिक भएका तथ्यहरूभन्दा धेरै ठूलो सञ्जाल बनाएर अस्पतालहरूले सेवा दिइरहेको पाइयो।’

समितिका ती सदस्यले उपत्यकामा सेवा दिइरहेका अस्पतालले ती ठाउँमा सरोगेट आमा खोज्नकै लागि शाखा खोलेको हुन सक्ने बताएको नागरिकमा खबर छ।

‘भाडामा कोख दिन खोज्नेहरूको पहिचान गर्न र नाकाबाट बाहिर लान पनि सजिलो होस् भनेर सीमा क्षेत्रमा पनि सेन्टर खोलेको देखिन्छ,’ उनले भने।

सरोगेसीसम्बन्धी कानुन नै नबनेको अवस्थामा नेपालमा कानुनी मान्यता पाएको प्रचारप्रसार गर्दै ठूलो संख्यामा विदेशी र नेपाली महिलाको कोख भाडामा लिएर बच्चा जन्माइरहेको खबर सार्वजनिक भएपछि मन्त्रालयले छानबिन समिति बनाएको थियो।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले छानबिन समितिको प्रतिवेदन नआएसम्म केही जानकारी दिन नमिल्ने बताए। स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख महेन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको समितिमा मन्त्रालयकै कानुन शाखा प्रमुख खुमानन्द भुसाल र प्रसूति गृहका विशेषज्ञ डा. गेहनाथ बराल सदस्य छन्।

 

प्रतिक्रिया दिनुहोस्