Logo
|
Thursday 28th March 2024
Logo

epaper

कान्तिमा बाल मनोरोगको छुट्टै भवन



जनस्वास्थ्य सरोकार, जेठ २० गते । कान्ति बाल अस्पतालले बाल मनोरोगको छुट्टै भवन बनाएर बाल मनोरोग विभाग स्थापना गर्ने भएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले उक्त भवनको आज सिलान्यास गर्नुभयो । कान्ति बाल अस्पतालले अनौपचारिक सेवा केन्द्र (सिविन)सँग सहकार्य गरेर उक्त बाल मनोरोग भवन बनाउन लागेको हो । कान्ति बाल अस्पताल परिसरमा बन्ने उक्त भवन दुई वर्षमा पुरा गरी बाल मनोरोग सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
कान्ति अस्पतालका निर्देशक डा. अजित रायमाझीले सिविनसँग भएको सम्झौता अनुसार भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । २०७३ माघ ७ गते स्वास्थ्य मन्त्रालय, कान्ति बाल अस्पताल र सिविनबीच भएको सम्झौता अनुसार बाल मनोरोग विभागको लागि दुईतला सिविनले निर्माण गर्ने, बाँकी दुइ तला कान्ति अस्पतालले निर्माण गरी सञ्चालनमा ल्याउने जनाइएको छ । यस्तै सुरुको तीनवर्ष सम्म उक्त बालमनोरोग विभाग सिविनले सञ्चाल गर्ने र त्यसपछि कान्तिबाल अस्पताललाई हस्तान्तरण गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
भवनको शिलान्यास गर्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले मनोरोग लुकाएर राख्ने रोग भएकाले जटिल बन्दै गएको बताउनुभयो । मन्त्री थापाले मानसिक स्वास्थ्यको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले कान्तीमा निर्माण हुन लागेको बाल मनोरोग विभागमा नेपालका धेरै बालबालिकाहरुलाई फाइदा पुग्ने बताउनुभयो । बच्चामा मनोरोग जटिल भएको भन्दै कान्तिमा स्थापना हुने विभागले बाल बालिकाकामा हुने मनोरोगमा कोषेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका बालमनोरोग बिशेषज्ञ डा. अरुण कुँवरले १५ प्रतिशत बालबालिकामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखापर्ने बताउनुभयो ।
भुकम्पपश्चात् धेरै बालबालिकाहरुमा मानसिक समस्या देखिएको भन्दै उहाँले भुकम्पपश्चात् देखिएको मानसिक समस्या सावधानका लागि विभिन्न संघसस्थाहरुसंग मिलेर काम गरेको बताउनुभयो ।
सिविनकी महासचिव सुम्नीमा तुलधारले ग्रामीण क्षेत्रमा सामान्य स्वास्थ्य समस्याको समाधान हुन पनि कठिन रहेको बताउनुभयो । उहाँले बाल मानसिक रोगको अवस्था अझ भयावह रुपमा बढ्दै गएको बताउनुभयो ।
कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यले बालबालिकाको सहज उपचारका लागि कान्तिलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्