Logo
|
Tuesday 16th April 2024
Logo

epaper

नर्भिकले गर्ने भो जटिल मस्तिष्क रोगी बालकको निःशुल्क उपचार



काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टनेशनल हस्पिटलले तीन वर्षदेखि मस्तिष्कसम्बन्धी जटिल रोगबाट पीडित पश्चिम नेपालका एक चार वर्षीय बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

रोल्पा बुढागाउँ स्थायी घर भई दाङ बस्दै आउनुभएकी राजिता थापाका कान्छा छोरा गौतम थापा ‘होलो प्रोजेनसेफाली’ नामक रोगबाट पीडित भएपछि उपचारका लागि तीन वर्षदेखि काठमाडौँको सडक पेटीमा पैसा मागेर बसिन् । उपचार खर्चको जोहो गर्नमा थिइन् तर सफल भएकी थिइनन् ।
एक वर्षअघि नयाँ सडक निवासी क्षितिजा शाक्यले भेटेपछि राजिताको छोराका लागि उपचारको बाटो खुलेको हो । बाटोमा छोरालाई राखेर पैसा मागिरहेकी राजितालाई देखेपछि उपचार पनि गर्नुपर्छ भन्ने लागेर नर्भिक ल्याएको उनले बताइन् ।

शाक्यको पहलमा नर्भिकले गौतमको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । सो रोगले शिशुको टाउको र अनुहारको विकासमा बाधा पु¥याउनुका साथै मस्तिष्क आंशिक रूपमा विभाजित भई अन्य कोषको विकासमा समेत बाधा गरिरहेको हुन्छ ।

अस्पताल लगिएका गौतमको अवस्था जाँच गरेपछि न्युरो फिजिसियन पङ्कज जलानले उनलाई होलो प्रोजेनसेफाली नामक जटिल मस्तिष्क रोगमध्येको ‘एलोबार होलो प्रोजेनसेफाली’ भएको पुष्टि गरेका थिए । गौतमको उपचार अस्पतालबाट सम्भव भएको सम्पूर्ण उपचार निःशुल्क गर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

चिकित्सकका अनुसार सामान्यतः मुखको कुनै पनि खराबी मस्तिष्क जटिलताको खराबीको आधारमा हुन्छ । अस्पतालका अनुसार ‘एलोबार होलो प्रोजेनसेफाली’ भएका शिशु मरेकै अवस्थामा जन्मने वा जन्मिएको थोरै समयमै मृत्यु हुनसक्छ । समस्याबाट कम प्रभावित शिशुको भने आयु शारीरिक अवस्थामा भर पर्ने हुन्छ । ‘होलो प्रोजेनसेफाली’ हुनुको मुख्य कारण मस्तिष्कमा हुनुपर्ने छुट्टाछुट्टै प्रकोस्टहरू (दाहिने मस्तिष्क र देब्रे मस्तिष्क) मा विभाजित नभएर केबल एउटामात्र मस्तिष्क हुनु मुख्य कारण हो । अस्पतालका अनुसार गौतम भने जन्मजातै असामान्य अवस्थाका छन् । उनको टाउको अत्यधिक ठूलो भएर समस्या भएको छ ।

अस्पतालले निःशुल्क उपचार गर्ने भएपछि राजिताले त्यहाँसम्म आउन सहयोग गर्ने क्षितिजा र अस्पताल प्रशासनलाई धन्यवाद दिनुभयो । गौतमबाहेक अन्य तीन छोराछोरीसँगै हाल बोहराटार, काठमाडौँमा बस्दै आएकी राजिताले बिरामीको उपचारमा सहयोग नगरी श्रीमान्ले दोस्रो विवाह गरी गाउँमै बसेकाले मागेर भए पनि छोराको उपचारका लागि काठमाडौँ आएको बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्