Logo
|
Thursday 18th April 2024
Logo

epaper

बाँकेको खजुरामा ‘सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल’



जनस्वास्थ्य सरोकार, १७ फागुन । पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको नाममा बाँकेको खजुरामा ‘सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल’ बन्ने भएको छ । यस अस्पतालले क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेको र प्रखर परोपकार मिसन नामक संस्थाको झण्डै २३ हजार वर्गकिलोमिटर जग्गा, भवन लगायतका सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा ल्याई नयाँ क्यान्सर अस्पताल बनाइने निर्णय गरेको हो ।
बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रखर परोपकार मिशन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा सञ्चालित प्रस्तावित नेपाल क्यान्सर अस्पताल खजुरा, बाँकेलाई कानुनी दायरमा ल्याई त्यसको नाम ‘सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल’ बनाइने भएको हो ।
स्वर्गीय कोइरालाले बाँकेलाई राजनीतिक कार्यक्षेत्र बनाउनु भएको र क्याक्सरकै कारण उहाँको निधन भएकाले उहाँको सम्झनामा अस्पताल नामाकरण गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी गराउनुभयो ।
परोपकार मिसनको अस्पतालका लागि सरकारले यसअघि १० करोड रुपियाँ छुट्याएकाले सरकारकै लगानीमा बनाउन लागिएको अस्पताललाई गैरसरकारी संस्थाको अस्पताल भन्दा सरकारी अस्पतालकै रुपमा सञ्चालन गर्न उपयुक्त देखिएकाले सरकारी स्वामित्वमा ल्याइएको जनाइएको छ ।
क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको लागि सरकारी अस्पताल आवश्यक भइरहेका बेला गैरसरकारी संस्थाले गरिरहेको प्रयासलाई सरकारी स्वामित्वमा ल्याई व्यवस्थित र मर्यादित बनाउन लागिएको मन्त्री थापाले बताउनुभयो ।
यद्यपी अस्पताल पूर्ण सरकारी हुने भएकाले स्नातक उपाधि हासिल गरेका स्थानीय प्रतिष्ठित व्यक्तिहरुमध्येबाट स्वास्थ्य मन्त्रालयले अस्पतालको अध्यक्ष मनोनित गर्ने छ ।
सञ्चालक समितिको सदस्यको रुपमा क्यान्सर रोगको क्षेत्रमा कार्यरत चिकित्सकहरुमध्येबाट स्वास्थ्य मन्त्रालयबाट मनोनित एक जना, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका प्रमुख, उधोग बाणिज्य संघको प्रतिनिधि, अस्पताल रहेको क्षेत्रको सम्बन्धित स्थानीय निकायको प्रमुख वा निजेले तोकेको प्रतिनिधि, स्थानीय समाजसेवीमध्ये कम्तीमा स्नातक तह उत्तीर्ण गरेका एकजना महिलन सहित तीनजना मन्त्रालयले मनोनयन गरेका व्यक्ति रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्